
२४ असार, काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हस्ताक्षर अभियान चलाएको छ ।
त्रिभुवन विश्वविद्यालयमा मेरिटका आधारमा उपकुलपति नियुक्ति गर्न, शिक्षा ऐन तत्काल जारी गर्न र खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियूक्ति गर्न भन्दै हस्ताक्षर अभियान चलाएको हो ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाकाअनुसार विश्वविद्यालयसहित विभिन्न प्रदेश र क्याम्पसमा विद्यार्थीहरूको हस्ताक्षर सङ्कलन गरी सरकारलाई बुझाउने तयारी नेविसंघको छ ।
हालको ‘उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि’ अनुसार अनुसन्धान, शिक्षण अनुभव, पुस्तक प्रकाशन, योजना र सोचपत्र मूल्याङ्कन गरी प्रतिस्पर्धात्मक प्रक्रियाबाट उपकुलपति सिफारिस गरिनुपर्ने व्यवस्था छ ।
तर, शिक्षामन्त्री रघुजी पन्तले त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम आफूखुसी सिफारिस गरेपछि दलगत पहुँच र भागबण्डाको अभ्यास अघि बढेको आरोप नेविसंघको छ ।
त्यस्तै, सरकार र आन्दोलनरत शिक्षकबीच विगतमा भएको सहमति बमोजिम तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग पनि नेविसंघको छ ।
‘शिक्षाजस्तो क्षेत्रमा यस्तो हेलचेक्राइँ क्षम्य हुँदैन । तत्काल शिक्षा ऐन पनि चाहियो, अनि उपकुलपतिको नियूक्ति प्रक्रिया पनि पारदर्शी र प्रतिस्पर्धात्मक हुनुपर्यो । शिक्षकको नियुक्ति पनि खुला प्रतिस्पर्धाबाटै हुनुपर्यो । हाम्रो हस्ताक्षर अभियान यसकै लागि हो,’ शेर्पाले भने ।
प्रतिक्रिया 4