+
+
Shares

सकस सल्टाउन माधवले खोजे वामदेवको साथ

२८ वर्षअघि माधवकुमार नेपाल महासचिव रहेकै बेला पार्टी फुटाएर माले महासचिव बनेका वामदेव त्यस्तो बेलामा उनीसँग मिल्दैछन्, जुन बेला माधवकुमार स्वयं एमाले फुटाएर नेकपा एसका अध्यक्ष बनेका छन् ।

सइन्द्र राई सइन्द्र राई
२०८२ असार ३० गते २२:१०

३० असार, काठमाडौं । वामदेव गौतम कता जालान् भन्ने अपेक्षा, आशंका लम्बिंदै जाँदा यो जिज्ञासाप्रति आकर्षण समेत घट्न थालिसकेको थियो ।

कहिले च्यासलमा केपी ओलीसँग एक्लाएक्लै वार्ता, कहिले कोटेश्वरमा माधवकुमार नेपालसँग लम्बेतान संवादहरुकै सिलसिला टुंग्याउँदै गौतमले राजनीतिक बाटो समाएका छन् ।

यो संयोगकै कुरा हो, कुनै बेला नेपाल एमालेको प्रमुख रहेका बेला उनीसँग विवाद मच्चिएर पार्टी नै विभाजन गरेका गौतम अन्तत: २८ वर्षपछि उनै नेपालले एमालेबाट विभाजन गरेको नेकपा एकीकृत समाजवादीमा समाहित हुन हस्ताक्षर गरेका छन् ।

अनि नेपालचाहिं आफ्नो निरन्तर चुनौतीपूर्ण राजनीतिको सबैभन्दा सकसपूर्ण अवस्था झेलिरहेका बेला गौतमको साथ खोजिरहेका छन् ।

गौतम र एकीकृत समाजवादीका अध्यक्ष नेपालले शुक्रबार (२७ असारमा) संयुक्त वक्तव्य मार्फत पार्टी एकता गर्ने निर्णय सार्वजनिक गरेका छन् । वक्तव्य बमोजिम २ साउनमा राष्ट्रिय सभा गृहमा भव्य समारोह गरी पार्टी एकताको घोषणा हुनेछ ।

एकताका बारेमा थप जानकारी उक्त वक्तव्यमा उल्लेख छैन । नेताहरुका अनुसार पार्टी एकता भनिए पनि गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई एकीकृत समाजवादीमा समाहित गर्न लागिएको हो । र, गौतमले उक्त पार्टीमा तेस्रो वरीयता पाउनेछन् ।

एमाले हुँदै पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल गौतम भन्दा सिनियर नेता भएकाले उनले पाउने वरीयता स्वाभाविक हो । गौतमले पाउने तेस्रो वरीयतामा सहमति पनि धेरै अगाडि टुंगिएको हो ।

‘पार्टी एकता गरौं भनेर कम्तीमा २० पटक वार्ता भयो होला, उत्तिकै पटक सहमति पनि गरियो होला’ एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा भन्छन्, ‘तर केपी ओलीले हामीबीच हुने सहमतिलाई बिथोल्ने काम गरिरहँदा समस्या थियो ।’

तत्कालीन नेकपा विभाजन पछि कतै नलागेर आफ्नै नेतृत्वमा एकता अभियान चलाएका गौतमले पनि एमाले र एकीकृत समाजवादीसँग समानान्तर वार्ता गर्दै आएका थिए । कहिले एमालेतिर समाहित हुने सहमति गर्थे त कहिले एकीकृत समाजवादीसँग ।

गत माघ तेस्रो साता प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग भेटेपछि गौतमले प्रसन्न हुँदै एमालेमा फर्कन नपाए खेतीपाती गरेर बस्ने बताएका थिए । तर ओलीसँग भएको सहमति बमोजिम एमाले बैठकले निर्णय गरेन । ‘सहकार्य मात्रै गर्ने’ निर्णय गरी एमालेले गौतम नेतृत्वको पार्टीसँग एकता नहुने सन्देश सार्वजनिक गरिदियो ।

यसपछि गौतम थप अविश्वासिलो र हाँसोको पात्र बने । ‘जसले छिटो बोलाउँछ, उतै जान्छु’ जस्तो अभिव्यक्तिले उनी झनै हलुका भए । पार्टी एकता गर्ने भनेर पटकपटक सहमति गर्ने, तर फेरि अनेक बहाना बनाएर पछि हट्न थालेपछि एकीकृत समाजवादीले पनि वास्ता गर्न छोडेको थियो ।

अहिले दुवैतर्फका पार्टीपंक्तिलाई झुक्याउनेगरी पार्टी एकताको निर्णय सार्वजनिक भएको छ । गौतम नेतृत्वको एकता अभियानका महासचिव डीबी कार्की यसपटकको निर्णयबाट पछि नहट्ने बताउँछन् ।

‘यसपटकको सहमतिबाट चाहिं हामी पछि हट्दैनौं । दुई जना अध्यक्षले हस्ताक्षर गरिसक्नुभयो, अब जो पछि हट्छ ऊ गलत ठहर्छ’ कार्की भन्छन्, ‘दुई अध्यक्ष उभिएकाले पनि यस पटकको सहमतिलाई विश्वास गर्नुपर्छ ।’

उनका अनुसार एकताका अरु एजेण्डामा भने केही निर्णय भएको छैन । ‘हामीले १ गते (साउन) बैठक बोलाएका छौं । त्यही बैठकले कसरी मिल्ने भन्ने निर्णय हुन्छ । तर अब धेरै कुरा त उतै गएपछि होला’, उनी भन्छन् ।

अर्थात् यसअघि गौतमले लिएका सार्वजनिक अडानबारे कुनै सहमति जुटेकै छैन । एकीकृत समाजवादीसँग एकताको सहमति गर्दा यसअघि गौतमले जनताको बहुदलीय जनवाद (जबज) छोड्न नहुने लगायत कतिपय सैद्धान्तिक एवं संगठनात्मक अडान राखेका थिए । ती कुनै पनि शर्तहरु माथि छलफल र सहमति जुटेको छैन ।

स्वार्थ मिल्दा एकता

दुवैतर्फका नेताहरुका अनुसार यसपटकको एकतामा गौतमको वरीयता र अरु नेताहरुको समायोजनबारे भद्र सहमति जुटेको छ । गौतम तेस्रो वरीयताको वरिष्ठ नेता बन्दा डीबी कार्की, तुलसा गौतम, लोकनाथ धमला, रामप्रसाद न्यौपानेहरु तहअनुसार समायोजन हुनेछन् ।

‘पोलिट्ब्यूरो मुनिका कमिटी, विभाग र जनसंगठनहरुमा तह अनुसार समायोजन हुन्छ । सहमति त्यही हो’ एकीकृत समाजवादीका उपाध्यक्ष खतिवडा भन्छन् । अर्थात् गौतम नेतृत्वको अभियानमा रहेका नेताहरुबारे कुनै ठोस सहमति जुटेको छैन ।

सहमति जुटेको भनेको ‘एकता गर्ने’ निर्णय मात्र हो । स्रोतका अनुसार दुवै तर्फका उच्च तहका नेताहरुले समेत भेउ नपाउनेगरी एकताको निर्णय गराउने भूमिका बलराम बाँस्कोटाले खेलेका थिए ।

गौतम निकट मानिने बाँस्कोटा एमाले विभाजनपछि एकीकृत समाजवादीमा छन् । उनै बाँस्कोटाले यो एकताको निर्णयमा माधवकुमार नेपाल र वामदेव गौतमलाई तयार पारेका हुन् ।

‘पार्टीभित्र माधवकुमार नेपाल अप्ठ्यारोमा हुनुहुन्छ । झलनाथ खनाल र घनश्याम भूसालले साथ दिइरहनुभएको छैन’ स्रोत भन्छ, ‘यही कुरा भनेर माधवकुमार र वामदेवलाई मनाउने काम बलरामजीले गर्नुभयो ।’

वामदेवलाई पार्टीभित्र ल्याउँदा अन्तरसंघर्षमा साथ मिल्ने कुरामा माधवकुमार नेपाल पनि सहमत भएको उनी बताउँछन् । ‘अध्यक्षलाई हटाउनुपर्छ भन्ने मनसायमा झलनाथ र घनश्याम देखिनुहुन्छ । कम्तीमा वामदेवले अप्ठ्यारो परेका बेला साथ दिने अवस्था बन्छ’ उनी भन्छन्, ‘वामदेव गौतम पनि बाहिर बसेर बद्नाम हुनु भन्दा भित्रै बसेर काम गर्ने अवसर मिल्छ भन्ने तर्कले काम गर्‍यो ।’

एकताको निर्णयमा भूमिका खेलेर बाँस्कोटा भने चीन भ्रमणमा निस्किएका छन् ।

घटनाक्रमले पनि पार्टीभित्र अप्ठ्यारोमा परेका माधवले साथको खोजीमा वामदेव भित्र्याउन लागेको अनुमान गर्न सकिन्छ । एकताको निर्णय भइरहँदा पूर्वप्रधानमन्त्री खनाल र महासचिव घनश्याम भूसाल अनुपस्थित थिए ।

माधव निकट एक नेता खनाल चीन भ्रमणमा रहेको, र भूसालको अनुपस्थितिबारे जानकारी हुन नसकेको बताउँछन् । ‘खबर भएको मध्ये छुटेको मान्छे उहाँ (घनश्याम भूसाल) मात्र हो, तर यसबारे थप बुझिएको छैन, झलनाथ खनाल त देश बाहिर हुनुहुन्थ्यो’, उनी भन्छन् ।

अरू तथ्यले पनि माधवकुमार र वामदेवको स्वार्थ मिल्दा हठात् एकताको निर्णय सार्वजनिक भएको देखिन्छ । मुख्य कुरा त पतञ्जलि जग्गा प्रकरणमा जोडिएका माधवकुमार नेपालकै चाहनाले काम गरेको छ ।

सम्मानित नेता खनाल र महासचिव भूसालको सकारात्मक संकेत नपाउनु, पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टी पुनर्गठनको एजेण्डा सार्वजनिक गर्नु, अनि झाँक्रीलाई पार्टी निष्कासनको निर्णय हुन नसक्नुले माधवकुमार नेपाललाई अरु नेताको साथ आवश्यक परेको देखिन्छ । यसमा वामदेव नै उपयुक्त पात्र थिए ।

गौतमले पनि आफ्नो संकट लुकाएका थिएनन् । तत्कालीन नेकपालाई फेरि एकताबद्ध बनाउने उद्देश्य लिएका गौतम लगातार एक्लिंदै र प्रभावहीन बन्दै गएका थिए । राष्ट्रपतिको कोटामा मनोनीत राष्ट्रिय सभा सदस्यको अवधि समेत सकिंदै जाँदा गौतमलाई ठूलो आश्रय जरूरी पर्दै गएको थियो ।

‘वामदेव गौतमलाई पार्टीमा ल्याउनु भनेको जोखिम उठाउनु पनि हो । कुन दिन के मूडमा के बोलिदिनुहुन्छ भन्ने भर छैन । विगतको स्वभावले पनि शंका छ’ एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘तर हामीले रिस्क लिएकै हो ।’

उनको हिसाबमा गौतम एकीकृत समाजवादीको नेता बन्दा देशभर कम्तीमा २५/३० हजार मानिसमा असर पर्छ । ती व्यक्तिहरु पार्टीमा जोडिंदा कम्युनिष्ट आन्दोलनकै हित हुने उनी बताउँछन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?