
News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनको उम्मेदवार तोक्न जिल्ला समितिलाई जिम्मा दिएको छ।
- स्व. बोहराका परिवारका सदस्यहरू उम्मेदवारका मुख्य आकांक्षी छन् भने अन्य दलले पनि उम्मेदवारको खोजी गरिरहेका छन्।
१९ असार,बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही ३ को उपनिर्वाचनको उम्मेदवार तोक्ने जिम्मा जिल्ला समितिलाई दिएको छ ।
वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति समेत गठन गरेको छ । समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य छन् ।
पार्टी स्रोतका अनुसार स्व. बोहराकै परिवारका सदस्यलाई उम्मेदवारमा प्रमुख प्राथमिकतामा दिइने छ । स्व. बोहराका दुई श्रीमती तर्फका दुई छोराहरू क्रमशः गौरव र प्रज्ज्वल र अनि नातिनी स्वाती थापा उम्मेदवारका आकांक्षी छन् । स्वाती पार्टी केन्द्रीय सदस्य पनि हुन् ।
जेठी श्रीमती मञ्जुतर्फका छोरा गौरव बुद्ध एयरमा पाइलट छन् । बोहराकी कान्छी श्रीमती उन्नतिपट्टीका छोरा प्रज्ज्वल आईटी इन्जिनियर हुन् । अमेरिकाको नागरिकता त्यागेर गएको निर्वाचनमा बुबालाई सघाउन आएदेखि उनी यतै बसेका छन् । प्रज्ज्वल राप्रपाभित्र सक्रिय पनि छन् । निर्वाचनपछि बिरामी अवस्थामा रहेका बुबालाई बोलाइने कार्यक्रममा प्रज्ज्वल जान थालेका थिए ।
राप्रपाकी केन्द्रीय सदस्यसमेत रहेकी स्वाती पनि हजुरबुबाको चुनावी अभियानमा निकै खटिएकी थिइन् । उनी पार्टीका हरेक कार्यक्रममा सक्रिय सहभागी थिइन् । अमेरिकामा अध्ययन गरेर फर्केकी स्वातीले सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यक्रम गर्दै आएकी छन् ।
क्याप्टेन गौरव राप्रपाले टिकट नदिएको खण्डमा रास्वपाबाट उम्मेदवार बन्न सक्ने चर्चा छ । यद्यपि पुष्टि हुन सकेको छैन ।
गत निर्वाचनमा राप्रपाका दीपक बोहराले एमालेको समर्थनमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । बोहराको निधन भएकाले यहाँ १७ कात्तिकमा उपचुनाव हुने भएको छ ।
रुपन्देही–३ को उपनिर्वाचनमा विभिन्न दलबाट उम्मेदवारका आकांक्षीहरूले पार्टीबाट टिकट हात पार्न आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन् ।
रुपन्देही ३ मा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको नाम चर्चामा छ ।
नेकपा एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई , व्यवसायी शशी पौडेल, दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि उम्मेदवार बन्ने चर्चा छ ।
रास्वपाबाट उम्मेदवारका आकांक्षी खुलेका छैनन् । रास्वपाले रुपन्देही ३ को उपचुनावबारे छलफल गर्न बोलाएको बैठक भोलिलाई सरकेो छ । यहाँ जसरी पनि जित निकाल्ने रणनीतिमा रहेकाले अन्य दललाई पर्ख र हेरको अवस्थामा रहेको रुपन्देही ३ सभापति मधु अर्यालले बताए ।
यो क्षेत्रमा २०७० सालमा पुरानै निर्वाचन क्षेत्र हुँदा राप्रपाकै दीपक बोहरा विजयी भएका थिए । २०७४ मा नयाँ भूगोल समेटेर क्षेत्र बनेपछि एमालेका घनश्याम भुसाल र २०७९ मा पुनः राप्रपाका दीपक बोहरा एमालेको समर्थनमा विजयी भएका थिए ।
यस्तो छ विगतको नतिजा
२०७९ सालको निर्वाचनमा कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ मत पाएको छ । राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७ सय, नेकपा माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९ सय, हाम्रो नेपाली पार्टी (लौरो) ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत पाएका थिए ।
१५ भदौ २०७४ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि रुपन्देहीमा निर्वाचन क्षेत्र नम्बर ३ को भूगोल नयाँ भएको हो । जस अनुसार रुपन्देही–३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको वडा नम्बर १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४ देखि १९ वडा समेटिएको छ ।
२०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यहाँ २०५१ सालमा एमालेका धनपति उपाध्यायले जितेका थिए । उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ सालमा एमालेकै घनश्याम भुसालले जिते । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि बालकृष्ण खाँण निर्वाचित भए ।
२०७४ सालमा कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते । बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।
२०७९ सालमा दीपक बोहोरा राप्रपाबाट एमालेको साथमा विजयी भए भने बालकृष्ण खाँण दोस्रो भएका थिए ।
प्रतिक्रिया 4