
२८ असार, बाजुरा । बाजुराको चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका मन्दिर पुन:निर्माण गरिएको छ । पुरानो जीर्ण मन्दिरको संरचना भत्काएर नेपाली सेनाले मन्दिर पुन:निर्माणको काम सिध्याएको हो ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार झन्डै २ करोडको लागतमा मन्दिर निर्माण सकिएको हो । सेनाले २०८२ चैत २८ गते मन्दिर पुन:निर्माणको काम सुरु गरेको थियो ।
मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार २०५० सालदेखि नै मन्दिर पुन:निर्माणका लागि पहल भएको थियो । तर, काम भने हुनसकेको थिएन ।
पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल भए पनि निर्माण गर्न सकेको थिएन । ठेक्का भइसक्दा पनि काम हुन नसकेको पुजारी पाध्याय बताउँछन् ।
प्राचीन स्मारक ऐन, २०१३ अनुसार मन्दिर निर्माण गरिएको हो । करिब ४ हजार २२० मिटरको उचाइमा रहेको मन्दिर निर्माण गर्न भौगोलिक विकटता, प्रतिकूल मौसमका बीचमा सेनाको सक्रियताले २ महिनामै मन्दिर निर्माण भएको प्रवक्ता बस्नेतले बताएका छन् ।
सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन पनि गरेको थियो, तर सामान ढुवानी र प्रतिकूल मौसमले निर्माण हुनसकेको थिएन । यो पटक भने सेनाको सक्रियतामा निर्माण गरेको पुजारी पाध्यायले बताए ।
पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याड समेत निर्माण गरिएको छ । सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकोप्टर मार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण गरेको हो । केही सामान भने बडिमालिका नगरपालिका ५ मनाबाट बोकेर लगेको थियो ।
सेनाले धार्मिक ऐतिहासिक पुरातात्विक क्षेत्रको संरक्षण अन्तर्गत मन्दिर निर्माण गरेको हो । मन्दिर निर्माणमा काठ, ढुङ्गा र माटो प्रयोग भएको छ । काठमा तराईको सालको काठ प्रयोग भएको पुजारीले बताएका छन् ।
बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला तथा मुख्य पूजा हुने गर्दछ । विगतका वर्ष भन्दा अहिले धेरै आन्तरिक पर्यटकले दर्शन तथा बडिमालिका क्षेत्रको भ्रमण गरेका छन् । बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नेपालका चार धार्मिक धाममध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ ।
बडिमालिका पुुगेका स्थानीय शेरबहादुर रावत पुन:निर्माणपछि स्वर्गजस्तै देखिएको भन्दै खुशी व्यक्त गरे ।
बडिमालिकामा जेठमा पर्ने गंगा दशहराका दिनमा सरकारी पूजा हुने गरेको छ । त्यो दिन हेलिकोप्टर मार्फत गएर पूजा गर्ने गरिएको छ । यहाँ मेला भने जनैपूर्णिमाको दिनमा लाग्ने गरेको छ । जनैपूर्णिमाको दिनमा स्वदेश र भारतबाट दर्शनार्थी आउने गरेका छन् । अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गरिन्छ ।
बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने भएकाले देश बाहिरबाट समेत दर्शनार्थी मेला भर्न आउने गरेको कैलाशमाण्डौका दीर्घराज जोशीले बताएका छन् ।
प्रतिक्रिया 4