News Summary
Generated by OK AI. Editorially reviewed.- विपुल क्षेत्री नेपाली लोक र रक संगीतका प्रसिद्ध गायक हुन्, जसले भावनात्मक र सरल गीतहरू सिर्जना गर्छन्।
- उनले आफ्नो संगीतलाई जीवनशैली र आत्मिक अनुभूति मान्दै, गुणस्तर र इमानदारीमा ध्यान दिन्छन्।
- विपुलको बाल्यकाल भारत र नेपालमा बित्यो, र उनी संगीतमा वंशानुगत र व्यक्तिगत रुपमा प्रेरित भएका हुन्।
हृदयस्पर्शी नेपाली लोक तथा रक संगीतको पर्याय बनेको नाम हो, विपुल क्षेत्री । मिडियामा अपेक्षाकृत कम पहुँच राख्ने र प्रेसका लागि त्यति उपलब्ध नहुने उनका संगीतले लाखौं मन जितेका छन् ।
सीमा पारी बसेर नेपाली संगीतको समुद्रमा पौडिरहेका उनका गीतहरूमा नेपाली भाषाको सरलता, पहाडी जीवनशैलीको गन्ध र आत्मा छुने धुनहरू पाइन्छ । सोहीकारण उनका गीतहरू भावनात्मक सन्देश बोक्ने माध्यम बनेका छन् ।
भीडभन्दा अलि टाढै बसेर संगीतमा लिप्त उनी आफ्नो नयाँ सिर्जनालाई एउटा उपहारका रूपमा लिन्छन् । जुन उनले आफ्ना श्रोतालाई माया र आदरका साथ सधैं दिन खोज्छन् ।
गीत कति चल्छ ? कस्तो बन्छ ? कस्तो बनाउनु पर्छ ? श्रोतालाई खुसी पार्न के-कस्तो गीत दिनुपर्छ ? यी यस्ता कुराहरूमा उनी कुनै पर्वाह राख्दैनन् । मात्र सिर्जनाप्रति इमानदार हुन्छन् । त्यसमा डुब्छन् ।
‘निकाल्दिम् न त’ भन्नलाई मात्र उनी गीत निकाल्दैनन् । उनको गीत कम हुनु सम्भवत: यही कारण हो, संख्याभन्दा गुणस्तरमा ध्यान दिनु ।
उनका गीतहरू बालबालिका, युवा, वृद्ध सबैका लागि सुहाउँदो छ । जहाँ शान्ति, प्रकृति, विचार र आत्मीय हुन्छ । त्यसैले त उनका हरेक गीत ‘मास्टर पिस’ हुन् ।
उनी आफैं संगीतलाई आफ्नो अस्तित्वको अन्तर्निहित अंश मान्छन् । प्रसिद्धि वा व्यावसायिक सफलताको पर्वाह नगरी पनि गरिरहने साधना मान्छन् । त्यसैले त उनका गीतहरू कानले नभई हृदयले सुन्नुपर्ने छन् । उनी सदावहार छन् ।
बाल्यकाल
उनका बुबा ब्रिटिस आर्मी थिए । आफ्नो परिवारलाई क्यापमा राख्न सैनिकहरूलाई छुट हुन्छ । त्यहीँ सुविधाका कारण उनी हङकङमा जन्मिन पुगे । तर हुर्काइ, बढाइ भारतको कालिम्पोङमा भयो । किनकि विपुलको उमेर दुई वर्ष नपुग्दै परिवार भारत फर्किसकेको थियो ।
कालिम्पोङ आमाको माइत । बुबा परदेशमा जागिरे । त्यही भएर उनी आमा र दाइको साथमा हुर्किए । बुबालाई भने उनले विद्यालयको छुट्टी हुँदा मात्र भेट्न पाउँथे ।
सेन्ट अगस्टिन्स उनको स्कुल थियो । त्यहाँ जाडोको विदा करिब दुई महिना जति हुन्थ्यो । त्यही विदामा उनी नेपाल आउने गर्थे । नेपाल आउँदा धरान, पोखरा र काठमाडौं जस्ता ठाउँमा पनि जान्थे ।
त्यसताका उनको बुबाको पोस्टिङ धरानको घोपा क्याम्प थियो । जसले गर्दा उनी क्याम्पमा निस्फिक्री जान पाउथे ।
सफा र फराकिलो ब्रिटिस क्याम्प, धुलोमैलो सडकमा गुडिरहेको रिक्सा र अविकसित धरान उनका सादा स्मृति हुन् । यो भन्दा पनि धरानसँग उनको केही खास छ – साइकल चलाउन र पौडी खेल्न उनले धरानमै सिकेका थिए ।
पोखरा पनि उनको बाल्यकालसँग जोडिन्छ । पोखरामा फुपू थिइन् । उनैलाई भेट्न उनीहरू पोखरा जाने गर्थे । तर त्यसको अनुपात धरानकोभन्दा कम थियो । शान्त फेवाताल, त्यस वरपर देखिने विदेशी पर्यटकहरू, पोखराका धूमिल यादहरू उनको मस्तिष्कमा छन् ।
काठमाडौंसँग पनि उनको समान सम्झना छ ।
बुबासँग उनले लामो समय बिताउन पाएनन् । उनी ३ वा ४ कक्षामा हुँदा अल्पायुमै बुबाको निधन भयो । जति बुबासँग घुलमिल भए, त्यसको प्रभाव भने अनन्तः हुन गयो ।
उनका बुबा, निरेन्द्र मोहन, ब्रिटिस आर्मीका संगीतकार थिए । उनको हङकङमा ‘मोहन बाइ नाइट’ नामक साप्ताहिक रेडियो कार्यक्रम थियो । अनि चेकमेट नामक ब्यान्ड पनि।
उनका हजुरबुबा, हर्क जङ्ग सिंह क्षेत्री, पनि प्रसिद्ध कवि थिए ।
विपुलका अनुसार हजुरबुबाका रचनाहरू विद्यालयमा पनि पढाइन्थ्यो । हजुरआमा सितारवादक थिइन् ।
खासमा उनको परिवार नै सांगितिक, साहित्यिक पृष्ठभूमिको छ । तर, दुःखको कुरा उनले बुबाबाट संगीत प्रत्यक्ष सिक्न पाएनन् ।
संगीतमा विपुलको श्रीगणेश
विपुलमा वंशानुगत रूपमै संगीत छिरेको थियो । भलै त्यसको दृश्य पछि देखियो । मधुर रहेको त्यो दृश्य कतै धूमिल पनि हुन सक्थ्यो ।
तर उनी पढेको विद्यालय, जहाँ उनले माध्यमिक तहसम्मै पढे, त्यहाँका शिक्षक, परिवारको विरासत र गाउँको वातावरणले चहकिलो बनाइदियो । प्रस्ट बनाइदियो । अनि केही व्यक्तिले त्यसमा बत्ति बाल्ने काम गरे ।
त्यसमा उनका शिक्षक जस्टिन राई पर्छन् । विपुल ३ कक्षामा पढ्दै थिए । शिक्षक राईले उनको प्रतिभा चिनिसकेका थिए । अनि उनैले विद्यालयको संस्थापना दिवसमा उनलाई बब मार्लीको ‘बफेलो सोल्जर’ गाउन लगाए ।
सम्भवतः त्यो नै विपुलको पहिलो स्टेज कार्यक्रम थियो । त्यसमा उनलाई संगीतका गुरु चन्द्रमोहन घिसिङले पियानोमा साथ दिएका थिए । अनि सबैभन्दा महत्त्वपूर्ण त्यस कार्यक्रममा उनका बुबा पनि उपस्थित थिए ।
विपुल सम्झन्छन्, ‘मैले गाएको देखेर बुबा धेरै खुसी हुनुभएको थियो । तर बुबाले मलाई स्टेजमा देखेको त्यो नै पहिलो र अन्तिम भइदियो’
सांगितिक यात्रामा उडान
अहिले विपुल संगीतलाई पेशा मान्दैनन् । जीवनशैली मान्छन् । भविष्य पनि मान्दैनन् । एउटा उत्सव मान्छन् । जुन दैनिक जीवनमा मनाइने उनी सुनाउँछन् । हुन त जुन समाजमा उनी हुर्किए, त्यहाँ संगीत खुला थियो ।
उनकै घरमा पनि गाउन, बजाउन, सुन्न कुनै रेखछेक थिएन । छरछिमेकमा थिएन । विद्यालयमा थिएन । उनी आफैं सम्झन्छन् ती दिनहरू, जहाँ उनले आफ्नो कोठाभरी विभिन्न ब्यान्डका पोस्टरहरू टाँसेका थिए । यतिसम्म कि कोठाको छानोसम्म पनि । अनि रातभर आफ्नो खाजा खर्च जोगाएर किनेको क्यासेट बजाउँथे । तर अति गरेपछि आमाले गाली भने गर्थिन् ।
एकफेर उनले आमालाई गितार किनिमागेका थिए । लाहुरे परिवार भए पनि सम्पन्नता थिएन । त्यस्तोमा उनको प्रस्ताव स्वीकार्य हुने कुरै भएन ।
त्यहीँ पनि अरूबाट मागेर नै उनले गितार बजाउन सिके । उनलाई सम्झना छ– त्यसबेला गितारहरू महंगा थिए । गाउँमा पनि केहीसँग मात्र थियो । यस्तोमा गितार समाइ नहरन सकेनन् । तारहरूबाट निस्कने झङ्कारले उनलाई छाडेन ।
उनी आफैं भन्छन्, ती आवाजहरूले उनलाई मोहनी लगायो । अन्ततः ९ कक्षामा उनले आफ्नो पहिलो गितार पाए । भलै त्यो स्थानीय रूपमा बनाइएको गितार थियो । तर बजाउन, सिक्न त्यस्ता साना कुराले उनलाई रोक्ने नै भएन ।
बरु शास्त्रीय गितारलाई उनले यति ध्यान दिए कि, विदेशी संगीत प्रोफेसरहरूबाट मास्टरक्लास लिए । ट्रिनिटी कलेजबाट डिप्लोमा हासिल गरे ।
त्यो समयमा उनले एउटा सपना राखेका थिए– शास्त्रीय गितारवादक बन्ने । तर समयक्रमले उनलाई गायक बनायो । यद्यपि त्यो सपनाले उनलाई एउटा नयाँ पहिचान दिलायो– गितार समात्ने विशेष तरिका । जुन शास्त्रीय गितार बजाइरहेको जस्तै देखिन्छ । प्रशंसकहरू बीच त्यो तरिका चर्चामा हुनेगर्छ।
कस्तुरीको सुगन्ध
पश्चिमा संगीत सुनेर हुर्केका विपुलले आफ्नो कस्तुरी भने २५ वर्ष लाग्दाताका मात्र भेटेका थिए । त्यसबेलासम्ममा उनी संगीत पढाउन थालिसकेका थिए । त्यसबाहेक व्यावसायिक संगीत कर्म भने गरिरहेका थिएनन् ।
त्यस्तैमा उनी अमेरिकामा गए । र, न्यूयोर्कबाट साथीहरूलाई भेट्न सिकागो गए । त्यहाँ पुगेपछि उनीहरू समुद्र किनारतिर गए । निलो र विशाल पानी देख्दा उनले आनन्दानुभूति गरे ।
छालहरू आइरहेको थियो । छालको आवाज बजिरहेको थियो । त्यो पलले उनको कस्तुरी निकाल्यो । तत्काल उनलाई केही शब्द र धुन फुर्यो । त्यसले उनको पहिलो नेपाली गीत ‘डढेलो’को गर्भ धारण गराइदियो ।
उक्त अमेरिका यात्रा उनका लागि यति विशेष भयो कि, उनले आफ्नो जरासँग गहिरो विच्छेद र रिक्तता महसुस गरे । र मुख्य कुरो, आफ्नो हृदय अन्तर्निहित रूपमा नेपाली नै भएको महसुस गरे । त्यसले उनलाई आफ्नो अस्तित्व र जरा खोज्न प्रेरित बग्यो ।
स्केचेज अफ दार्जिलिङ
विपुलले सानोमा आफ्नो घर पारीका पहाडमा डढेलो लागेको देखेका थिए । त्यसको दृश्य उनको मनमा गडेर बसेको थियो । त्यस्तै मार्चिङ ब्यान्डले निकाल्ने धुनहरू पनि उनको कानमै झुन्डिएर बसेको थियो । र अमेरिका यात्रा पछि डिल्लीमा बसेर आकस्मिक तवर एउटा गीत लेखे । अज्ञानताबीच रेकर्ड गरे । त्यो गीत २०१४ मा रिलिज भएको ‘डढेलो’ हो ।
उक्त गीत अनपेक्षित तरिकाले धेरैले सुने । जुन विश्वास विपुल स्वयंलाई थिएन । भाग्यवस् हिट भएको हुन सक्ने आँकलन गरेर उनले ‘असार’ निकाले । त्यो पनि हिट भयो । त्यसपछि ’माउन्टेन हाई’ निकाले । त्यो पनि हिट भयो ।
निकालेका तीनवटै गीतहरू हिट भएपछि उनलाई एल्बम गर्ने मन भयो । र उनले ‘स्केचेज अफ दार्जिलिङ’ निकाले । जसमा उनले आफ्नो बुबाको गीत ‘राम साइँली’ पनि समेटेका छन् ।
समग्रमा उनका गीतहरू बाल्यकालको स्मृतिहरूको प्याकेजिङ हो ।
गीत लेखन
अहिलेसम्म उनका २४ वटा गीत मात्र निस्किएका छन् । ’स्केचेज अफ दार्जिलिङ’ मा ६, ’माया’ मा ८, ’समय’ मा (ईपी) ५ गीत छन् । त्यसबाहेक सिन्डिकेट, आशिष, गहिरो गहिरो, निला आकाश, बाह्रै महिना उनका सिङ्गल हुन् ।
करिब एक दशकको सांगितिक यात्रामा कम गीत, चर्चा बढी हुनु कुनै पनि गायकका लागि दुर्लभ सफलता हो । त्यसमा साधना चाहिन्छ । विचार चाहिन्छ ।
विपुल त्यो क्रम गीत लेखनबाटै गर्छन् । उनलाई शब्द भने जहाँ पनि फुर्न सक्छ । तर त्यस्तो भाव हुनुपर्यो, जसले समयलाई चित्र जस्तै कैद गर्न सकोस् ।
उदाहरणका लागि, ‘असार’ टिनको छानामा परेको पानीको सुखद् आवाजबाट जन्मिएको थियो । ‘जुनकिरी’ सपना जस्तो चित्र आएर अनि ‘सिन्डिकेट’ बस यात्राबाट जन्मिएको थियो। ‘आशिष’ छोरीको भविष्यका लागि उपहार र आशीर्वादका लागि लेख्दा, ‘बाँसघारी’ उनले बाँस हल्लिएको आवाजबाट प्रेरित भएर निस्किएका थिए ।
विपुल आफ्नो गीतका लागि आफ्नै शब्द लेख्छन् । किनकि रचना गर्ने काममा सहकार्य गर्न उनी चुनौती मान्छन् । गीतको भावनामा पूर्णरूपमा डुब्न गहिरो व्यक्तिगत सम्बन्ध र स्पष्ट दृष्टिकोण चाहिने भएकाले सहकार्य गर्न नसक्ने उनको भनाइ छ ।
अनि उनका गीतका शब्दहरूमा प्रायः प्रतीकात्मक बिम्बहरू हुन्छन् । शब्द हेरे मात्र पनि यो थाहा हुन्छ । तर शब्दहरूलाई काव्यिक बनाउन जानाजानी यस्तो गरेको नभई आफ्नो मनबाट आएको कुराको ‘व्यक्तिगत छनोट’ भएको उनी बताउँछन् ।
अनि संगीत पनि उनी आफैं रचना गर्छन् । उनीसँग ‘द ट्राभलिङ ब्यान्ड’ नामक सांगितिक समूह पनि छ । तर, उनको गीतको रचनामा उक्त समूह केवल सहयोगीको रूपमा मात्र कार्यरत छ ।
उनको सांगितिक दर्शनको एक मुख्य पक्ष गुणस्तर हो । उनी प्रत्येक गीतमा समय लिन्छन् । एउटा गीतलाई पूरा गर्न उनलाई कहिलेकाहीँ दुई–तीन वर्ष पनि लाग्छ । पूर्णरूपमा तयार र ‘अब ठिक छ’ भन्ने महसुस नभएसम्म उनले गीत सार्वजनिक गर्दैनन् ।
खासमा उनी हरेक गीतमा गहिराइ र अर्थको सुनिश्चितता खोज्छन् । त्यसैले नै हो, उनका गीतहरूमा सकारात्मकता, प्रेरणा र सन्देशहरू हुन्छन् ।
आफ्नो भाषा र जराप्रतिको प्रेमले नै हो उनको गीत खास भएका । त्यसमा पवित्रता भएर नै हो उनी सदाबहार भएका ।
सरलता, परिवार र भविष्य
अहिले उनी दिल्लीमा परिवारसँगै बस्छन् । परिवारमा श्रीमती र सानी छोरी छिन् । संगीत सिर्जना गर्नेबाहेक उनी संगीत नै पढाउँछन् ।
आफ्नो कामबाहेक उनी पारिवारिक जीवनलाई प्राथमिकता दिन रुचि मान्छन् । सकेसम्म आफ्नी छोरीसँग समय बिताउँछन् । उनी अध्यात्ममा अलि विश्वास गर्छन् । दैनिक ध्यान अभ्यास गर्छन् । र, आफूलाई एउटा सामान्य व्यक्ति ठान्छन् ।
जीवनप्रति उनलाई कुनै गुनासो छैन । कुनै ठूला महत्वाकांक्षा पनि छैन । फेसनको त्यस्तो धेरै सौखिन पनि छैनन् । उनलाई यति थाहा छ, हिट गीतका लागि कुनै सूत्र छैन । अनि अप्रत्याशित प्रकृतिलाई स्वीकार गर्नु पर्छ ।
यस्तो बुझाइ रहेको उनले श्रोतालाई नयाँ गीत नदिएको भने १० महिना भइसकेको छ । तर अब यसै वर्ष एउटा नयाँ एल्बम सार्वजनिक गर्ने उनको तयारी छ । नयाँ एल्बमलाई उनले ‘उही तर फरक’ भनेका छन् ।
सम्भवतः त्यसमा पनि उनी हाम्रो समाज, हाम्रो भोगाइ, हाम्रो आवाज बनेर गुनगुनाउने छन् । र ती पनि केवल गीत मात्र नभई हामी सबैको मनको कथा हुने छ ।
प्रतिक्रिया 4