
News Summary
Generated by OK AI. Editorially reviewed.- मेयर धनराज आचार्यले असार १० गते इभेन्ट सेन्टरमा अनौपचारिक छलफल आयोजना गरे, जसमा कांग्रेस र एमालेका प्रतिनिधिहरू सहभागी भए।
- कांग्रेसका जनप्रतिनिधिले कार्यक्रमलाई नगरसभा बैठकको बहिष्कार भन्दै विरोध गरे, भने मेयरले अनौपचारिक छलफल भएको बताए।
- बजेट छलफल र वडाका सिलिङ सम्बन्धी निर्णयहरू असार १६ गतेको नगर सभामा छलफल हुने तय भएको छ।
१४ असार, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले इभेन्ट सेन्टरमा राखेको अन्तर्क्रियात्मक कार्यक्रम विवादित बन्न पुगेको छ । असार १० गते बजेट पेश गरेर चीनको ल्हासा पुगेर फर्किएका मेयर आचार्यले इभेन्ट सेन्टरमा अन्तर्क्रियात्मक कार्यक्रम बोलाएपछि विवादित बन्न पुगेको हो ।
मेयरले बिनासमन्वय बोलाएको भन्दै अधिकांश कांग्रेसका जनप्रतिनिधि बैठकमै गएनन् । महानगरकै प्रवक्तासमेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतिप्रसाद तिमिल्सिना बैठकमा गए पनि कांग्रेसका अन्य जनप्रतिनिधि नगएका हुन् । एमालेका अधिकांश जनप्रतिनिधि भने बैठकमा गएका छन् ।
‘श्री नगर सभा सदस्यज्यूहरू, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सभासदहरूबीच अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरिएको हुनाले शनिबार दिनको २:३० बजे पोखरा इभेन्ट सेन्टरमा उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ,’ जनप्रतिनिधिलाई बोलाइएको सूचनामा उल्लेख छ ।
कांग्रेसका जनप्रतिनिधिले भने मेयर नगर सभा अन्तर्गतको बैठक नै इभेन्ट सेन्टरमा बोलाएको भन्दै आपत्ति जनाएका छन् भने मेयर आचार्यले अनौचारिक छलफलमात्रै गरिने र त्यसको कुनै औचारिक एजेण्डा पनि नहुने भन्दै स्पष्टीकरण दिएका छन् ।
दलसँग समन्वयबिना राखेको कार्यक्रम राखिएकाले उपस्थित नभएको वडा नम्बर २ का अध्यक्ष तथा कांग्रेस दलका नेता दिवसमान प्रधानांगले जानकारी दिए । एमालेका केही जनप्रतिनिधि भने गएको वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले बताए ।
महानगरका प्रवक्ता तिमिल्सिनाले मेयर आचार्यले आफ्नै खर्चमा सबै जनप्रतिनिधि गुनासा सुनौं भनेर अनौपचारिक छलफल राखिएको बताए । ‘यो विशुद्ध अनौपारिक हो । कांग्रेसका २ जना जनप्रतिनिधि आएर निस्कनु भयो, अरु आउनुभएन,’ तिमिल्सिनाले भने, ‘एमालेका जनप्रतिनिधि भने आउनुभएको छ र अनौपचारिक छलफल गरिएको छ ।’
असार १० गते पेश गरेको बजेटको छलफल सुरु भएको छैन । त्योभन्दा अगाडि नै मेयरले अन्तर्क्रियात्मक रुपमा गुनासा सुन्न ‘रिफ्रेसमेन्ट’ कार्यक्रम राखेका थिए । तर, कांग्रेसका जनप्रतिनिधिले भने मेयरको आफ्नै परिवारका सदस्यसँग जोडिएको इभेन्ट सेन्टरमा कार्यक्रम राखेको, छलफल नगरिएको भन्दै असहमति जनाएका छन् ।
बोलाएपछि ४ जना वडा सदस्यले सम्पूर्ण सदस्यहरूको तर्फबाट भन्दै बहिस्कार गरेको सार्वजनिक गरेका थिए । वडा नम्बर ४ सदस्य प्रकाश कोइराला, वडा नम्बर १० सदस्य पूर्णचन्द्र घिमिरेले मेयरले नगर सभा नै इभेन्ट सेन्टरमा राखेको भन्दै बहिस्कार गरेको सार्वजनिक रुपमा विज्ञप्ति नै राखेका थिए ।
नगरसभा सम्बन्धी कार्यक्रम नगरसभा हल बाहिर आयोजना गरिनु, कार्यक्रम प्रकृति र उद्देश्य अस्पष्ट हुनुका कारण आफूहरूको असहमति रहेको उनीहरूले बताएका छन् ।
नगरसभासम्बन्धी कुनै पनि बैठक, छलफल, अन्तरक्रिया वा निर्णय प्रक्रिया नगरसभा हल वा महानगरको आधिकारिक स्थलमै गर्नुपर्ने उनीहरूको माग छ । यस्ता कार्यक्रम अगाडि बढाउनुअघि नगरसभा सदस्यहरूसँग पूर्वसहमति र परामश हुनुपर्ने माग सदस्यहरूले राखेका छन् ।
मेयर आचार्यले इभेन्ट सेन्टरमा अनौचारिक छलफल राखिएको र त्यसको खर्च महानगरपालिकाबाट बोहोर्ने गरी नभएको मेयर आचार्यको भनाइ छ । ‘यो कार्यक्रम कुनै सरकारी खर्चमा आयोजना गरिएको होइन, उपश्थिति अनिवार्य छैन,’ मेयर आचार्यको जवाफ छ, ‘तपाईंहरूले छलफल को समय मागेको हुँदा छुट्ट्याएको हो । उपश्थिति अनिवार्य छैन, यो नगरसभाको अंश होइन ।’
नगरसभा सदस्यज्यूहरू, मेयर, उपमेयर तथा प्रमुख प्रशासनिक अधिकृतबीच अनौपचारिक छलफलका लागि बैठक राखिएको र कार्यक्रममा कुनै ब्यानर नरहेको मेयरको भनाइ छ ।
‘तपाईंहरूले नगरसभाको औपचारिक सत्रअघि राख्न चाहनुभएको जिज्ञासा तथा सुझावहरूलाई ध्यानमा राख्दै यो छलफलको आयोजना गरिएको हो । यस बैठकका लागि निश्चित एजेन्डा छैन—तपाईंहरूको जिज्ञासा र सुझाव नै छलफलका विषयवस्तु हुनेछन्,’ मेयर आचार्यले लेखेका छन्, ‘सभागृहमा नभई, सबै सदस्यहरू एक अर्कासँग राउण्डमा बसेर स्वतन्त्र रूपमा छलफल गर्न सकियोस् भन्ने उद्देश्यले (बिना मञ्च) यो छलफल तय गरिएको हो ।’
महानगर सभाहल वा अर्को सानो हलमा नअटाउने भएकाले खुला र उपयुक्त ठाउँ भएकाले इभेन्ट सेन्टरमा बोलाइएको मेयर आचार्यको जवाफ छ । पोखरा महानगरका कार्यक्रम उनकै भाइ शिव आचार्यले सञ्चालन गरेको इभेन्ट सेन्टरमा राख्ने गरिएको भन्दै आलोचना हुने गरेको छ ।
मेयर आचार्यले असार १० गते नीति तथा कार्यक्रम र सोही दिन उपमेयर मञ्जुदेवी गुरुङले बजेट पेश गरेकी थिइन् । बजेटमाथि छलफल गन १६ गतेका लागि नगर सभा बोलाइएको छ । पोखराले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । हतारमा ल्याइएको बजेटमा त्रुटिसमेत पाइएको थियो ।
पोखराका ३३ वटा वडाहरूलाई जनसंख्या, भूगोल, खर्च क्षमता, आन्तरिक राजस्वका आधारमा ३ करोड रुपैयाँसम्मको सिलिङ दिइएको थियो । कार्यपालिका बैठकमा वडाहरूलाई दिइएको सिलिङमा थप एक/एक करोड रुपैयाँ दिनुपर्ने सर्त वडाध्यक्षहरूले राखेका थिए ।
यही विषयमा केहीबेर रस्साकस्सीसमेत चलेपछि बहुवर्षीय योजना ठेक्का लागेका वडामा ६० लाख र बहुवर्षीय योजना नभएका वडामा ९० लाख रुपैयाँ दिने सहमति वडाध्यक्ष र मेयरबीच भएको थियो । बजेटमाथि विषयगत समितिहरूसहित छलफल गरेर त्यसपछि कार्यपालिका बैठकमा लगेर नगर सभामा छलफल हुने तय भएको छ ।
प्रतिक्रिया 4