+
+
Shares

अर्थ समितिमा सेयर बजारबारे छलफल, कसले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्ज र आईपीओमा भ्रष्टाचारको विषय उठाउँदै पुनर्संरचनाको आवश्यकता औंल्याए।
  • पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र वर्षमान पुनले पूँजी बजार सुधार र नेप्सेको पुनर्संरचनामा पारदर्शिता र निजी क्षेत्रको सहभागिताको आवश्यकता बताए।
  • नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महत र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नयाँ कम्पनी ल्याउन हचुवाको विरोध र वर्तमान स्टक एक्सचेञ्जलाई बलियो बनाउनुपर्ने बताए।

२६ असार, काठमाडौं । बिहीबार अर्थ समितिमा सेयर बजार र नयाँ स्टक एक्सचेन्जका विषयमा छलफल भएको छ ।  बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले स्टक एक्सचेन्जका बारेमा आफूले अर्थ समितिबाट दिएको पहिलेको निर्देशनमा फरक मत राखेको बताए ।

दोस्रो स्टकको गेम भ्रष्टाचार गर्न नै रहेको विषय पहिले युवराज खतिवडाले बताएको सम्झँदै उनले पुँजीवादी व्यवस्थामा आर्थिक संस्थाहरू कसैको कब्जामा जान दिन नहुने बताए । केहीलाई पोस्ने गरेर नयाँ स्टक एक्सचेन्ज ल्याइए २०८४ मा आफ्नो पार्टीले खारेज गर्ने उनले चेतावनी दिए ।

आईपीओको खेलमा धितोपत्र बोर्डका अध्यक्ष नै मुछिनु राम्रो नभएको उनले बताए । हाइड्रो, होटल आईपीओ जारी गरेर सहकारी जस्तै भाग्ने खतरा देखिएको सांसद वाग्लेको भनाइ छ।  घाटामाथि घाटामा गएका कम्पनीहरूलाई आईपीओमा लगेर साना लगानीकर्ता लुट्ने नियामकीय निकायहरूको खेल रहस्यमय भएको उनले बताए । ‘नेप्सेलाई पुनर्संरचना गरौं, अहिले नयाँ लाइसेन्स दिन ध्यान जानु प्रिपेड भ्रष्टाचार नै हो भन्ने मलाई लाग्यो’ उनले भने ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्र बोर्डको कमजोरीले पूँजी बजारबाट साना लगानीकर्ता लाभान्वित हुन नसकेको बताए। पूँजीबजारको अवस्था उतारचढावमै रहेको र साना लगानीकर्ता निराश भएको भन्दै उनले साना लाभान्वित हुनसक्ने वातावरण बनाउनुपर्ने बताए । ‘पूँजी बजारलाई पारदर्शी, सुरक्षित, व्यवस्थित कसरी बनाउन सकिन्छ गम्भीर हुनुपर्यो’ उनले भने ‘साना लगानीकर्तामा उत्साह थप्ने काम गर्नुपर्‍यो।’

पूर्वअर्थमन्त्री वर्षमान पुनले विगतमा घाटामा गएका कम्पनीलाई प्रिमियममा सेयर जारी गर्न दिइएका कारण साना लगानीकर्ताको लगानी जोखिममा परेको बताए। सांसद पुनले नेप्सेको पुनर्संरचना गर्दा ५१ प्रतिशत निजी क्षेत्रलाई दिएर गर्नुपर्ने बताए । हतार गरेर पुनर्संरचना गर्ने काम गर्न नहुने उनको भनाइ छ । साथै उनले नयाँ कम्पनी ल्याउन नहुनेमा जोड दिए ।

‘सेबोनले अनुमति दियो करोडौं रकम उठ्यो, ती कम्पनीका कारण लगानीकर्ताको रकम बढ्न सकेन’ उनले भने ‘लेखा समितिले नेटवर्थ देखाउँदै रोक्यो राम्रो गर्‍यो ।’ क्षेत्राधिकारको विषयमा लेखा र अर्थ दुवैबीच छलफल हुनुपर्ने उनले बताए ।

नेपाली काँग्रेसका सांसद सांसद डा. प्रकाशशरण महतले हचुवाका भरमा नयाँ कम्पनी ल्याउन नहुनेमा जोड दिए । ‘सरकारले पनि नेप्से चलाउनु हुँदैन । त्यो ठिक होइन, ब्रोकरले चलाउने पनि बेठिक हो’ उनले भने । नेप्से पुनर्संरचना गरी विज्ञहरुले चलाउने विषयमा छलफल गरेर मात्रै नयाँ कम्पनीलाई लाइसेन्स दिने वा नदिने टुंगोमा पुग्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्वार्थसमूहको दबाबमा बजारमा नयाँ कम्पनी ल्याउन खोजिएको दाबी गरे । कसैको दबाबमा स्टक एक्स्चेन्ज ल्याइए कार्टेलिङ बढ्ने र जनताको लगानी झन् डुब्ने खतरा रहेको उनको भनाइ छ । अहिलेको स्टक एक्सचेञ्जलाई बलियो बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणी चौधरीले धितोपत्र बोर्डका अध्यक्षमाथि प्रश्न उठिरहेकोले जवाफ दिनुपर्ने बताए । प्रमुख सचेतक चौधरीले भने ‘आफ्नो भाइको ट्रेड टावरलाई फास्ट ट्रायकबाट आइपीओ दिनुभयो, तर अरुलाई नदिएको भन्ने छ, खास के हो ?’

बोर्डका अध्यक्षमाथि कमिसन मागेकोसम्म आरोप लागेको र यसको जवाफ दिनुपर्ने उनले बताए । साथै उनले कमोडिटी मार्केट रोक्नुको कारण माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले धितोपत्र बजार संवेदनशील क्षेत्र भएकाले खेलवाड नगर्न आग्रह गरे ।

उनले धितोपत्रमा विचौलियाको प्रभाव देखिएको, नीतिगत चलखेल देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?