
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशका किसानहरूलाई असार महिनामा वर्षा नहुँदा र सिँचाइ अभावले धान रोप्न समस्या भएको छ।
- मधेश प्रदेश सरकारले वातावरणीय असन्तुलनका कारण सुक्खाग्रस्त क्षेत्र घोषणा गरी किसानका लागि विशेष राहत प्याकेज र खानेपानी संकट समाधानको लागि संघीय सरकारसँग सहयोग मागेको छ।
- कृषि विकास निर्देशनालयका अनुसार मधेशमा अहिलेसम्म ३३.७८ प्रतिशत मात्र धान रोपाइँ भएको छ र खानेपानी स्रोतहरू धमाधम सुकिरहेका छन्।
२७ असार, जनकपुरधाम । असार सकिनै लाग्यो, तर महोत्तरी लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा टोलका रामएकवाल ठाकुरले धान रोप्न पाएका छैनन् । पानी परेको भए यतिबेलासम्म उनको चार बिघा खेतमा लहलह धान भइसक्थ्यो ।
तर, समयमा वर्षा नहुँदा खेत बाँझै छ । रोपाइँका लागि तयार पारेको धानको बिउ आधा डढेर नष्ट भइसकेको छ । बिउ सुकेपछि रामएकवाललाई चिन्ता थपिएको छ ।
‘यति बेलासम्म त धानको बिउ सरिसक्थ्यो । तर यसपालि वर्षा नभएर अहिलेसम्म खेत बाँझै छ,’ खेत देखाउँदै उनले भने , ‘सिंचाइ छैन, बिउ सुक्न थाल्यो । अब रोप्ने ? हाम्रो परिवारले के खान्छ ?’
पानी अभावले रामएकवाललाई खेत मात्र होइन, घरले पनि पिरोलिरहेको छ । यसपालि नै उनको घरको चापाकल समेत सुक्यो । छिमेकीको घरबाट पानी मागेर ल्याउनुपर्ने अवस्था आएको उनले सुनाए ।
‘पहिलो पटक घरको चापाकल सुक्यो । छिमेकीबाट पानी ल्याएर पिउनुपरेको छ । खेत त बाँझै भयो,’ उनले थपे ।

यस्तै समस्या महोत्तरीकै पिपरा गाउँपालिका रतौली टोलका भोला मण्डललाई छ । डेढ बिघा खेतका धनी मण्डलले यसपालि असार सकिँदासम्म रोपाइँ गर्न सकेनन् । पहिले छेउमै बग्ने नहरबाट सिँचाइ गरेर खेती हुन्थ्यो । तर त्यो नहर केही महिनादेखि सुकेको छ ।
‘नहरबाटै पानी लगाएर खेती हुन्थ्यो । केही महिनाअघि नहर सुक्यो । पानी पनि परेन । सबै किसानको हालत यस्तै छ,’ उनले सुनाए ।
रामएकवाल र भोलाको पीडा मधेशका हजारौँ किसानको साझा हो । मनसुन सुरु भइसके पनि वर्षा नहुनु र सिँचाइको व्यवस्था नहुँदा मधेश प्रदेशका ८ वटै जिल्लाका किसानको खेत बाँझै छ ।

कृषि विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार अहिलेसम्म मधेशमा जम्मा ३३.७८ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मधेश प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रमा धान खेती गरिन्छ । यो वर्ष हालसम्म जम्मा १ लाख २५ हजार ८८८ हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
सबभन्दा बढी पर्सामा ७३.३४ प्रतिशत रोपाइँ भएको छ भने सबभन्दा कम सप्तरीमा १६ प्रतिशत मात्र रोपाइँ भएको छ । निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीका अनुसार रौतहटमा ४५ प्रतिशत, बारा र सर्लाहीमा ४०–४० प्रतिशत, सिरहामा २९ प्रतिशत, धनुषामा २५ प्रतिशत र महोत्तरीमा १८ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

रोपेको धान पनि लामो समयदेखि पानी नपर्दा सुक्न थालेको छ । खेतमा धाँजा फाट्न थालेको छ ।
एकातिर पानी नपरेर धान रोपाइँ हुन सकेको छैन भने अर्कोतिर खानेपानीका मुहान समेत सुक्न थालेपछि पानीको हाहाकार छ । चापाकल र इनार सुकेपछि छिमेकीको बोरिङबाट पानी खानुपरेको धनुषा बटेश्वर गाउँपालिका–२ का तेजनारायण महतोले बताए ।
‘इनार सुक्यो । मोटर चल्नै छाड्यो । अब छिमेकीको बोरिङबाट पानी खानुको विकल्प छैन,’ उनले भने । उत्तरी क्षेत्रमा खानेपानी स्रोतको रुपमा रहेका इनारहरू धमाधम सुकिरहेका छन् ।
सिरहाको धनगढीमाई नगरपालिका–१३ की लक्ष्मीनियादेवी रामलाई पनि अचेल खानेपानीकै चिन्ताले सताइरहन्छ । करिब १५० घरको वस्तीमा दुईवटा बोरिङ छ । केहीसमय अघिसम्म पाइपमार्फत घरसम्मै पानी जान्थ्यो । अब त्यो पनि बन्द भइसकेको छ । बोरिङ सुक्ने अवस्थामा पुगेर मोटरबाट थोरथोरै पानी आउन थालेपछि लक्ष्मीनिया देवीलाई लाममा लागेर पानी थाप्नुपर्छ ।
‘बोरिङमा थोरै पानी आउँछ । लाइन बसेर पालो कुर्नुपर्छ । तर पनि पर्याप्त पानी पाउन गाह्रो छ,’ उनले गुनासो गरिन् ।
लक्ष्मीनिया देवी जस्तै दलित वस्तीका सबै परिवारको समस्या उस्तै छ । नेताहरूले चुनावमा अनेक आश्वासन दिने तर जितेर गएपछि फर्केर नआउने स्थानीयको गुनासो छ ।
मधेशमा पर्सा, बारा, रौतहट, सिरहा, धनुषा लगायतका जिल्लाको धेरै स्थानमा खानेपानीको समस्या छ ।
वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार छ । पर्यापत सिंचाइको सुविधा छैन । सिंचाइको लागि बोरिङ, इनार भएका कतिपय ठाउँमा विद्युतीकरण छैन ।

तर, मधेश सरकारले चालु आर्थिक वर्षमा कृषि विद्युतीकरणको लागि विनियोजन गरेको ४८ करोड रुपैयाँ कार्यान्वयन नभई फ्रिज भएको छ । सिंचाइभन्दा भौतिक पूर्वाधार क्षेत्रमा धेरै बजेट लगानी गर्ने सरकारको प्रवृत्ति छ ।
सन्तोषजनक रोपाइँ नभएको, रोपाइँ भइसकेको बालीनाली समेत सुक्न थालेको र पानीको हाहाकार भएपछि मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मधेश सकारको बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मधेश सरकारले प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
खानेपानीको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत–साधन परिचालन गर्ने निर्णय समेत मधेश सरकारले गरेको छ । सरकारले खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्यांकर सहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया 4