+
+
Shares

एनआरएनए जापान अध्यक्षमा लामिछाने र श्रेष्ठबीच प्रतिस्पर्धा

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०८२ असार ३१ गते २१:४२

३१ असार, टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको चुनावी मिति नजिकिएसँगै चुनावी माहोल तातेको छ ।

टोकियोमा आगामी जुलाई २० तारिख हुने १२ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान कार्यसमितिका उपाध्यक्ष सुभाष लामिछाने र सिद्धार्थ श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । नयाँ कार्यसमितिको कार्यकाल सन् २०२५ देखि सन् २०२७ सम्म हुनेछ ।

दुबै उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्दै अध्यक्षको दौडबाट पछि नहट्ने बताएका छन् । एनआरएनए जापानमा आ–आफ्नो परिचय बनाएका लामिछाने र श्रेष्ठ बीच कडा प्रतिस्पर्धा हुने एनआरएनए अभियानकर्ता बताउँछन् ।

वर्तमान कार्यसमितिले सदस्य विस्तारलाई प्राथमिकतामा राखेर काम गरेकाले एनआरएनए जापानको सदस्यता लिनेको संख्या हालसम्मकै उच्च भएको छ ।

‘अहिले जापानमा एनआरएनएको सदस्यता लिनेको संख्या हेर्दा विश्वमै जापान पहिलो बन्न पुगेको छ, एनआरएनए जापानका अध्यक्ष नविन निउरे भन्छन्,’ ‘पहिले सात हजार हाराहारीमा सदस्य हुनुहुन्थ्यो, यो वर्ष १८ हजार हाराहारीमा पुगेको छ, हामी अन्तिम नामावाली सार्वजनिक गर्ने तयारीमा छौँ ।’

यस हिसाबले हेर्दा जापानमा रहेको नेपाली समुदाय पनि नेतृत्व छनोटमा उत्साहित देखिन्छ । प्रत्यासीलाई भने सबै मतदातामाझ कसरी आफ्ना एजेन्डा पुर्‍याउने भन्ने चुनौती थपिएको छ । साथै नयाँ सदस्यको मन जित्न दुबै उम्मेदवार लागि परेका छन् ।

अघिल्लो निर्वाचनमा जापानको नागोया, फुकुओका क्षेत्रबाट पनि अध्यक्ष पदमा उम्मेदवारी रहेको थियो । यस वर्ष भने त्यस क्षेत्रबाट उम्मेदवारी आएको छैन ।

गैरआवसीय नेपाली संघको विधानले प्यानल बनाएर चुनावमा जान बन्देज गरेको छ । आधिकारीक प्यानल घोषणा नगरेपनि विचार र मुद्दा मिल्नेहरु समन्वय गरेर चुनावमा होमिएका छन् ।

शाहासी सुभाष

नेपालको पर्वत जिल्लाका सुभाष लामिछाने जापानको टोकियोमा रहेर रेष्टुरेन्ट व्यवसाय तथा चलचित्र वितरकको काम गर्दै आएका छन् । उनले जापानमा सफल नेपाली व्यवसायीको परिचय बनाइसकेका छन् ।

पछिल्ला केही वर्षदेखि एनआरएनएमा सक्रिय लामिछाने विगतको अनुभवले संस्थालाई थप उचाइमा लैजान मूल नेतृत्वमा आफू आउनु पर्ने बताउँछन् ।

लामिछानेले घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष पद पाउनु अभिलाषा नभएर काम गर्नका लागि जिम्मेवारी लिन खोजेको बताए ।

लामिछानेको एनआरएनए यात्रा लामो नभए पनि युवा वर्गमा लोकप्रिय उम्मेदवारको रुपमा परिचित छन् ।  सन् २०२१–२०२३ एनआरएनए जापानको प्रवक्त्ताको रुपमा एनआरएनए यात्रा सुरु गरेका लामिछानेले ०२३–०२५मा उपाध्यक्ष हुँदै छोटो समयमा नै अध्यक्ष पदको उम्मेदवार बनेका हुन् ।

एनआरएनए जापानको नेतृत्वमा सुरु भएको एकिकृत नेपाली घर: बहुसाँस्कृतिक केन्द्रको निर्माण, जापानमा रहेका नेपालीको पेशागत एवम् व्यवसायिक विकास, स्मार्ट एनआरएनए, आर्थिक पारदर्शिता लगायतका कामलाई योजनाबद्ध रुपमा आफूले अघि बढाउने लामिछाने बताउँछन्  ।

संघसंस्थासँगको समन्वयात्मक सहकार्य तथा मानविय सहयोग, संस्थागत विकास एवम् सुद्दढिकरण, नेपालको पहिचान अभिवृद्धि तथा पर्यटन प्रर्वद्धन, सुरक्षित वैदेशिक रोजगार र सचेतनामुलक कार्यक्रम, महिला, विद्यार्थी, युवा तथा खेलकुद गतिविधि, जापानी समुदायसँगको सामिप्यता लामिछानेका चुनावी मुद्दा रहेका छन् ।

पछिल्लो समय जापानमा नेपालीको संख्या २ लाख ३३ हजार हाराहारीमा पुगेको छ । ‘जापानमा नेपालीको संख्यामा वृद्धि भएसँगै जापानमा हुर्किरहेको दोस्रो पुस्तालाई जापानको शिक्षा प्रणाली, यहाँका अवसर चुनौतीबारे सचेतना गर्नु पनि मेरो लक्ष्य रहेको छ’ लामिछाने भन्छन् ।

साथै नेपालबाट जापान आउने विद्यार्थी र जापानमा रहेका नेपाली विद्यार्थीलाई आफ्नो नेतृत्वको एनआरएनएले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धा छ ।

जापानमा कार्यरत नेपालीलाई जापानको पसिनाको प्रतिफल नेपालमा प्रदान गर्न नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल गर्ने योजना उनले अघि सारेका छन् ।

स्पष्ट सिद्धार्थ 

एनआरएनए जापानमा स्पष्ट वक्ताको छवि बनाएका सिद्धार्थ श्रेष्ठ जापानको खानागावामा रहेर रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । बागलुङ घर भएका श्रेष्ठले घोषणा पत्र सार्वजनिक गदै, ‘स्पष्ट नीति, सफा नियत, पारदर्शी नेतृत्व सबैका लागि’ भन्ने नारा अघि सारेका छन् ।

एनआरएनए अभियानमा दिएको निरन्तरताको आधारमा एनआरएनए जापानलाई थप चुस्त, दुरुस्त र पारदर्शी बनाउन आफूले नेतृत्व लिनुपर्ने उनको तर्क छ ।

श्रेष्ठको एनआरएनए यात्रा सन् २०१७–०१९मा मानार्थ सदस्य, ०१९–०२१ प्रवक्ता, ०२१–०२३मा महासचिव हुँदै वर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका छन् ।

विगतको काम, व्यवहार र जिम्मेवारीको मूल्यांकन गर्न उनी मतदातालाई आग्रह गर्छन् । आफूले एनआरएनएलाई आर्थिक पारदर्शिता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनी बताउँछन् ।

‘जापानमा जेल जीवन बिताइरहेका नेपाली साथै यहाँ रहेका नेपालीले भोगिरेका समस्या बुझन र समाधान गर्न म विगतदेखि नै लागिपरेको छु र भोलीका दिनमा मेरो प्रमुख एजेन्डा पनि यहि हुनेछ’ उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘म नेपालीको समस्यामा सधैँसँगै हुनेछु ।’

जापानमा काम गर्ने क्रममा नेपालीले भोग्दै आएका समस्या समाधान गर्नका लागि सुरक्षित रोजरागार निगरानी समिति गठन गर्ने उनको प्रतिवद्धता रहेको छ ।

एनआरएनए जापानले भाषा विज्ञ राखेर हरेक हप्ताको एक दिन भिसा, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका विषयमा परामर्श दिने योजना श्रेष्ठले अघि सारेका छन् । ‘जापानबाट नेपाल पठाउने रेमिटान्सलाई प्रोत्साहन र अबैधानिक माध्यमबाट पठाइने रेमिट्यान्सलाई निरुत्साहित गर्न म निरन्तर पहल गर्ने छु,’ श्रेष्ठले भने ।

लेखक
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?