
१४ असार, काठमाडौं । ब्राजिलकी फर्स्ट लेडी रोसाङ्जेला डी सिल्भा (जान्जा) अहिले आफ्ना आक्रामक अभिव्यक्तिका कारण चर्चामा छिन्। पछिल्ला केही महिनादेखि उनले टेक कम्पनीहरूविरुद्ध खुलेर बोलिरहेकी छन्।
उनले टिकटक, गुगल र एक्स जस्ता कम्पनीहरूले दक्षिणपन्थी एजेन्डालाई बढावा दिइरहेका आरोप लगाएकी छन् ।
जान्जाले यी प्लेटफर्महरूले वामपन्थी र लिबरल आवाजहरू दबाइरहेका पनि आरोप लगाएकी छन् ।
गत महिना बेइजिङमा आयोजित एक औपचारिक डिनरका क्रममा जान्जाले चीनका राष्ट्रपति सी जिनपिङसमक्ष सीधै टिकटकको एल्गोरिदम दक्षिणपन्थी विचारधारालाई प्रवर्द्धन गर्ने प्रकृतिको रहेको बताइन् ।
जान्जा आफू राष्ट्रपति पत्नी भएर चुपचाप बस्ने मान्छे नभएको बताउने गर्छिन् । ‘म जहाँ र जब चाहन्छु बोल्न सक्छु। मलाई कुनै प्रोटोकलले रोक्न सक्दैन। म फर्स्ट लेडी अवश्य हुँ, तर म एक सचेत नागरिक पनि हुँ,’ उनी भन्छिन् ।
उनको यही स्पष्ट अभिव्यक्तिले राष्ट्रपति लुला डा सिल्भालाई राजनीतिक रूपमा अप्ठ्यारोमा पारेको देखिन्छ।
आफ्नो लोकप्रियता गुमाइरहेको सन्दर्भमा जान्जाको अभिव्यक्तिले उनी थप अप्ठ्यारोमा परेको विश्लेषण हुन थालेको छ । हालैको डेटाफोल्हा सर्वेक्षण अनुसार ३६ प्रतिशत नागरिकले जान्जाका गतिविधिले सरकारलाई हानि पुर्याइरहेको मत राखेका छन् ।
केही समयअघि जान्जाले टेक अरबपति तथा एक्सका मालिक एलन मस्कमाथि पनि निशाना सोझ्याएकी थिइन्।
उनले मस्कलाई ‘कायर र तानाशाहहरूको साथी’ सँग तुलना गरेकी थिइन् । यसलाई ब्राजिलको परम्परागत राजनीतिक संस्कृतिमा असामान्य मानिएको थियो ।
प्रतिक्रिया 4