
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा र राप्रपा सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि आरोप लगाउँदै बहिष्कार गरे।
- सांसदहरूले मानव तस्करी र राजनीतिक संरक्षणको आशंका व्यक्त गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरे।
- सांसदहरूले गृहमन्त्रीलाई नैतिकता र जवाफदेहिता पूरा गर्न राजीनामा दिन सुझाव दिए।
१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधि सभामा विरोध कायम राखेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको अरोप लगाएर दुवै दलले बैठक बहिष्कार गरे । सभाकक्षबाट बाहिरिनु अगाडि दुवै दलका सांसदले गृहमन्त्रीलाई प्रश्न माथि प्रश्न गरेका छन् ।
भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको गहन अनुसन्धान गर्न बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति वा आयोग बनाउनुपर्ने उनीहरूको माग छ । यो मागमा सरकार गम्भीर नहुनुमा गृहमन्त्री समेत जिम्मेवार रहेको उनीहरूको आरोप छ ।
सभामुखले समय दिएपछि बोल्दै रास्वपाका सांसद गणेश पराजुलीले मुख्यत: पाँच/पाँच वटा प्रश्न गरे ।
पहिलो : नक्कली भुटानी शरणार्थी बनाएर आफ्नै देशका नागरिकलाई बेच्ने जस्तो घिनलाग्दो राष्ट्रघाती अपराधपछि भिजिट भिसाको आवरणमा जनतालाई विदेश पठाउने काम भइराखेको छ । यसमा गृहमन्त्री मौन नै बसिरहने हो ?
दोस्रो : गत जेठ ७ गते अख्तियारले आफ्नो निकै लामो अण्डरकभर अपरेशनपछि कारबाही प्रक्रिया अगाडि बढाउँदा अध्यागमन प्रमुखलाई बचाउने प्रकरणमा र अनुसन्धान अगाडि डिआजीको सरुवा अगाडि बढाउने प्रकरणमा तपाईंले देखाएको व्यवहार शंकाको घेराभित्र आउँदैन ?
तेस्रो : तपाईंकै सचिवलायकै सदस्यहरू यो अपराधमा जोडिएको तथ्य बाहिरिँदै गर्दा यो अपराध कर्ममा राजनीतिक संरक्षण छ भन्न सकिँदैन ?
चौथो : मानव तस्करीको पाटोमा अनुसन्धान गर्न नै नपाउने गरी ९ बुँदे कार्यदेश बनाएर बाँदरको पुच्छर लौरो न हतियार जस्तो आफ्नै कर्मचारी राखेर छानबिन समिति किन बनाएको ?
पाचौं : सरकारले गठन गरेको छानबिन समिति सबै मानव तस्करीको जालो बचाउन र आफूलाई अनुसन्धानको घेराबाट फुत्काउन गरिएको हो गृहमन्त्रीज्यू ?
गत सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति बनाएको छ । गृहमन्त्री रमेश लेखकका अनुसार छानबिन समितिमा सम्बन्धित ६ वटा मन्त्रालयहरूका सहसचिवहरू सदस्यका रुपमा छन् ।
यसलाई रास्वपाले स्वीकारेको छैन । भिजिट भिसा प्रकरणमा जोडिएका राजनीतिक दलका नेता, निकाय र शक्ति केन्द्र सम्हालेकाहरूको जालो भत्काउन र त्यस्तो कुकर्ममा जोडिएकालाई कानुनी कठघरामा ल्याउन उच्चस्तरीय न्यायीक आयोग वा छानबिन समिति बन्नुपर्ने उसको माग छ ।
आगामी दिनमा कुनै पनि नेपाली नागरिक श्रम र अवसरको खोजीमा बाध्यताले विदेशिँदै गर्दा आफ्नै देशको अध्यागमनमा मानव तस्करीको चंगुलबाट फस्नेबाट बचाउन, गहिरो अनुसन्धान गरी कारबाहीको लागि सुझाव तयार पार्न आफूहरूले यस्तो संयन्न खोजेको उनले बताए ।
‘बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका हौं,’ सांसद पराजुलीले भने, ‘तर सरकार आफू र आफ्नालाई बचाउन मात्रै लागि परेको छ ।’
उस्तै गरी राप्रपाले पनि गृहमन्त्रीमाथि प्रश्न उठाएको छ । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाकी सांसद रोशन कार्कीले पनि गृहमन्त्रीमाथि मुख्यत: पाँच प्रश्न उठाइन् ।
पहिलो : मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदैछ ? गृहमन्त्रीज्यू, तपाईंसँग यसको जवाफ छ ?
दोस्रो : बीपीले भन्नुभएको थियो जो कार्यकर्ताहरू नेताको ज्यादती सहेर बस्छन् कि त ति चरम अवसरवादी हुन कि त दास हुन् । म सोध्न चाहन्छु, तपाईं कुन वर्गमा पर्नुहुन्छ ?
तेस्रो : मैले त गृहमन्त्रीज्यूलाई अलिकति सोझोसाझो भन्ठानेको थिएँ । उहाँ त चम्फो बाठो हुनुहुँदो रहेछ । उहाँले यस्तो समिति बनाउनुभयो कि–त्यो समितिबाट उहाँलाई धेरै सजिलो भयोे र कमाइलाई बचाउन पनि धेरै सजिलो भयो ।
चौथो : गृहमन्त्रीजी धेरै फूर्ती नदेखाउनुस् । एकदिन यस्तो समय आउनेछ, तपाईं पनि त्यो पल्लो छेउ (सत्तापक्ष)बाट वल्लो छेउ (प्रतिपक्ष) आउनुहुन्छ । त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ?
पाचौं : तपाईंले भिजिट भिसाको नाममा विदेशजानेसँग दैनिक जुन असुली गर्नुभएको छ, ५० लाख देखि एक करोडसम्म लिएर नेपाली जनताहरूलाई बेच्नुभएको छ । नेपाली जनताहरू जसको रेमिट्यान्समा हामी गर्व गर्छौं, अर्थमन्त्रीज्यु गर्व गर्नुहुन्छ हामीलाई यति रेमिट्यान्स आयो भनेर । तिनिहरूलाई भिजिट भिसाको नाममा यसरी मानव तस्करी गरेर बेच्न पाइन्छ ?
भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन गर्ने जस्तो कार्य गर्न गृहमन्त्रीलाई नैतिकताले नदिने उनको सुझाव छ । नैतिकता बाँबकी छ भने राजीनामा दिन उनको सुझाव छ ।
भागेर र छलेर धेरै समय बच्न नसकिने ख्याल गर्न पनि राप्रपा सांसद कार्कीको राय छ । तपाईंले जुन छानबिन समिति बनाउनुभएको छ दुधको साक्षी बिरालो जस्तो गरेर आफूलाई उम्काउने गरी । यसमा तपाईंलाई बधाइ होस्’ उनले भनिन्, ‘तर तपाईं धेरै दिन उम्केर बस्न सक्नुहुन्न । एक दिन न एक दिन जनताको कठघरामा आउनुहुन्छ ।’
प्रतिक्रिया 4