+
+
Shares

‘बुढेसकाल’सम्म कलेज ढुक्नेहरू विद्यार्थी आन्दोलनका शत्रु हुन्’

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असार २९ गते ७:१४

पछिल्लो समय विद्यार्थी संगठनहरूलाई विकृत राजनीतिक अभ्यास गरिरहेको आरोप लाग्ने गरेको छ । विश्वविद्यालयमा गरिने तालाबन्दी होस् या क्याम्पसमा कुटपिट; यसले समग्र विद्यार्थी राजनीतिको छवि धुमिल बनिरहेको छ । सत्तालाई प्रश्न गर्ने भन्दा पनि आफ्नै मातृपार्टीको भक्तिगानमा विद्यार्थी आन्दोलन सीमित भएको गुनासो आमजनमा व्याप्त छ । सारमा भन्दा विद्यार्थी संगठनको औचित्यमाथि ठूलो प्रश्नचिह्न खडा भएको अवस्था छ अहिले । र, यी प्रश्नबाट कुनै पनि विद्यार्थी संगठन अछुतो छैनन् । यही सेरोफेरोमा अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियासँग अनलाइनखबरकर्मी कौशल काफ्लेले गरेको कुराकानी :

अध्यक्ष हुनुभएको एक महिना बित्न लाग्यो । कस्तो अनुभव भइरहेछ ?

एक महिनासम्म हामी निरन्तर संगठनका गतिविधिलाई अगाडि बढाउने अभियानमा लागिरहेका छौं । सांगठनिक गतिविधिमा जोडिएको भएर त्यस्तो छुट्टै किसिमको अनुभव गर्ने समय पाएको छैन । त्यसबाहेक यो छोटो समयमा कार्यकारी पदमा रहँदै गर्दा चुनौतीको सामना गर्न सिकिंदैछ । अवरोहलाई पार गर्न सिकिंदैछ । समग्र मुलुक कुन अवस्थामा रहेछ भन्ने कुरालाई नजिकबाट नियाल्न पाइरहेको छु ।

अनेरास्ववियुको महाधिवेशनलाई फर्केर हेर्दा तपाईंलाई पार्टीकै ह्याबिवेट नेताको समर्थन थियो । सर्वसम्मत चयनको प्रयास पनि भयो । तर, ‘सेलेक्सनबाट इलेक्सन’सम्म पुग्दा ७ मतको झिनो अन्तरले मात्र जित्नुभयो । राजनीति सोचे जस्तो त नहुँदो रहेछ नि हैन ?

एकदम ठिक भन्नुभयो । राजनीतिलाई कसरी सोच्ने भन्ने कुरा चाहिं महत्वपूर्ण हुन्छ । मैले ‘इलेक्सन कम्पिटिटिभ’ हुन्छ भन्ने कुरा सोचेकै थिएँ । किनभने समग्र यो आन्दोलनमा रहेका मेरा प्रतिस्पर्धी साथीहरूको योगदान पनि महत्वपूर्ण थियो । त्यसैले दुई जनामध्ये कसलाई छान्ने भन्ने कुरामा द्विविधा हुनु सामान्य कुरा हो । यसको मतलब के हो भने, दुवै जना सक्षम थियौं । तर, यो व्यवस्था यस्तै छ– एउटा मात्र अध्यक्ष बन्न पाउँछ । यसकारण पनि थोरै मतान्तर रह्यो । दुवै जना महत्वपूर्ण थियौं भन्ने कुरा बुझ्नुपर्छ ।

तर, पार्टीका संगठन विभाग प्रमुख भानुभक्त ढकालले त तपाईंका प्रतिस्पर्धीलाई ‘प्रतिगामी’हरू हुन् भन्नुभएको थियो नि ! उहाँहरूलाई हेर्ने तपाईंको दृष्टिकोण पनि त्यस्तै हो ?

होइन । उहाँले त्यस्तो केही भन्नुभएको हैन । अपव्याख्या गरिएको हो । म पनि साक्षी नै छु, त्यसैले झूट बोल्नुहुँदैन । उहाँले त्यसबेला आखिर परिणाम यसकै वरपर आउने नै थियो । सबै जना संगठनको लागि आवश्यक पनि हुनुहुन्थ्यो । त्यसैले सर्व-सहमतिको प्रयत्न हामीले गरेका हौं मात्र भन्नुभएको हो ।

चुनावताका तपाईंले गाउँगाउँ गएर उपचार गरेको, गाउँलेको स्वास्थ्य सुधारमा काम गरेको भिडियोहरू व्यापक देखिए । अब चाहिं त्यो गर्नुहुन्छ कि हुन्न ?

कार्यकारी पदमा रहँदै गर्दा हामी कहिलेकाहीं पेशाबाट टाढा रहनुपर्ने बाध्यात्मक परिस्थिति हुन्छ । जति हिजो समय दिनसक्थें आज दिन पाइरहेको छैन । यसले प्रोफेसनल जीवनमा कतै न कतै खिन्नता त ल्याउँछ । तर, सँगसँगै अर्को अवसर पनि पाएको छु, यसले हौसला दिन्छ । हामीले आजको राजनीतिक परिवेशमा हेर्ने हो भने पनि पार्टीका नेतृत्वहरू अवकाशपछि पनि राजनीतिमै आउने बाध्यात्मक परिस्थिति छ । यही नहोस् भन्नको लागि हरेक व्यक्तिसँग एउटा न एउटा प्रोफेसन हुनुपर्छ । रिटायरमेन्टपछि त्यसमै फर्कंदा यसले दिने सन्देश ऐतिहासिक हुन्छ जस्तो लाग्छ ।

अनि आजसम्म कति ढुंगा हान्नुभयो ? टायर पनि बाल्नुभयो ? कि छैन ?

मैले धेरै ठाउँ भन्ने गरेको छु; आन्दोलनका क्रममा कहिलेकाहीं भौतिक रूपमा हामीले तालाबन्दीसम्म गर्नुपर्ने बाध्यात्मक परिस्थिति कुनै समयमा भयो । त्यो पनि एक दशक अगाडि । तर; ढुंगा हान्ने, टायर बाल्ने जुन कुरा आज गरिन्छ, त्यो पृष्ठभूमिबाट म आएको हैन । यो भन्दै गर्दा आफू एकदम ढुंगा नहानिकन आएको, टायर नबालिकन आएको – म मात्र चोखो भन्न खोजेको हैन ।

फेरि यी कुरालाई कसरी हेर्ने भन्ने पनि हुन्छ । हिजो निरंकुश समयमा बाध्यता थियो । व्यवस्था विरुद्ध लड्नु थियो । त्यत्तिकै यो अवस्था आएको हैन । त्यसैले यस्ता कुरा गर्दा हामीले समाज विकासको क्रमलाई बुझ्नुपर्छ । हिजोको सापेक्षित समाजका लागि ती कुरा जायज भए पनि आज ठिक हुँदैन । अब रचनात्मक आन्दोलनतर्फ उन्मुख हुनुपर्छ ।

हिजो पो व्यवस्था फेर्नु थियो, त्यस विरुद्ध आन्दोलन छेड्नुथियो, दलहरू प्रतिबन्धित भएको अवस्थामा विद्यार्थी संगठन चाहिएको थियो; आज त यसको औचित्यमाथि प्रश्न उठाइरहेका छन्– औचित्य पुष्टि कसरी गर्नुहुन्छ ?

केही लोकप्रियतावादी शक्तिहरूले अचेल विद्यार्थी आन्दोलनमाथि विभिन्न आरोप लगाइरहेको देखिन्छ । विद्यार्थी आन्दोलन भनेको त हामीले हाम्रो मौलिकतासँगै जोडेर हेर्ने हो । नेपालको परिवेश र यहाँको मौलिकतासँग जोडेर हेर्ने हो । जबसम्म विद्यार्थी रहिरहन्छन् तबसम्म विद्यार्थी आन्दोलन रहिरहन्छ ।

समाज पो गतिशील छ, गतिशील समाजमा आन्दोलनका स्वरूपहरू परिमार्जित हुँदै जान्छन् । तर, आन्दोलन त कहिल्यै पनि रोकिन सक्दैन । यसको अन्त्य कहिल्यै पनि हुन सक्दैन । यो नै शाश्वत सत्य हो । फेरि दोहोर्‍याउँछु; जबसम्म विद्यार्थी रहन्छन्, तबसम्म विद्यार्थी आन्दोलन रहिरहन्छ । बरु हामी कसरी सिर्जनशील बन्ने भन्ने महत्वपूर्ण कुरा हो ।

यो त सैद्धान्तिक कुरा भयो । तर, यथार्थमा अचेल त विद्यार्थी नेता राजनीतिभन्दा धेरै ठेक्कापट्टा गर्छन् । दिनभर कलेज ढुकेर बस्ने, कलेजका प्रशासनिक काम आफैं होल्ड गर्ने । आफूले भने जस्तो नभए तोडफोडमै उत्रने गरेको पाइन्छ । हुँदाहुँदा प्राध्यापक, विश्वविद्यालयका पदाधिकारी नै विद्यार्थी नेतासँग डराएर भाग्नुपर्ने अवस्था छ भन्नुहुन्छ नि !

यसरी डराउनुपर्ने अवस्था क्रमिक रूपमा कम भएको छ । फेरि हुँदै भएको छैन भनेको होइन । यसलाई यसरी छुट्याएर हेरौं– विद्यार्थी आन्दोलनभित्र पनि अहिले दुईखाले चरित्र छ । एउटा यथास्थितिवादी विधिवाद र रुढीवादमा रमाउन चाहने अर्को प्रगतिशील चरित्र छ । हामीले प्रगतिशील चरित्रलाई आत्मसात् गर्नुपर्छ ।

अर्को, तपाईंले भने जस्तै विद्यार्थी जीवन सकिइसक्यो तैपनि क्याम्पस गेटमा ढुकेर म विद्यार्थी नेता हुँ भन्नु त्यो आफैंमा ठिक हैन । त्यस्ता व्यक्तिहरूले समाजमा प्रगति पनि गर्न सक्दैनन् । त्यस्ता व्यक्तिहरू समाज विकासका बाधक हुन् । विद्यार्थी आन्दोलनका प्रमुख शत्रुहरू हुन् ।

भनेपछि तपाईंको कार्यकाल सकिंदासम्म ती ‘बुढा विद्यार्थी नेता’ले कलेजमा अनेरास्ववियुको सदस्यता लिइरहेको देख्न पाइँदैन ?

पाउनुहुन्न । यो सुधार हुन्छ । कक्षाकोठामा नियमित विद्यार्थीको मात्र संगठन हुन्छ । नियमित पढ्ने विद्यार्थी नै अनेरास्ववियुको विद्यार्थी नेता हुन्छ ।

यसअघि अनेरास्ववियुले विश्वविद्यालयमा बोर्ड अफ ट्रष्टी हुनुपर्ने लगायत माग राख्थ्यो । आफ्नो कार्यदिशामा नै त्यस्ता कुरा उल्लेख थिए । अहिले पार्टी सत्तामा हुँदा कता हराए ती कुरा ? खै कतै बोलेको देखिन्न !

हामीले हाम्रो मुद्दा छोडेको छैन । बोर्ड अफ ट्रष्टीको अवधारणालाई प्रधानमन्त्रीसम्म पुर्‍याएको हो । अब यसमा धेरै कठिन परिस्थिति के कति छन्, उहाँहरूले बुझ्नुहोला । तर, हामीले हाम्रो मुद्दा छोड्दैनौं । र, सँगसँगै यो पनि बुझ्न जरूरी छ– विश्वविद्यालय सुधारको निम्ति बोर्ड अफ ट्रष्टी मात्र सबै कुरा होइन । जबसम्म विश्वविद्यालयमा भएका कर्मचारीदेखि लिएर त्यहाँको गुणस्तरीयता प्रदान गर्ने दक्ष जनशक्ति, पूर्वाधार लगायतका कुराको ‘सिनर्जिस्टिक फ्युजन’ हुँदैन तबसम्म विश्वविद्यालय सुध्रिदैन । त्यसैले यस्ता विषय हामीले उठाइरहन्छौं । बोर्ड अफ ट्रष्टीको विषयमा पनि यो एउटा वैज्ञानिक अवधारणा हो । यसलाई हामी रेस्पेक्ट गर्छौं । यो कार्यान्वयनमा जाँदाखेरि यसले विश्वविद्यालयको निम्ति पक्कै केही न केही सुधार गर्छ भन्ने नै हो । हामीले मुद्दा छोडेको छैन । बिर्सिएको पनि हैन ।

तपाईंकै कार्यकाल शुरू भएपछिको कुरा गरौं न– यसअघि अनेरास्ववियुले खुला प्र्रतिस्पर्धाबाटै उपकुलपति छानिनुपर्छ भनेर खुब बोल्यो । तर, आज मात्र त्रिविले उपकुलपति पाएको छ, जसमा त यसअघि शुरू भएको ‘प्रतिस्पर्धात्मक चयनको प्रचलन’ नै पो भत्काइयो । खै, यसबारे तपाईंलाई सुनिन पाइएन नि !

यसमा हामीले बोल्नको लागि मात्र बोल्दिने हो भने जहिले पनि बोलिदिए हुन्छ । तर, यसमा हामीले बोल्दै गर्दा शिक्षामन्त्रीले उहाँको नियुक्ति नै चाहिं क्यान्सलेसन हुने हैन । अथवा, उहाँको ठाउँमा एकदमै सक्षम व्यक्ति अहिलेको अहिल्यै रूपान्तरित हुने भएको भए हामी पनि बोल्नलाई पछि हट्दैनथ्यौं होला । तर, यसमा पनि केही न केही प्रक्रियाहरू त छ । त्यो पनि हेर्नुपर्छ ।

प्रक्रियाकै कुरा गर्दा कुनै नयाँ कुरा चाहियो भनेको हैन नि ! पहिले जे थियो, कम्तीमा त्यसलाई नभत्काइदिएको भए हुन्थ्यो भन्ने मेरो प्रश्नको आशय हो …

तपाईंले सोध्न खोज्नुभएको प्रश्नलाई मैले केही हदसम्म ग्रहण गरेको छु । जे भइरहेको छ त्यो अत्यन्तै ठिक भइरहेको छ भन्ने कुरा म मान्दिनँ । तर, अहिले हामीले बोल्ने बित्तिकै यो सच्चिने अवस्थामा छैन । हामी एकदम प्रियतावादी खाले सोच राखेर बोल्नको लागि बोलिदिने गर्दैनौं । त्यसैले यस्ता विषय भविष्यमा चाहिं वैज्ञानिक प्रक्रिया मार्फत जाओस् भन्ने एउटा इच्छा व्यक्त गर्न चाहन्छौं । र, यसको लागि हामीले आफ्नो ठाउँबाट योगदान दिइराख्छौं ।

केही दिनअघि मात्र ‘सरकारी कर्मचारी/शिक्षकले सरकारी विद्यालयमै पढाउनुपर्छ भन्ने छैन, आफ्नो छनोटको विषय हो’ भनेर तपाईंकै पार्टीका शिक्षामन्त्रीले भन्नुभयो । जबकि यसअघि अनेरास्ववियुले त सरकारीमै पढाउनुपर्छ भन्दै अभियान नै सञ्चालन गरेको थियो । आफ्नै पार्टीका मन्त्रीले तपाईंको संगठनको कार्यादेश विपरित अभिव्यक्ति दिंदा पनि तपार्इंहरूको कुनै टिप्पणी सुनिंदैन । सत्तामा पुग्दा एजेण्डा फेरिन्छ, हो ?

त्यो शिक्षामन्त्रीज्यूको व्यक्तिगत धारणा हो । हाम्रो सांगठनिक धारणा चाहिं के छ भने सकेसम्म आज सरकारी सेवामा भएका कर्मचारीहरूका बालबच्चाहरू पनि सामुदायिक विद्यालयमै पढाउनुपर्छ । त्यसो हुँदा सामुदायिक विद्यालयको विषयमा उहाँहरूले सोचिदिनुहुन्थ्यो कि, थोरै जिम्मेवारबोध हुन्थ्यो कि भन्ने हो । सुधारोन्मुख भए पनि आज शिक्षाको अवस्था दयनीय छ । असमानता छ । कोही खान–लाउन पाउँदैनन्, सर्ट र प्यान्ट लगाउन पैसा हुँदैन, खाली खुट्टा विद्यालय जानु परिरहेको छ । कोही भने लाखौंको विद्यालयमा पढाइरहेका छन् । पढाउनेहरूप्रति कुनै गुनासो हैन फेरि । तर, जसले सकिरहेका छैनन्, उहाँहरूको बारेमा सोच्नुपर्छ । त्यसैले यी विषयमा हाम्रा एजेण्डा फेरिएका भन्न मिल्दैनन् । उहाँले जे भन्नुभयो, त्यो उहाँको विषय हो ।

अन्य विषयमा पनि त उस्तै देखिन्छ । यसरी विद्यार्थी संगठन कसरी सधैं सत्ताको प्रतिपक्षी हुन्छ ? जसोजसो माउ पार्टी, उसैउसै तपाईंहरू पो देखिनुहुन्छ !

विद्यार्थी संगठन सत्ताको सधैं प्रतिपक्ष मात्र होइन । अब सत्ताले गरेका सही कामको पक्षमा पनि हुन्छ । गलत कामहरूको प्रतिपक्षमा हो । त्यसैले विद्यार्थी संगठनको सत्तासँग भन्दा पनि सत्ताले गरेका कार्यहरूका आधारमा त्यससँग सम्बन्ध रहन्छ । सत्ताले गलत गरेको छ भने प्रतिपक्ष हो, सही गरेको छ भने सत्ता पक्ष नै हो ।

 

डाक्टरी पृष्ठभूमिबाट आएर विद्यार्थी राजनीति गर्न चाहिं कति सजिलो रहेछ नि !

यो ‘राजनीति गर्ने’ भन्ने शब्दावलीको व्याकरण नै मिलेको छैन । किन भने राजनीति गर्ने हैन । जसरी हरेक आधारभूत आवश्यकता हुन्छन्, केही नयाँ जानिरहेका हुन्छौं । यो समाजमा रहँदै गर्दा पनि यससँग खेल्दै हिंड्न सिकिरहेका हुन्छौं, खान सिकिरहेका हुन्छौं, डुल्न सिकिरहेका हुन्छौं । राजनीति त्यस्तै हो ।

तर, हामीले राजनीतिलाई छुट्टै नजरले हेरिरहेका हुन्छौं । बुझ्न पनि तयार छैनौं । किनभने, आज एक किसिमको पश्चगमन चिन्तन बोकेकाहरू राजा चाहिन्छ भन्दै पनि हिंडिरहेका छन् । उहाँहरूले राजा हुनुपर्छ भनेर हिंड्नुको कारण के यो विज्ञानसम्मत भएर अथवा उहाँहरूलाई दास बन्न मन लागेर हो र ? होइन नि ! यो त यसबारे बुझ्नै नखोजेर त्यस्तो भनिरहनुभएको हो ।

त्यसैले राजनीतिलाई लिएर हामी सधैं सचेत हुनुपर्छ । हरेक प्रोफेसनल व्यक्तिहरूले पनि राजनीतिको बारेमा यसका प्रक्रियाहरूमा सँगै हुनुपर्छ । त्यसो हुँदा हामी नीतिनिर्माण तहमा पुग्न सक्छौं । मेरो हकमा पनि त्यही हो ।

राजनीतिमा सक्रिय भए पनि नभए पनि सचेत चाहिं हुनुपर्छ । यसमा क्रियाशील भएर आए पनि नआए पनि राजनीतिक रूपमा सचेत हुनुपर्छ । म पनि राजनीतिक रूपमा सचेत हुने क्रममा थिएँ । अझ सचेत हुँदै आउँदा यसप्रति आकर्षण बढ्दै गयो । र, आज यहाँ छु । अब हामीले अरूलाई पनि राजनीतिक रूपमा सचेत गराउनुपर्छ ।

कसरी गराउने ? अनेरास्ववियुले यसमा के भूमिका खेल्छ ?

हामीले त शैक्षिक जागरणको माध्यमबाट समाज परिवर्तन गर्ने हो । हाम्रो मुख्य नारा नै यही हो । हामी सधैं अग्रगमनमै जानुपर्छ । प्रगतिशील नै हुनुपर्छ भन्ने कुरा हामीले बुझाउन जरूरी छ । आवधिक इलेक्सन यो गणतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । कोही चित्त नबुझ्दा हामीले मत मार्फत बदल्न सक्छौं । त्यो अधिकार यो व्यवस्थाले प्रदान गरेको छ । यिनै कुरा हामीले बुझाउने हो । विभिन्न माध्यमबाट बुझाउँछौं ।

शैक्षिक जागरणको कुरा गर्नुभयो । तपाईंको गृह जिल्ला रामेछाप जस्ता कैयौं विकट भेगका विद्यार्थीले क्याम्पसमा ल्याब, इन्टरनेट र बेसिक सुविधा पाएका छैनन् । गाउँ र शहर बीचको यो भेद गहिरो छ । अनेरास्ववियुले यस्ता लोकल इस्युमा कसरी फाइट गर्छ ?

एकदमै । हामी जहिले पनि मुख्यत: शिक्षामा भएको विभेदबारे बोलिरहेकै हुन्छौं । हाम्र्रो स्ववियु पनि यसमा लागिरहेको छ । अब डिजिटल युगमा लिएर जानुपर्छ । यसबाहेक पाठ्यक्रम पनि पुरानै छ । समयमा पाठ्यपुस्तक नै नपुग्ने सम्म समस्या छ । तर, प्रविधिको बढ्दो जुन रफ्तार छ, यसलाई पनि हामीले समात्न सक्नुपर्छ । त्यसको लागि एक त शिक्षामा गरिने बजेट विनियोजनको विषयमा सुधार हुनुपर्छ ।

हरेक शिक्षालयमा विद्यार्थीले कम्तीमा हिजोका शिक्षकहरूको अवस्था के छ ? आजको अपडेटेड भर्सनहरू के–के आइरहेका छन् ? भनेर पनि स्क्रिनमा हेर्न पाउनुपर्‍यो नि ! आज काठमाडौंका महँगा कलेजहरूमा एक किसिमको शिक्षा पढाउने अनि जुम्ला अथवा रामेछापका दुर्गम बस्तीहरूमा नपढाइने विषयमा त हामीले नबोल्ने हामीलाई छुट नै छैन । त्यसकारणले गर्दा हामी अब निरीक्षण गर्छौं । अवलोकन शुरु गरिरहेका छौं । म भर्खरै भैरहवा मल्टिपल क्याम्पस गएर आएको थिएँ । हाम्रो स्ववियुको मित्रले धेरै परिवर्तन गर्नुभएको रहेछ । त्यसैले स्ववियुमा मात्र सही मान्छे चुनिंदा कति धेरै फरक पार्छ भन्ने उदाहरण हो । यो माध्यमबाट पनि तपाईंले भने जस्तो अभियानको काम गर्न सकिन्छ । हामी नयाँ प्रविधिहरूलाई अँगालेर कसरी सकिन्छ, गर्छौं ।

तपाईंको नजरमा राम्रो स्ववियु भनेको के हो ?

स्ववियु कस्तो छ भनेर हामीले मूल्यांकन गर्ने भन्दा पनि त्यहाँका विद्यार्थीले रुचाइरहेका छन्–छैनन् भनेर हेर्नुपर्छ । यदि विद्यार्थीले रुचाएको छ, उनीहरूको मुद्दा सँगसँगै उठाइरहेको छ भने त्यो नै आजको राम्रो स्ववियु हो ।

स्ववियुमा अहिले २८ वर्षे उमेरहद छ । त्यो भनेको यसका नेतृत्व अहिलेका ‘जेनजी’ नै हुन् । तपाईं आफैं त्यही हाराहारीकै हुनुहुन्छ । उस्तै उमेर समूहका आफ्नै पुस्तालाई चाहिं अनेरास्ववियुले कसरी चिनेको छ ?

अहिलेको पुस्ता उन्नत पुस्ता हो । अपडेटेड छ । यो पुस्ताले चाहँदा देशको मार्गचित्र फेरिन सक्छ । तर, यो पुस्ताले आफ्नो बारेमा सोच्छ कि मुलुकको बारेमा सोच्छ ? यो गम्भीर प्र्रश्न हो । यो पुस्ताले आफ्नो बारेमा मात्र सोच्यो भने आफ्नो जीवन मात्र कायापलट गर्न सक्छ । यही पुस्ताले फेरि राज्य र मुलुकको बारेमा सोच्यो भने यो देशले आफ्नो जस्तै मुलुकको भविष्य कायापलट गर्न सक्छ । त्यही भएर यो सेन्सेटिभ पुस्ता छ । यो पुस्तालाई हामीले राजनीतिक/शैक्षिक रूपमा प्रशिक्षित गर्नुपर्छ । हाम्रो मौलिकताबारे सिकाउनुपर्छ । इतिहास पढाउनुपर्छ । हाम्रो आजको यो अवस्था आउनुमा वर्तमान नेताहरूको त्यागको कारणले हो । यी कुरा हामीले बुझाउनुपर्छ ।

राम्रो कुरा, यो बुझाउँदा अत्यन्तै छिटो र सहज ढंगबाट बुझ्ने पुस्ता पनि हो । त्यस कारणले हामीले यो पुस्ता बुझ्नुपर्छ । यसलाई नबुझ्नुमा पनि हाम्रै कमजोरी छ । यसलाई बुझेर बुझाउने अभियान अब चाहिन्छ ।

कसरी बुझाउनुहुन्छ ? अस्तिको तपाईंको पार्टी अध्यक्षले ‘म झोले’ भनेर पोस्ट गरेपछि तपाईंको पार्टीको शिरदेखि पुच्छरसम्म त्यही गर्‍यो । डिजिटल क्याम्पेन नै चलायो । यसरी बुझाउँदा बुझ्छन् हो, नयाँ पुस्ताले ?

हामीले बुझाउन कति कठिन छ भन्ने कुरा यहाँबाट नि बुझिन्छ । मैले भन्ने गरेको छु, जुनै कुरालाई पनि सापेक्षित ढंगले हेर्नुपर्छ । उहाँ (केपी ओली) ले यस्तो राम्रो साहस गर्नुभयो कि झोले भन्ने शब्द जसरी गाली गर्नलाई प्रयोग भइरहेको छ त्यसलाई खण्डन गर्नुभयो । बरु ‘म जबजको झोले’ हो भनेर राष्ट्रको लागि यस्ता झोला बोक्न तयार छौं भन्ने सन्देश दिनुभयो । तर, यसलाई यति फैलाइयो कि, दुष्प्रचारै गरियो ।

जसले तपाईंहरूलाई ‘झोले’ भनेर गाली गर्छन्, उनीहरूको पनि त केही इमोसन होला । त्यसलाई बुझेर सम्बोधन गर्न छोडेर उल्टो जाइलाग्नु ठिक भयो त ?

संगठित शक्तिले कहिलेकाहीं के गर्न सक्छ भने आफ्ना अभियानहरूलाई संगठित रूपमा परिचालन गरेको हुन्छ । त्यसैले उहाँको निजी निर्णय भन्दा पनि सिंगो एमाले ‘जनताको बहुदलीय जनवाद’को झोला बोक्न तयार छ भनेर हामीले भनेका हौं । अहिले जुन किसिमबाट राष्ट्रलाई प्र्रहार गरिरहेछ, त्यसको विरुद्धमा राष्ट्रियताको झोला बोक्न हामी तयार छौं भनेर भनेका हौं ।

कहिलेकाहीं सामाजिक सञ्जालतिर आममान्छेले गरेका कमेन्टहरू पढ्नुहुँदैन क्या हो ?

किन नहेर्नु ! धेरैथरी कमेन्ट आइरहेका हुन्छन् । केही नियोजित हुन्छन् । अब अहिले डिजिटल विस्तारवादीहरूको पनि प्रभाव छ देशमा । डिजिटल विस्तारवाद आफैंमा सबैभन्दा डरलाग्दो हतियार बनिरहेको छ । त्यसैले फेसबुकलाई मात्र हेरेर हामीले समाजको जज गर्न मिल्दैन । किनभने हाम्रो देशमा भएका हरेक आमाबुवा, हजुरआमाहरूले फेसबुक चलाउनुहुन्न । नियोजित रूपमा डिजिटल प्लाटफर्ममा उत्रनेलाई त के भन्ने र ?

हिजो ‘साइबर सेना’ भन्दै डिजिटल आक्रमण/प्रत्याक्रमणको सुरुआत त तपाईंहरूले नै गरेको हैन ?

साइबर सेना कहाँ हुन्छ ? आफ्नो साइबर लोकतन्त्र हुनसक्छ तर साइबर सेना त हुँदै हुँदैन नि ! हिजो हामीमाथि आक्रमण गर्न यस्ता अपवाह फैलाइएका हुन् । त्यो कुरा भ्रम हो ।

यद्यपि, परम्परागत राजनीतिक शैलीबाट नयाँ पुस्ता निराश छ । गालीगलौजमै उत्रिएको छ । यो अवस्थाबाट माथि आउन हामीले कसरी काम गर्नुपर्ला ?

हामीले हाम्रो तर्फबाट गर्ने भनेको विद्यार्थी हकहितको आवाज बोल्ने हो । हामीले विद्यार्थीको प्रतिनिधित्व गर्न सकौं । विद्यार्थीको मनमा बस्न सकौं । त्यसका लागि विद्यार्थीका मुद्दाहरू, असमानताका आवाजहरू उठाउन सकौं । हामीले यसको लागि एउटा खाका तयार गरेका छौं । अहिले नीति तथा योजना आयोग भनेर एउटा छुट्टै आयोग बनाइएको छ । पालिकास्तरबाटै आवाज उठाउने तयारी गरेका छौं । र, यो गर्दैगर्दा हामीले आशा बाँड्छौं, निराशा होइन ।

तपाईं आफैं टिकटक लगायतका सञ्जालमा सक्रिय हुनुहुन्छ । नयाँ पुस्ता पनि टिकटक, इन्स्टा रिल्स, मिम्समै छ । अनेरास्ववियुले उनीहरूसँग जोडिन कस्ता डिजिटल क्याम्पेन वा ट्रेन्डी आइडिया ल्याएको छ, कि पुरानै र्‍याली र भाषणमै अड्किरहेको छ ?

हिजो हामी सानो हुँदै गर्दा आफ्नो अभिभावकबाट सिक्यौं । हामीलाई सिकाउने शिक्षक भनेकै आमा–बुबा वा वरपरको समाज थियो । अहिलेको नयाँ पुस्ता चाहिं टिकटक अथवा रिल्सबाट सिकिरहेको छ । यसका फाइदा होलान्, तर सँगसँगै मिसगाइड गर्छ कि भन्ने डर पनि हुन्छ । नयाँ डिजिटल ट्रेन्डसँगै यो जोखिममा हामी छौं । तर यसलाई हामीले परास्त किन गर्न सक्छौं भने हामीसँग केही त्यस्ता विधिहरू छन् । हाम्रो समाजमा हामीले खालि ‘वेस्टर्न इन्फ्लुएन्स’ मात्र भएर पनि हुँदैन । तर, फेरि हामीले विज्ञानलाई मान्न पनि छोड्नुहुँदैन। विज्ञानलाई हामीले मान्न तयार हुनुपर्छ तर हाम्रो मौलिकता र संस्कृतिलाई सँगसँगै बचाएर जानुपर्छ । यो दुवै धारको सन्तुलन मिलाएर लैजानुपर्छ । यसको लागि हाम्रो पाठ्यक्रम पनि सुधार गर्नुपर्छ । यो सबै कुरालाई मिलाएर अघि बढ्नुपर्छ भन्नेमा हामी सचेत छौं । आवश्यकता अनुसार कार्यक्रम र अभियानहरू सञ्चालन गर्छौं ।

पाठ्यक्रम सुधारको कुरा निकालिहाल्नुभयो । आजसम्म अनेरास्ववियुले विश्वविद्यालयको विषय समितिको बैठक किन बसेन, फलानो पाठ्यक्रम समयानुकूल किन बनाइएन भनेर बोलेको एउटा विज्ञप्ति पनि भेटिंदैन नि !

यस्ता धेरै कुरामा हिजो कमजोरी नभएको हैन थियो । तर, अबका दिनमा त्यस्तो हुनुहुँदैन । हामीले पाठ्यक्रम कस्तो बनाए, पाठ्यक्रम हाम्रो देशको संविधानसँग मिल्दोजुल्दो छ/छैन भन्ने कुरामा चासो दिनुपर्छ । सँगसँगै हामीले एउटा विद्यार्थी संगठनको तर्फबाट पाठ्यक्रम बनाउने बेलामा कसैको ‘इन्ट्रेष्ट’ छ/छैन भनेर हेर्नुपर्छ । हाम्रो त्यो दायित्व पनि हो ।

अनेरास्ववियुले अरू के–के काम गर्दैछ ? कार्यकाल सफल पार्ने योजना के छन् ?

हामीले अखिललाई पनि मोडर्न र डिजिटल अखिल बनाउँदै छौं । ‘कनेक्ट एनएनएफएसयू’ भन्ने एउटा एप बन्दैछ । भर्खरै आजै मात्र मैले कन्ट्रयाक्ट साइन गरेर आएको छु । तीन महिनामा यो सार्वजनिक हुन्छ । ६ महिनामा हाम्रा हरेक विद्यार्थी र सदस्यसँग त्यो एप हुन्छ । त्यो एपबाट हामीले कहाँ–कहाँ के भइरहेछ सबै जानकारी दिन्छौं । त्यही एपबाट सदस्यता पनि प्राप्त गर्न सकिन्छ । यसले शिक्षामा पहुँच मात्र हैन सर्वसुलभ रूपमा शिक्षा कसरी ग्रहण गर्न सकिन्छ— जस्तै: नौ कक्षाको एउटा छात्र अथवा छात्रा तीन महिना स्कूल जान पाएन भने ऊ वञ्चित नहोस् भनेर हामीले त्यो एपको डिजिटल माध्यमबाट पढाउँछौं । यसरी डिजिटल्ली होस् या भौतिक रूपमा होस् हामीले माथि चर्चा गरे जस्तो सबै खाले अराजकता र आक्रमणहरूलाई परास्त गर्न सक्छौं जस्तो लाग्छ ।

त्यसबाहेक हामी सधैं हाम्रा विद्यार्थीसँग हुन्छौं । उनीहरूको समस्यामा सँगै बसेर मल्हम लगाउँछौं । शिक्षा भनेको पूर्वाधार मात्र हो र ? अहिले यो शिक्षा विधेयकमा जे भइरहेछ, अस्थायीलाई स्थायी गराउने नाममा जुन किसिमको एउटा गुणस्तरहीन सम्झौता हुँदैछ, यो ठिक भइरहेको छैन । जसले त्यस्तो चाहिरहेको छ, होसियार रहनको लागि पनि म अनुरोध गर्न चाहन्छु । किनभने २०औं वर्षसम्म शिक्षालयमा पढाएका शिक्षकहरू अपडेटेड हुनुपर्छ कि पर्दैन ? परीक्षा दिनबाट चाहिं डराउने ? उनीहरूको कारण एउटा गुणस्तरीय शिक्षक चाहिं वञ्चित हुनुपर्ने ? त्यसैले यसमा खुला प्रतिस्पर्धा हुनुपर्छ । तर, फेरि यसको नाममा हामीले २०औं वर्षसम्म योगदान दिएका शिक्षकलाई सम्मान नगर्ने भनेको हैन । उहाँहरूलाई सम्मानस्वरुप एउटा पर्सेन्टेज दिने (२०–२५ प्रतिशत) कति हुन्छ । त्यो सम्मान स्वरुप दिएको हो । तर, यस बाहेकमा खुला प्रतिस्पर्धा हुनुपर्छ । यी र यस्ता विषयमा बलियो भएर विद्यार्थीको हितमा उभिनु नै मेरो कार्यकालको मूल उद्देश्य हो । यसमै केन्द्रित हुन्छु ।

सँगसँगै तपाईंलाई एउटा चुनौती देख्छु के ! तपाईंकै पार्टीका उपाध्यक्ष विष्णु पौडेलले पहिला पहिला सिठी फुक्दै कार्यकर्ता सडकमा झर्छन्, अहिले त्यो देखिंदैन भन्ने चिन्ता देखाउनुभएको थियो । यो तरिकाले अब ‘सिठी फुक्दा कार्यकर्ता झर्ने’ अवस्था बनाउन सकिएला त ?

उहाँले त्यसरी भन्न खोज्नुभएको होइन जस्तो लाग्छ । पहिलाभन्दा कार्यकर्ताको सक्रियता अलिकति घटेको हो कि भन्ने उहाँको बुझाइ हो भने त्यो बुझाइलाई गलत भन्नुहुँदैन । तर, अहिलेको समयमा कार्यकर्ता भौतिक रूपमा भन्दा पनि वैचारिक रूपमा एकीकृत हुनुपर्छ भन्ने मलाई लाग्छ । त्यसरी आकर्षण पैदा गर्न सकियो भने त सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आउँदा खेरि सिठी फुक्नै पर्दैन नि ! आउँदै हुनुहुन्छ भन्ने थाहा पायो भने मानिस पुगिहाल्छन् ।

अन्त्यमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएसँगै एमाले वा त्यसका संघ–संगठनमा कित्ताकाट शुरू भएको छ । तपाईं चाहिं कुन कित्ताको पर्नुभयो ? कि छुट्याउन भ्याउनुभएको छैन ?

हामी ‘जनताको बहुदलीय जनवाद’ कित्ताको हो । समृद्ध नेपाल सुखी नेपाली भनेर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भनिराख्नु भा’छ, हामी सबै जना यही कित्ताको हो । पूर्वराष्ट्रपति सम्माननीय विद्या भण्डारी पनि यही कित्ताको हुनुहुन्छ ।

पछिल्लो समय पुनरुत्थानवादी र प्रतिक्रियावादीहरू सल्बलाइरहेका छन् । नेकपा एमालेलाई भजाएर केही गर्न सकिन्छ कि भन्ने एक किसिमको बुर्जुवा सोच भएकाहरू अहिले पनि सल्बलाइरहेका छन् । तर, हामी सधैं पार्टी हितको पक्ष र अहितको विपक्षमा हुन्छौं ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?