
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको अनेरास्ववियु नेतृत्वमा युवा चिकित्सक र इन्जिनियरहरू पुगेका छन् ।
- निर्वाचनमा डाक्टर र इन्जिनियर उम्मेदवारहरूले जित हासिल गरे।
३० जेठ, काठमाडौं । युवा आकर्षण बढाउनुपर्ने दबाबमा रहेको नेकपा एमालेका नेताहरूले अनेरास्ववियुको नेतृत्वमा युवा चिकित्सक ल्याउने निष्कर्ष निकालेका थिए ।
पार्टीको मूल नेतृत्वकै यस्तो चाहना हुँदा अध्यक्ष मण्डलका तर्फबाट बन्दसत्र हलमा डा. सुजन कडरियालाई अध्यक्ष प्रस्ताव गरिएको थियो । जबकि राजनीतिक पृष्ठभूमि हेर्दा कडरिया भन्दा लामो योगदान र जनमत भएका अरू प्रतिस्पर्धी थिए ।
त्यसैले अध्यक्ष मण्डलको प्रस्ताव अगाडि बढ्न सकेन । कडरिया र प्रकाश पौडेलबीच अध्यक्ष पदमा प्रतिस्पर्धा भयो । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत पार्टीको संस्थापन पक्षको समर्थन पाएकाले चुनावमा पनि कडरियाले नै जिते । अध्यक्ष जितेपछि कडरियाले पार्टीका तर्फबाट प्राप्त साथ र सहयोगप्रति कृतज्ञता जनाएका छन् ।
अर्थात् अनेरास्ववियुको नेतृत्वमा चिकित्सा शास्त्र पढेका व्यक्ति ल्याउने एमाले नेताहरूको चाहना पूरा भएको छ । तर यो चुनावमा अध्यक्ष पद बाहेक अरू पदमा पनि डाक्टर र इन्जिनियर पढेका थुप्रै उम्मेदवार थिए ।
ती मध्ये कतिपयले जिते भने कतिले हो । ५ जना त डाक्टर यो चुनावमा उम्मेदवार थिए । डा.आनन्दकुमार सिंहले सचिव पदमा प्रतिस्पर्धा गरेका थिए । तर जित्न सकेनन् ।
खुला सचिवालय सदस्यमा डा. पुष्पराज भामले जितेका छन् । विश्वविद्यालय राष्ट्रिय कमिटीबाट डा. प्रविन भुसालले केन्द्रीय सदस्य जितेका छन् । तर लेखा आयोगका उपाध्यक्षमा डा. सनराज थारू पराजित भए ।
डाक्टरहरू भन्दा धेरै अनेरास्ववियुको चुनावमा इन्जिनियरहरू थिए । तीन प्रतिस्पर्धीलाई पछि पार्दै इन्जिनियर विकास श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका छन् । ९ सदस्यीय पदाधिकारीमा अर्का एक जना पनि इन्जिनियर निर्वाचित भएका छन् । दोस्रो धेरै मत ल्याएर सचिव निर्वाचित रचना सापकोटा इन्जिनियर हुन् । अर्का सचिव आकाश घर्ती स्वास्थ्यकर्मी हुन् ।
सचिवालय सदस्यहरूमा पनि उल्लेख्य संख्यामा इन्जिनियरहरू निर्वाचित भएका छन् । बागमती खुलाबाट नविन्द्र चालिसे, गण्डकी खुलाबाट किशोरचन्द्र सुवेदी र सुदूरपश्चिम खुलाबाट रोशनबहादुर साउद निर्वाचित भए । तीनै जना इन्जिनियनर हुन् । विश्वविद्यालय राष्ट्रिय कमिटीबाट सचिवालय सदस्यमा निर्वाचित विशाल आचार्य र रोशन भट्टराई दुवै इन्जिनियर हुन् । आचार्य र भट्टराईसँग पराजित भएका नवीन निरौला र कमल यादव पनि इन्जिनियर हुन् ।
मुस्लिम अल्पसंख्यकबाट सचिवालय सदस्यमा इन्जिनियर अफ्जल मियाँले प्रतिस्पर्धा गरेका थिए । तर उनी पराजित भए ।
खुला क्षेत्रबाट सचिवालय सदस्यमा इन्जिनियर नितेश लामिछानेले जितेका छन् । तर इन्जिनियरहरू सुवास सुवेदी र पदमबहादुर खड्काले जित्न सकेनन् । सचिवालयको तर्फबाट इन्जिनियर दीपिका पाण्डेयले प्रतिस्पर्धा गरेकी थिइन् । उनले पनि जित्न चाहिँ सकिनन् ।
केन्द्रीय सदस्यहरूमा बागमती खुलाबाट इन्जिनियर सुदीन अधिकारीले जितेका छन् । उपत्यका विशेष खुलाबाट एक मतले पछि पर्दै इन्जिनियर निरज खड्का पराजित भए । कर्णाली खुलाबाट इन्जिनियर लोकेश मल्ल दुई मतले पराजित भए ।
विश्वविद्यालय राष्ट्रिय कमिटीबाट इन्जिनियर सचिन श्रेष्ठले प्रतिस्पर्धीहरू मध्ये सर्वाधिक धेरै मत ल्याएर जित्दा इन्जिनियरहरू आवरण आचार्य, शरद पाण्डे, बालकृष्ण घिमिरे, विश्वास लम्साल, विमल थापा र मनिष सिलवाल पराजित भए ।
सम्पर्क तथा विद्यार्थी समन्वयतर्फबाट उम्मेदवार रहेका इन्जिनियर रमेश दाहालले जित्न सकेनन् ।
पिछडिएको क्षेत्रको खुला तर्फ इन्जिनियर प्रेमबहादुर लामाले जिते । निर्वाचन आयोगमा इन्जिनियर आकाश खत्री सदस्य निर्वाचित भएका छन् ।
नीति तथा योजना तथा अनुसन्धान आयोगको अध्यक्ष पदमा तीन प्रतिस्पर्धी मध्ये दुई जना त इन्जिनियर थिए । तर इन्जिनियरहरू धर्मशिला रोकाया र विराज अर्याललाई हराउँदै प्रकाश बिष्टले अध्यक्ष जिते ।
यो आयोगका सदस्य निर्वाचित अनिस पोखरेल र लोकेन्द्रबहादुर बिष्ट इन्जिनियर हुन् ।
प्रतिक्रिया 4