
News Summary
Generated by OK AI. Editorially reviewed.- बालेन शाह र कुलमान घिसिङ नेतृत्वको सम्भावित नयाँ राजनीतिक दलले नेपाली जनताको तीव्र आकांक्षा र राजनीतिक समीकरणलाई नाटकीय रूपमा परिवर्तन गर्न सक्छ।
- शहरी युवा, पेशाकर्मी र राजनीतिबाट निराश मानिसहरूलाई आकर्षित गर्ने यी बालेन र कुलमानहरू नेपाली कांग्रेस लगायत परम्परागत शक्तिहरूका लागि वैचारिक र चुनावी खतरा हुन्।
- यस किसिमको ध्रुवीकरणलाई एक बलियो लोकतान्त्रिक मध्यममार्गी विकल्पद्वारा चुनौती नदिने हो भने कांग्रेस नीतिगत मात्र होइन, चुनावी उपस्थितिमा पनि पछि पर्ने खतरा छ।
नेपालको राजनीतिक परिदृश्य तीव्र गतिमा परिवर्तन हुँदैछ। लामो समयदेखि लोकतान्त्रिक आदर्श र मध्यममार्गी राजनीतिक संरक्षकको पहिचान बनाएको नेपाली कांग्रेस अहिले अभूतपूर्व चुनौतीसँग जुधिरहेको छ। बालेन शाह र कुलमान घिसिङ जस्ता वैकल्पिक राजनीतिक अनुहारहरूको उदय, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो आक्रमण र वाम शक्तिहरूको सम्भावित ध्रुवीकरणले कांग्रेसभित्रका गहिरा चुनौती सतहमा देखिन थालेका छन्।
अब कांग्रेससँग तत्काल आत्मसमीक्षा र रणनीतिक पुनर्संरचनाको विकल्प छैन। सबैभन्दा महत्वपूर्ण कुरा त परिस्थितिले शेरबहादुर देउवा, डा. शेखर कोइराला र गगन थापा जस्ता शीर्ष नेतृत्वबीच आन्तरिक एकता माग गरेको छ। अन्यथा कांग्रेसलाई लोकलयवाद, ध्रुवीकरण र संस्थागत विघटनले निल्न सक्छ।
संगठित नीति, दृष्टिकोण र सशक्त वैकल्पिक आवाज विना ग्रामीण तथा आर्थिक रूपमा कमजोर क्षेत्रहरूमा कांग्रेसले आफ्नो परम्परागत आधार गुमाउने जोखिम बढिरहेको छ।
नयाँ राजनीतिक सीमारेखा
बालेन शाह र कुलमान घिसिङ नेतृत्वको सम्भावित नयाँ राजनीतिक दलले नेपाली जनताको तीव्र आकांक्षा र राजनीतिक समीकरणलाई नाटकीय रूपमा परिवर्तन गर्न सक्छ। शहरी युवा, पेशाकर्मी र राजनीतिबाट निराश मानिसहरूलाई आकर्षित गर्ने यी दुई व्यक्तित्वहरू परम्परागत शक्तिहरूका लागि वैचारिक र चुनावी खतरा हुन्। यी नेताहरूको उदयले शहरी र मध्यम वर्गीय मतदाता, विशेषगरी युवा पुस्ताबाट कांग्रेसले पाएको समर्थन गुम्ने सम्भावना बढाउँछ कि भन्ने चासो सर्वत्र छ।
यद्यपि प्रत्येक आवधिक निर्वाचनको पूर्वसन्ध्यामा पर्वको रूपमा नयाँ अनुहारहरूले मतदाताको सोचको जग हल्लाउने प्रयत्न गरिआए पनि तिनीहरूको प्रशासनिक उपलब्धि र जनअपिल निर्विवाद छैनन् र उनीहरूको मस्तिष्कमा राष्ट्रनिर्माणको ठोस योजना नहुनु गम्भीर चिन्ताको विषय हो।
धेरै नयाँहरूको सन्दर्भ नियाल्दा उनीहरूको अभिव्यक्ति धेरैजसो प्रतिक्रियावादी र लोकलयवादी विघटनतर्फ बढी केन्द्रित देखिन्छ, न कि दीर्घकालीन नीतिगत समाधानतर्फ। तर तिनीहरूले भ्रष्टाचार, जडता र सत्तावादी स्वार्थले थलिएको जनमानसको प्रत्येक अर्को एकपटक मन जित्न सफल भएका छन् अर्थात् नेपालमा प्रत्येक पछिल्लो आवधिक निर्वाचनमा अन्तिम पटकका लागि जनता झुक्किन सक्छन् भन्न सकिने अवस्था निर्माण भएको छ।
बालेन शाह र कुलमान घिसिङको सम्भावित दल निर्माणको अवतरणले नयाँ कम्युनिष्ट ध्रुवीकरण वैचारिक र रणनीतिक चुनौती निम्त्याउने अनुमान गरिएको परिप्रेक्ष्यमा एमाले, माओवादी केन्द्र र अन्य वामपन्थी शक्तिहरू बीचको सम्भावित एकता कांग्रेसका लागि फेरि अर्को वैचारिक चुनौती हो। यस्तो गठबन्धनले राष्ट्रवाद, संघीय असन्तुष्टि र वर्गसंघर्षलाई हतियार बनाएर आफूलाई दलित र वञ्चितहरूको प्रतिनिधिका रूपमा स्थापित गर्ने प्रयास गर्न सक्छ। यदि यस किसिमको ध्रुवीकरणलाई कांग्रेसले एक बलियो लोकतान्त्रिक मध्यममार्गी विकल्पद्वारा चुनौती नदिने हो भने, कांग्रेस नीतिगत मात्र होइन, चुनावी उपस्थितिमा पनि पछि पर्ने खतरा छ।
स्थायी लोकलयवादको धरातलमा टेकेको रास्वपाले राष्ट्रनिर्माणको स्पष्ट योजना विना पनि आफ्नो ‘भ्रष्ट-विरोधी’ छविबाट प्रभाव बढाउँदै गएको छ। यसको लोकप्रियता खासगरी परम्परागत दलहरूप्रतिको विश्वास संकटका कारण बढेको हो। यद्यपि रास्वपा राष्ट्रिय नेतृत्वको लागि पूर्णतः सक्षम नहुन सक्छ, त्यसको प्रभावले कांग्रेसका लागि मुख्य प्रतिस्पर्धात्मक क्षेत्रहरूमा चुनौती सिर्जना गर्नेछ, विशेषगरी शहरी क्षेत्रमा।
भारतबाट सिक्ने पाठ
नेपाली कांग्रेसभित्र अस्तव्यस्तता मौलाइरहेको छ। जसले कांग्रेसलाई लक्षित उपलब्धिबाट वञ्चित गर्ने निश्चित छ। पार्टी अस्तव्यस्ततामा रह्यौ भने कस्तो मूल्य चुकाउनुपर्छ भन्ने नेपाली कांग्रेसले व्यहोरिरहेकै छ। ठीक विपरीत पार्टीभित्र केन्द्रित दृष्टिकोण र सांगठनिक अनुशासनबाट राजनीति कसरी मजबुत बनाइन्छ भन्ने उदाहरण भारतीय जनता पार्टीबाट लिन सकिन्छ।
भाजपा अहिले लगातार तेस्रो कार्यकाल भारतीय सरकारको नेतृत्व गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा स्पष्ट दर्शन, सांगठनिक अनुशासन, र विचारधारात्मक स्पष्टताका कारण भाजपा दीर्घकालीन सत्ता पकडमा सफल भएको हो। नेतृत्वको भूमिकाहरू स्पष्ट छन्, दोस्रो तहको नेतृत्व पनि मूल सन्देशप्रति निष्ठावान् छ। अर्कोतर्फ, भारतीय राष्ट्रिय कंग्रेस (आईएनसी) ले विगत एक दशकयता प्रासंगिकता गुमाउँदै गएको छ। राहुल गान्धीको ‘भारत जोडो यात्रा’ भावनात्मक त थियो, तर त्यसले चुनावी सफलता दिन सकेन। यसको मुख्य कारण थियो आन्तरिक गुटबन्दी र रणनीतिक अस्पष्टता। यसले नेपाली कांग्रेसका लागि चरित्र विना संरचना र जोश विना योजना, पराजयको पूर्वसूचना हो भन्ने सन्देश दिन सक्छ भन्ने मेरो निचोड छ।
नेपाली कांग्रेसले भारतीय कांग्रेसको गल्ती नदोहोर्याउने हो भने व्यक्तिगत महत्त्वाकांक्षा र गुटगत राजनीति त्यागेर साझा नेतृत्व खडा गर्नुपर्छ। उपरोक्त परिदृश्यलाई हृदयंगम गर्दा तीन नेता शेरबहादुर देउवा, शेखर कोइराला र गगन थापाबीच सहकार्य एकताको अपरिहार्यता नै अबको प्राथमिकता हो।
पार्टी सभापति तथा अनुभवी नेता शेरबहादुर देउवा अब राजनीतिक अवकाशको तयारीमा हुनुहुन्छ। र, डा. आरजू राणा देउवा जसको राणा वंशीय पृष्ठभूमि र सेफ मदरहुडबाट लोककल्याण कार्यमा योगदान उल्लेखनीय छ, उहाँको प्रभाव पनि कायम छ। डा. शेखर कोइराला, कोइराला वंशका उत्तराधिकारी चित्रित नभएरै परम्परा र सुधारको संयोजन हुनुहुन्छ। उहाँलाई पनि बाल्यकालमै गिरफ्तार गरिएको सत्य उजागर भएको छैन न उहाँका पिताको ६ वर्षे जेलयात्राको चर्चा छ! यस्तो पृष्ठभूमिका कोइरालाले सधैं जनस्तरसँग जोडिने राजनीति गरेका छन्।
२०६२/६३ को आन्दोलन मार्फत उदाएका पार्टी महामन्त्री गगनकुमार थापा युवा पुस्ताको व्यापक समर्थन र सहकार्यको जगमा खडा छन्। कलिलो उमेरमै तत्कालीन राज्य संचालकबाट राज्यद्रोहको मुद्दा खेपेका थापा आफ्नो त्यही प्रभावका कारण अन्य सहकर्मीलाई उछिन्दै अवसर र चुनौतीको मध्यभागबाट एक विकल्पका रूपमा स्थापित भइसक्नुभएको छ। राजनीतिमा पनि निश्चित समयपछि अवकाश लिनुपर्छ भन्दै उहाँले आफ्नो अवकाशको तिथि तोक्नुभएको छ।
म राजनीतिक अवकाशको तिथि तोक्नुहुँदैनथ्यो भन्ने भनाइ राख्छु। राजनीतिक अवकाशको मिति तोक्ने थापा हुन् या एकैपटक, यसैपटक भनेर महाधिवेशनमा सभापतिका उम्मेदवार बन्ने डा. शेखर कोइराला यो मामिलामा सही छैनन्। यसैपटक यसै पटकको नारा अब उप्रान्त कायम रहन सक्छ। उमेरको हद दुवैको हकमा खारेजभागी छ। नेतृत्व प्रतियोगिता होइन, सहकार्य हो। कांग्रेसलाई अगाडि बढाउन राष्ट्र, पार्टी र साझा दृष्टिकोणलाई प्राथमिकता दिनु आवश्यक छ।
कांग्रेस पुनरुत्थानको व्यावहारिक खाका
कांग्रेसले संकटको यो घडीमा निम्न उपायहरू अवलम्बन गर्नुपर्छ:
नेतृत्व पुनःसंरचना योजना: शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरणका लागि मार्गप्रशस्त गर्छन्। १५औं महाधिवेशनबाट डा. शेखर कोइराला पार्टी सभापति, गगन थापा कार्यवाहक सभापति वा महासचिवको भूमिकामा रहेर नीतिनिर्माण र युवापुस्ताको व्यापक परिचालनमा लाग्नुपर्छ। उनले निकट भविष्यमा कांग्रेसको बागडोर सम्हाल्छन्।
डा. आरजू राणा देउवा नेपालको प्रथम महिला प्रधानमन्त्री बन्ने सम्भावना म नकार्न सक्दिनँ। प्रसंगहरू गहिरिएर अध्ययन गर्दा २०८४ को चुनावसम्म आन्तरिक प्रतिस्पर्धा स्थगन गरेर यो सहमतिमा अघि बढ्नु नै कांग्रेस पुनरुत्थानको खाका हो। यसरी अगाडि बढे कांग्रेसभित्र भावी नेतृत्वको संस्थागत विकास अघि बढ्नेछ।
यति भएपछि सुधारको बहसमा हामीले राष्ट्रिय एजेन्डा घोषणा गर्ने चुनौती कांग्रेसको अनिवार्य शर्त हो भन्नुपर्दछ। संघीय समन्वय, शिक्षा सुधार, डेटा र एआई आधारित अर्थतन्त्र, पूर्वाधार विकास र परराष्ट्र नीति स्पष्ट गर्न १० वर्षे नीतिको खाका ल्याइनेछ भन्ने घोषणा गरेर जानुपर्छ। यसो भयो भने कांग्रेसको आन्तरिक एकता र सहकार्यले दिशा लिनेछ र गुटभित्रका बहस पैरवी निस्तेज हुँदै सामाजिक औजारबाट निर्मित चोटहरू क्रमश: निको हुँदै जानेछन्।
२०८४ को बाटो र भावी नेतृत्व निर्माण: २०८४ को आम निर्वाचनलाई केवल चुनाव हैन, पुस्तान्तरणको पर्वको रूपमा लिनुपर्छ। डा. शेखर कोइराला, महामन्त्री गगन थापा, डा. आरजू राणाहरू यसका लागि स्वाभाविक प्रधानमन्त्री पदका उम्मेदवार हुन्। त्यसको तयारी अहिलेबाट नै गर्नुपर्छ— एकीकृत कमाण्ड, स्पष्ट सन्देश र प्रेरणादायी नेतृत्व शैली मार्फत मात्र यो सम्भव छ। यसैसँगै क्षेत्रीय नेतृत्वलाई सशक्त बनाउने, उम्मेदवार छनोटमा पारदर्शिता बढाउने र प्रादेशिक संरचना सुधार गर्ने कार्य अत्यावश्यक छन् जसका लागि संविधान संशोधन मार्फत प्रदेशको पुनर्संरचना, सानो सरकारको आकार र विकासको प्राथमिकता सार्थक हुनसक्छ।
इतिहासले देखाएको छ, परिवर्तन नअपनाए अस्तित्व सकिन्छ। राजनीतिक दलहरू चुनावमा होइन, समयानुकूल नागरिकको धड्कन गणना गर्न नसकेर समाप्त हुने गर्छन्। नेपाली कांग्रेसले अब निर्णय गर्नुपर्छ। निर्णय तिनै नेताहरू देउवा, कोइराला र थापाको हातमा छ। यदि उनीहरूले आत्मत्याग, रणनीति र सहकार्य देखाए भने नेपाली कांग्रेसले अझै देशलाई नेतृत्व गर्न सक्छ। होइन भने, कांग्रेस दक्षिण एशियाली लोकतन्त्रको अर्को चेतावनी मात्र बन्नेछ।
प्रतिक्रिया 4