
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलका लागि प्रदेशसभा बैठक १६ असारसम्म स्थगित भएको छ।
- बजेट विवाद र सांसदहरूको असन्तुष्टिका कारण बैठक र छलफलमा समस्या आएको छ।
- अध्ययन टोलीले बजेटमा भएका योजनाहरूको अध्ययन गरी १६ असारसम्म रिपोर्ट दिने तयारी गरेको छ।
१६ असार, हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलका लागि बोलइएको प्रदेशसभा बैठक आज सोमबार मात्रै दुई पटक स्थगित भएको छ ।
आज १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएर ३ बजेलाई सारिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । ३ बजेका लागि तय भएको प्रदेशसभा बैठक पनि स्थगित भएर ४ बजे पुगेको सभामुख पाठकले अनलाइनखबरलाई जानकारी दिए । यद्यपि, प्रदेशसभा सचिवालयले बैठकको समय परिवर्तन भएको सूचनामा १ बजेबाट ४ लाई सारिएको जनाएको छ ।
१ असारमा ६७ अर्ब ४७ करोडको बजेट प्रस्तुत भएपछि पहिलो पटक १२ असारमा बजेटमाथि छलफलका लागि प्रदेशसभा बोलाइएको थियो । तर, बागमती सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेसभित्र बजेटको विषयमा भएको विवाद चर्किँदै गएपछि प्रदेशसभा बस्न सकेको थिएन ।
बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट कब्जा गरेको आरोप लगाउँदै आफ्नै सांसदहरु विरोधमा उत्रिएका छन् । कांग्रेसका सांसदहरूले आफ्ना योजना समावेश नभएको, बजेटमा बिचौलिया हावी भएको, निर्वाचन क्षेत्रमा सांसदका योजना नपर्ने तर बाहिरबाट आएको त्यहि प्रकृतिको योजना परेकोले छानबिन गर्नुपर्नेलगायतका विषय उठाएका थिए ।
यसअघि बसेको दलको बैठकमा कांग्रेसका सांसदहरुले बजेटमाथिको छलफलमा सहभागी नहुने चेतावनी दिएकाले बैठक स्थगित गरेर १६ असारका लागि तय गरिएको सरकारका एकमन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
विवाद समाधानका लागि आज साढे ११ बजेबाट बसेको कांग्रेस संसदीय दलको बैठक जारी छ । करिब पाँच घण्टादेखि जारी बैठकमा सहमति हुन नसकेपछि प्रदेशसभा बैठक सञ्चालनमा अन्यौलता देखिएको छ ।
दलको बैठकमा असन्तुष्ट सांसदहरुले बजेट मिलाउने की यथास्थितिमै अगाडि बढाउने ? भन्ने प्रश्न मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेलाई गरेको बैठकमा सहभागी एक नेताले बताए । बजेट यथास्थितिमा अगाडि बढाए सांसदहरुले पुनः छलफलमै सहभागी नहुने चेतावनी दिएका छन् ।
बजेट कार्यान्वयनमा नजाँदै विवाद उत्पन्न भएपछि सांसदहरुले उठाएका विषयमा अध्ययन गर्न कांग्रेस र एमालेले चार सदस्यीय अध्ययन टोली पनि बनाएको छ । १२ असारमै कांग्रेसका रमेशकुमार महत र प्रभात तामाङ एमालेका मधुसुदन पौडेल र केशवप्रसाद पोख्रेलको अध्ययन टोली बनेको थियो ।
अध्ययन टोलीले सांसदहरुका कुन, कति योजना छुटेकोलगायतका विषयमा अध्ययन गरेर १६ असार सोमबारसम्म समयसीमा तोकिएको कांग्रेसका मुख्य सचेतक गोविन्द लम्सालले बताए ।
सत्ता साझेदार दल नेकपा एमाले कांग्रेस संसदीय दलको निर्णय कुर्दै बसेको छ । एमालेको दलको बैठक भोली मंगलबार बस्ने तयारी भइरहेको अध्ययन टोलीका सदस्यसमेत रहेका सांसद तथा पूर्वमन्त्री केशव पोख्रेलले जानकारी दिए ।
प्रतिक्रिया 4