
२६ असार, विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब २५ करोड बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन भएको थियो । जसमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो ।
यो कूल विनियोजित रकमको ७७.२६ प्रतिशत हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हिसाब मिलान गर्नुपर्ने भएकाले खर्चको केही अंक तलमाथि हुनसक्छ ।
प्रदेशको पुँजीगततर्फ १३ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । यो विनियोजित बजेटको ७९.२६ प्रतिशत हो । चालुतर्फ ७५.२९ प्रतिशत अर्थात् १२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ११ अर्ब १९ करोड बजेटमध्ये ८ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ ।
स्थानीय तहका लागि विनियोजित ५ अर्ब ६ करोड ८५ लाखमध्ये ४ अर्ब ८७ करोड ९४ लाख खर्च भएको छ ।
प्रतिक्रिया 4