
२८ असार, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद चुलिएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले छुट्टै भेला गरेको छ । पार्टीका महामन्त्री शवलशम्शेर राणाको नेतृत्वमा छुट्टै भेला बसेको हो । भेला राणाकै नक्सालस्थित सचिवालयमा बसेको हो ।
उनीहरुले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रुपमा संगठन चलाएको आरोप लगाएका छन् ।
राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम-कारबाही प्रक्रिया संगत नभएको भन्दै निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेको स्रोतको भनाइ छ ।
केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए ।
यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ । राप्रपाको विधानअनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर हटाउनु पर्ने व्यवस्था छ । त्यसैले यो अवैधानिक भएको इतर समूहको आरोप छ ।
छुट्टै भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष: डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्ष: मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्सेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता, सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्री: ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत ५० जनाको सहभागिता रहेको छ ।
प्रतिक्रिया 4