+
+
Shares

७५ करोड लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो

५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट विमानस्थलमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण पूरा भएको निगमले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते २१:०५
Photo Credit : RSS

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७५ करोड लागतमा स्वदेशी प्रविधि प्रयोग गरी हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको हो।
  • डिपोले ३ वटा भण्डारण गृह, फायर फाइटिङ संरचना र अतिप्रज्वलनशील पदार्थको सुरक्षा व्यवस्था सहित आधुनिक प्रविधि प्रयोग गरेको निगमले जनाएको छ।
  • विमानस्थलको उडान चापलाई मध्यनजर गर्दै यस डिपोले ३६०० किलोलिटर हवाई इन्धन भण्डारण गर्न सक्षम छ।

१९ असार, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ ।

नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो ।

निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण पूरा भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक र सुविधा सम्पन्न विमानस्थल निर्माण र सञ्चालनमा ल्याएसँगै यहाँ इन्धन डिपो स्थापना प्रक्रिया अगाडि बढेको थियो । यो विमानस्थलबाट उडान र अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाजलाई आवश्यक हवाई इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ ।

सोही जग्गामा अहिले अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको निगमले जनाएको छ । २ चैत २०७७ मा यहाँ हवाई इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान भएको थियो ।

डेढ वर्षपछि २९ कात्तिक २०७९ मा बोलपत्र पेस गर्नेमध्ये सार्वजनिक खरिद ऐन प्रावधान अनुसार तोकिएको योग्यता र न्यूनतम रकम कबोल गर्ने निर्माण व्यवसायीसँग निर्माण कार्य अघि बढाउन सम्झौता भएको थियो । लगत्तै, १५ पुस २०७९ मा नागरिक उड्डयन प्राधिकरणसँग जग्गा भाडामा लिने विषयमा सम्झौता भएको थियो ।

१ साउन २०८० मा निर्माण कार्य शिलान्यास भएको थियो । शिलान्यास लगत्तै निर्माण कार्यलाई निरन्तर रूपमा तीव्रता दिई हाल सम्पन्न गरिएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान चाप मध्यनजर गर्दै यहाँ १ हजार २ सय किलोलिटर क्षमताको ३ वटा ठूला भण्डारण गृह (कुल ३ हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक) निर्माण गरिएको छ । भर्टिकल स्टोरेज ट्यांकको उचाइ १२ मिटर र ब्यास पनि १२ मिटर छ ।

त्यस्तै डिपो सुरक्षामा उच्च सतर्कता अपनाउन १ हजार २ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरिपरि जडान गरिएको फायर फाइटिङ संरचन आबद्ध गरिएको छ ।

हवाई इन्धन जस्तो अतिप्रज्वलनशील पदार्थको नियमित कारोबार हुँदा आगलागीको जोखिम हुन सक्ने कुरा मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङ संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटना निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ ।

यस डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको दुइटा फायर फाइटिङ डिजेल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प र ८ इन्चको पाइप जडित छ ।

भण्डारण गृहमा रहेको हवाई इन्धन पाइपका सहायताले रिफ्युलमा भर्न तथा ट्यांकरबाट ल्याइएको हवाई इन्धन भण्डारण गृहमा राख्न आवश्यक मात्रामा प्रडक्ट पम्प तथा लोडिङ/अनलोडिङमा क्रमश: १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको निगमले जनाएको छ ।

यहाँ जडान गरिएको स्टोरेज ट्यांक तथा फलामका पाइप अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) मापदण्डमा आधारित रहेको पनि निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?