News Summary
Generated by OK AI. Editorially reviewed.- छालाका चार प्रकारहरू: सुख्खा, तैलीय, मिश्रित र संवेदनशील हुन्।
- प्रत्येक प्रकारको छालाको हेरचाह फरक हुन्छ र सही उत्पादन प्रयोग आवश्यक छ।
- सही हेरचाहले छालाको स्वास्थ्य र प्राकृतिक सौन्दर्य कायम राख्न मद्दत गर्दछ।
हरेक छाला फरक हुन्छ र यसको सुन्दरता कायम राख्न फरक–फरक हेरचाहको उपाय अपनाउनुपर्ने हुन्छ । त्यसैले यो गर्मी मौसममा छालाको उचित हेरचाह गर्नका लागि आफ्नो छालाको प्रकार जान्न महत्त्वपूर्ण हुन्छ । आफ्नो छालाको प्रकार बुझ्नु भनेको छाला हेरचाहका लागि आवश्यक पहिलो कदम हो ।
मुख्यतया छाला ४ प्रकार हुन्छन् ।
१.सुख्खा छाला
यदि छाला सुख्खा छ भने फुस्रो देखिन्छ । साथै आँखा र मुख वरिपरि मसिना रेखाहरू देखिन्छ । झन् मौसम परिवर्तनले छालालाई डिहाइड्रेटेड र फुस्रो महसुस गराउँछ । अनुहारमा एक प्रकारको अप्ठ्यारो महसुस हुन्छ । विशेषगरी गालाको भाग तथा मुखको वरिपरि सुख्खापन देखापर्छ । अनुहार चिलाउनु सुख्खापनको पहिलो चरण हो ।
२.तैलीय छाला
तैलीय छाला भएकाहरूको छाला चम्किलो र खुला प्वालहरू भएको देखिन्छ । अत्याधिक तेल स्रावको कारण, पिम्पल (डण्डीफाेर) र ब्ल्याकहेड्सको सम्भावना हुनसक्छ । प्रदूषण र वातावरणीय कारकहरूले पिम्पलहरू अझ बढ्न सक्छ र दिनको अन्त्यमा अनुहार निकै चिल्लो देखिन्छ । यस प्रकारको छालामा तेलको उत्पादन धेरै हुन्छ । जसले गर्दा छालामा बढी चिपचिप र तैलीयपन देखिन्छ ।
३.मिश्रित छाला
जसको छालामा तैलीय र सुक्खा दुवै प्रकारका गुण र दोष समावेश हुन्छन्, त्यसलाई मिश्रित छाला भनिन्छ । यस्ता व्यक्तिको ‘टी–जोन’ नाक वरपर तैलीय हुन्छ र बाँकी क्षेत्र सुक्खा हुन्छ । यदि निधार र नाकको वरपर तैलीयपन अनुभव हुन्छ भने, त्यो छालाको प्रकार मिश्रित हो ।
४.संवेदनशील छाला
संवेदनशील छाला भएका व्यक्तिले आफ्नो छाला हेरचाहको बारेमा धेरै सचेत हुनुपर्छ । यदि संवेदनशील छालाको हेरचाह गरिएन भने यसले छालामा जलन, रातोपन, चिलाउने र अन्य धेरै समस्या निम्त्याउन सक्छ ।
कुन प्रकारको छालाको कसरी हेरचाह गर्ने ?
आफ्नो छालाको प्रकार पहिचान गरेपछि सही छाला हेरचाह छनोट गर्नाले स्वस्थ छाला कायम राख्न र प्राकृतिक सौन्दर्य पुनर्स्थापित गर्न सजिलो हुन्छ । आफ्नो छालाको प्रकार अनुसार उपयुक्त छाला हेरचाह दिनचर्या छनोट गर्नुपर्छ ।
सुख्खाको छाला हेरचाह
सुख्खा छालालाई पर्याप्त ओसिलोपन चाहिन्छ । त्यसैले सुक्खा छालाको नमी कायम राख्न बारम्बार मोइस्चराइजर प्रयोग गर्नुका साथै घामबाट जोगाउन सनस्क्रिन लगाउनु पनि महत्त्वपूर्ण हुन्छ ।
छाला धेरै सुख्खा छ भने समयभन्दा पहिले नै बुढो देखिने सम्भावना बढी हुन्छ । चाउरीपना सजिलै विकास हुन्छ । यी कारणहरूले गर्दा, सुख्खा छालामा हाइड्रेटिङ फेसवास, स्क्रब जस्ता मसिना दानाहरू सहितको कोमल एक्सफोलिएशन प्रयोग गर्नुपर्छ र सकेसम्म पूर्णरूपमा हर्बल रसायनरहित उत्पादनहरू प्रयोग गर्नुपर्छ ।
छालामा ओसिलोपनको स्तर कायम राख्न रातमा हाइड्रेटिङ मोइस्चराइजर र सीरम प्रयोग गर्न बिर्सनु हुँदैन ।
तैलीय छालाको हेरचाह
चम्किलो तर तैलीय छालालाई अत्याधिक तेल उत्पादनको कारणले विभिन्न समस्या हुन्छ । यसका लागि, कोमल र तेलरहित उत्पादनहरू छनोट गर्नुपर्छ । गहिरो छिद्र सफा गर्न नीम र तुलसी भएको कोमल क्लिन्जर प्रयोग गरेर, गुलाबको फेस मिष्ट/स्किन टोनरले तैलीय छालाका लागि तेल उत्पादन सन्तुलन गर्न उत्तम काम गर्छ।
मिश्रित छालाको हेरचाह
मिश्रित छाला भएकाहरूले टी–जोनका लागि हल्का तेलरहित मोइस्चराइजर र सुक्खा क्षेत्रका लागि थप हाइड्रेटिङ मोइस्चराइजर छनोट गर्नुपर्छ । साथै, घामबाट छालालाई जोगाउन दैनिक सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
मिश्रित छालाको लागि, मौसम अनुसार आफ्नो छालामा परिवर्तनहरू अनुभव हुन्छ जसले गर्दा यो एकै समयमा तैलीय र सुख्खा हुन्छ, जसले गर्दा सही प्रकारको छाला हेरचाह उत्पादनहरू छनौट गर्न गाह्रो हुन्छ । यस्तो छालाको लागि कोमल क्लिन्जर प्रयोग गर्न सुझाव दिइन्छ । हप्तामा दुई पटक छालालाई एक्सफोलिएट गर्नुपर्छ ।
संवेदनशील छालाको हेरचाह
यस प्रकारको छाला भएका व्यक्तिले आफ्नो छाला हेरचाहको बारेमा धेरै सचेत हुनुपर्छ । यदि संवेदनशील छालाको हेरचाह गरिएन भने यसले छालामा जलन, रातोपन, चिलाउने र अन्य धेरै समस्या निम्त्याउन सक्छ । छालाको प्रकारसँग नमिल्ने उत्पादनहरू प्रयोग गर्ने कारणले पनि एलर्जी हुन्छ ।
यस प्रकारको छालाका लागि क्लिन्जिङ, मोस्चराइजर आदि प्रसाधनहरूको सावधानीपूर्वक छनोट गर्नुपर्छ । छालाको आर्द्र्ता कायम राख्न मिनरल रिच मोइस्चराइजर र सनस्क्रिन लगाउनु उपयुक्त हुन्छ ।
स्वस्थ छालाका लागि यी कुराहरू ध्यानमा राख्नुपर्छ
-सन प्रोटेक्न क्रिम प्रयोग गर्न कहिल्यै बिर्सनु हुँदैन । यो छाला हेरचाह दिनचर्याको सबैभन्दा आवश्यक भाग हो र छालालाई सूर्यको हानिकारक किरणहरूबाट बचाउँछ ।
-सुत्नुअघि सधैँ आफ्नो मेकअप हटाउनुपर्छ ।
-राति सिरम प्रयोग गर्नाले छालामा ओसिलोपन कायम राख्न मद्दत गर्छ ।
-सधैँ आफ्नो छालाको प्रकार अनुसार मोइस्चराइजर लगाउने ।
-रसायनयुक्त उत्पादनहरू प्रयोग गर्ने ।
-गर्मीमा छालाको ओसिलोपन घट्ने र सुख्खा हुने समस्याबाट बच्न आफ्नो शरीरलाई हाइड्रेटेड राख्ने ।
प्रतिक्रिया 4