
News Summary
Generated by OK AI. Editorially reviewed.- उपत्यका अपराध महाशाखाले वैदेशिक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवासँग ठूलो रकम असुली गरी ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेकाहरूले मलेसिया, कतार, क्रोएसिया र क्यानडाजस्ता देशमा पठाउने प्रलोभन दिएर युवाहरूलाई लाखौं रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।
- एसपी काजिकुमार आचार्यले सबैलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको जानकारी दिएका छन्।
३१ असार, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवासँग ठूलो रकम असुली गरी ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
उपत्यका अपराध महाशाखा, टेकुबाट खटिएको टोलीले फरक–फरक देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा जाहेरी परेका व्यक्तिहरुलाई पक्राउ गरेको एसपी काजिकुमार आचार्यले बताए ।
उनका अनुसार, प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले मलेसिया, कतार, क्रोएसिया र क्यानडाजस्ता देशमा आकर्षक तलब र रोजगारीका लोभमा पारेर युवाहरूलाई ठगेका थिए ।
पक्राउ परेकामध्ये बाराको निजगढ नगरपालिका–१२ स्थायी घर भई भक्तपुर बस्दै आएका रामबहादुर थिङले मलेसिया पठाइदिन्छु भन्दै एक जनासँग तीन लाख उनान्सय हजार रुपैयाँ ठगी गरेका थिए ।
अर्का आरोपी चितवनको राप्ती नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ मा बस्दै आएका ५३ वर्षीय प्रेमकृष्ण श्रेष्ठले क्रोएसिया पठाइदिन्छु भन्दै आठ लाख रुपैयाँ ठगी गरेका आचार्यले बताए ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ मा बस्दै आएका ३० वर्षीय सबिक राईले कतार पठाउने प्रलोभनमा परी १० जना व्यक्तिबाट जम्मा ३ लाख ५० हजार रुपैयाँको दरले ठगी गरेको प्रहरीको भनाइ छ ।
ललितपुर महानगरपालिका–३ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका–३ मा बसोबास गर्दै आएका ४४ वर्षीय मनोज महर्जनले क्यानडा पठाइदिन्छु भन्दै कम्तिमा १० जनाबाट एक करोड ३४ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी परेको छ ।
सबैलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको आचार्यले बताए ।
प्रतिक्रिया 4