
१८ असार, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले दुई वर्षपछि वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १५०० युनिट पुग्ने लक्ष्यका साथ कार्यक्रमहरू अगाडि बढाइएको बताए ।
उनले यो लक्ष्य हासिल भएमा मुलुक ऊर्जा निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित र ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन हुने विश्वास व्यक्त गरे ।
उनले विद्युत् पूर्वाधार तथा आयोजना निर्माणका क्रममा ८ लाख ६५ हजार १ सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गरे ।
‘विद्युत् पहुँच अबको दुई वर्षभित्रमा शतप्रतिशत गर्नेगरी लक्ष्य राखेर काम गरिराखेका छौँ । वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १५०० युनिट यो दश वर्षमा पुर्याइने भन्ने लक्ष्यका साथ काम भइरहेको छ । यसले मुलुकलाई ऊर्जा निर्यात गर्ने देशको रूपमा स्थापित गर्ने कुरा पनि म निवेदन गर्न चाहान्छु । यो लक्ष्यलाई हासिल गर्दैगर्दा राजस्व ८८.८६ अर्ब संकलन हुनेछ । कुल अनुमानित रोजगारी सिर्जना आठ लाख ६५ हजार एक सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । यसले अप्रत्यक्ष रुपमा पनि लाखौँ रुपमा सिर्जना गर्नेछ । यो लक्ष्यलाई कार्यान्वयन गर्नेगरी सरकारले आफ्नो कामकारबाही अगाडि बढाएको छ,’ उनले भने ।
सरकारले सन् २०३५ भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र सोहीअनुसार कार्यक्रम अघि बढाइएको पनि मन्त्री खड्काले बताए ।
प्रतिक्रिया 4