+
+
Shares

मानिसकै छालाजस्तो मोबाइल फोन कभर, घामले डढ्नबाट जोगाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ७:०७

पछिल्लो समय मोबाइल फोनको एउटा अचम्मको खोल चर्चामा छ। यो मोबाइल फोन कभर देख्नमा मात्र होइन छुँदा पनि ठ्याक्कै मानिसकै छालाजस्तो लाग्छ।

जब यसलाई तपाईंले हातमा लिनुहुन्छ, यो नितान्त हाम्रै छालाजस्तो महसुस हुन्छ। तथापि यो मानव छाला  होइन, एक कृत्रिम वस्तु हो र  सिलिकनबाट बनेको हो।

यो मोबाइल कभरलाई धेरै समय घाममा राख्नु पनि हुँदैन । किनकि जसरी हाम्रो छाला घामले डढ्छ, त्यसैगरी यो मोबाइल कभरमा पनि सनबर्न हुन्छ।

यो फोन कभरले तपाईंलाई घामबाट बच्नको लागि कतिबेला सुरक्षाका उपाय अपनाउने तथा कतिबेला  सनस्क्रिन लगाउने भन्ने कुरा बताइदिन्छ ।  अहिले युरोप र अमेरिकामा अत्यधिक गर्मी मौसम रहेकोले यो मोबाइल फोनको खोल निकै चर्चा मा आएको छ।

सनस्क्रिन लगाउने ताकेता

न्यूयोर्क पोस्टका अनुसार, अनुसन्धानकर्ता मार्क टेसियरले एक कम्पनीसँग मिलेर यो विशेष फोन कभर बनाएका हुन्। मोबाइल फोनको यो खोल जब सूर्यको परावैजनी किरणसँग सम्पर्कमा आउँछ, तब यसले मानिसको छालाले जस्तो प्रतिक्रिया गर्छ र छाला डढेजस्तो (सनबर्न) हुन थाल्छ । यो फोन कभरमा सूर्यको किरण पर्दा हाम्रो शरीरमा घामले गरेजस्तै असर गर्दछ ।

मार्क टेसियरले यो फोन कभर आविष्कार गर्नुका पछाडि एउटा खास कारण छ । धेरै मानिसहरुले उच्च घाममा बस्दा तथा हिँड्दाको बेलामा फोन चलाउँदा सनस्क्रिन लगाउन भुल्ने गरेको एक अध्ययनले देखाएपछि टेसियरको मनमा यस्तो खालको फोनको खोल बनाउने सोंच आएको हो । जब सिधा घाममा पर्दा यो फोनको कभर सर्नबर्न हुन थाल्छ यसले प्रयोगकर्तालाई आफ्नो छालामा सनस्क्रिन लगाउने कुराको याद दिलाउँछ ।

छालाको स्याहारको लागि सचेतना

टेसियरले भनेका छन् : मेरो उद्देश्य डिजिटल जीवन र शारीरिक स्वास्थ्य बीचको अन्तरलाई कम गर्नु हो। यो फोन कभर यो कार्यका लागि एउटा उत्कृष्ट उदाहरण हो । यसले मानिसलाई आफ्नो छालाको हेरचाहमा सचेत गराउँछ र उनीहरूलाई सही कदम चाल्नको लागि प्रेरित गर्छ।

कृत्रिम छाला

यो फोन कभर मानिसकै छालाजस्तो देखिने भएपनि यो पूर्ण रूपमा कृत्रिम छ। टेसियरले सिलिकन र परावैजनी किरणलाई रोक्ने तत्वहरूको मिश्रण गरेर यो छालाजस्तो पदार्थ तयार पारेका छन् । यसमा थ्री डी प्रिन्टिंग र हस्तनिर्मित प्रविधिको उपयोग गरेर वास्तविक छालामा जस्तै चाउरीहरु समेत निकालिएको छ ।

बिदाको बेला उपयोगी

यस फोन कभर बनाउने कम्पनीका क्रिस हिन्डेनाच भन्छन् : अहिले मोबाइल फोन हाम्रो दैनिक जीवनको एक अनिवार्य हिस्सा बनेको छ। अझ विशेष गरी छुट्टिमा कतै खुल्ला स्थानमा जाँदा वा घुमफिर गर्न जाँदा फोनसँगको हाम्रो सामिप्य झनै बढ्छ।  यो कभरले हामीलाई घामको असर कति गम्भीर हुन सक्छ भनेर देखाउँछ र हामीलाई घामबाट बँच्नका लागि सचेतना पनि फैलाउँछ ।

यो फोन कभर तीनवटा विभिन्न छालाका रंगहरूमा उपलब्ध छ। यसले परावैजनी किरणसँग प्रतिक्रिया गर्दा आफ्नो रंग परिवर्तन गर्छ र नितान्त वास्तविक छालाजस्तो देखिन्छ।

स्मरण रहोस्, यो फोन कभरका आविष्कारक टेसियर यसअघि पनि यस्ता कृत्रिम छालाहरू बनाइसकेका छन्। सन् २०१९ मा उनले एक कृत्रिम छाला बनाएका थिए जसलाई मोबाइल फोनमा टाँस्न सकिन्थ्यो र ठ्याक्कै मानिसले छोएजस्तै महसुस गर्न सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?