
News Summary
Generated by OK AI. Editorially reviewed.- रविन्द्र रिमालको छोरा उनले आफ्नो बाबालाई बचाउन नसकेको पीडा व्यक्त गरे।
- रिमालले जीवनभर इमानदारिता, नैतिकता र स्वाभिमान सिकाएका थिए र परिवारलाई आत्मनिर्भर बनाएका थिए।
- उनले बाबाको शिक्षा र माया जीवनभर सम्झने र त्यसलाई अगाडि बढाउने वचन दिएका छन्।
जीवनका केही घडीहरू यस्ता हुन्छन्, जहाँ शब्दहरूले पनि मनको पीडा व्यक्त गर्न सक्दैनन् । म आज यही असह्य पीडाले भरिएको मन लिएर यी शब्दहरू लेख्दैछु ‘माफ गर्नुहोस् बाबा, मैले तपाईंलाई बचाउन सकिनँ । मेरो बुबा, मेरो गुरु, मेरो साथी-रविन्द्र रिमालको सम्झनामा यो आत्मीय श्रद्धाञ्जली ।
सानो हुँदा, म जब पहिलो पटक पाइला चाल्न सिक्दैथें, तपाईंले मेरो हात समाएर म बिस्तारै-बिस्तारै नडराई अघि बढ्न हिम्मत दिनुभयो । त्यो बलियो हातमा मैले कहिल्यै अन्त्य नहुने भरोसा पाएको थिएँ ।
जीवनका धेरै उतारचढावमा तपाईंले त्यही हात समाएर अगाडि बढ्न सिकाउनुभयो । कहिल्यै थकाइ नदेखाउने, कहिल्यै हार नमानेर सबैलाई माया दिने तपाईं मेरो जीवनका असली नायक हुनुहुन्थ्यो । हामी दुईको सम्बन्ध अरूका लागि कहिल्यै बुझ्न सजिलो थिएन-सबै भन्थे, ‘यी बाबुछोरा भन्दा बढी साथी हुन् ।’ तपाईं सधैं मेरो जीवनका हरेक निर्णयमा सल्लाह दिने, सहारा बन्ने र आत्मबल दिन सक्ने आत्मीय हुनुहुन्थ्यो ।
तपाईंले जीवनभर सिकाएको इमानदारिता, नैतिकता र स्वाभिमान आज पनि मेरो हरेक कर्ममा जिउँदो छ । घरको जिम्मेवारी काँधमा बोकी म र मेरी दिदीलाई कहिल्यै कुनै कमी हुन दिनुभएन । तपाईंले हामीलाई आत्मनिर्भर बनाउन जे गर्नुपर्छ सबै गर्नुभयो । धर्म, संस्कृतिप्रतिको माया र आफ्नो पहिचानको गर्व तपाईंले नै सिकाउनुभयो । तपाईंको अनुशासन र ममता सधैं हाम्रो घरभरि उज्यालोझैं फैलिन्थ्यो । भोकप्यास सहेर पनि परिवारलाई खुसी राख्न जति त्याग गर्नुपर्छ, त्यसमा कहिल्यै पछि हट्नुभएन ।
तपाईंको त्याग र समर्पणका कथा शब्दमा कहिल्यै अटाउने छैनन् । समाजमा तपाईंको व्यवहार सबैका लागि उदाहरण थियो । जसलाई भेट्नुहुन्थ्यो, सबैलाई प्रेमपूर्वक हाँस्दै स्वागत गर्नुहुन्थ्यो । सानो बच्चादेखि वृद्धसम्म सबैलाई माया र सम्मान दिनुभयो । तपाईंको मिठो खाना बनाउने खुबीको त धेरैले चर्चा गर्थे । तपाईं आफैं पकाएर सबैलाई खुवाउन रुचाउनुहुन्थ्यो । अब त्यो खानाको स्वाद धेरैलाई खल्लो लाग्नेछ, त्यो उत्साह सम्झेर सबैको आँखा रसाउनेछ ।
म लामो समय सामाजिक काममा व्यस्त रहेँ । मुस्किलले महिनाको २० दिनमात्र घर बस्न पाउँथेँ । कहिलेकाहीँ त्यो समय पनि नपुग्ने हुन्थ्यो । अहिले बल्ल थाहा हुँदैछ, त्यो केही पल पनि कति अमूल्य थियो । केही दिनअघि तपाईंलाई अचानक हृदयघात भयो । म र मामुको हातमै तपाईंको सास गयो ।
कहिल्यै औषधि वा अस्पताल जान नपर्ने, सधैं आफ्नो स्वास्थ्यबारे सचेत रहनुहुने तपाईंलाई यस्तो कसरी भयो ? त्यो दिन म निरीह भएँ । मेरो हरेक प्रयास विफल भयो । मसँग शक्ति थिएन, मसँग समय थिएन । मैले जे-जति सकेँ गरें, तर तपाईंलाई बचाउन सकिनँ । यो ग्लानी जीवनभर मेरो मनभित्र बोकी बाँच्नुपर्नेछ ।
बाबा, आज म यहाँ एक्लो छु । तपाईंको आवाज अब सुनिँदैन । जीवनका बाटाहरू अनौठो र अपूरो लाग्छ । तर म बाचा गर्छु-तपाईंले दिएको माया, शिक्षा र संस्कारलाई कहिल्यै हराउन दिनेछैन ।
तपाईंले जसरी सधैं सबैलाई हाँसेर, माया गरेर र सहयोग गरेर बाँच्नुभयो, म पनि त्यही माया बाँडेर हिँड्नेछु । तपाईंले हाम्रो समाजलाई सिकाइसएको ममता र आत्मियता म पनि जीवनभर बाँड्नेछु । तपाईंले जसरी सबैलाई समान व्यवहार गर्नुभयो, त्यो आदर्श मेरो सम्पूर्ण जीवनको आधार रहनेछ ।
म तपाईंलाई वचन दिन्छु-तपाईंले मामुलाई जस्तो माया र सम्मान दिनुयभो, म पनि जीवनभर उहाँको ख्याल गर्नेछु । मामुलाई कहिल्यै एक्लो हुन दिनेछैन र कुनै कुरा कहिल्यै कमी हुन दिनेछैन । त्यो माया, त्यो मायालु व्यवहार मैले जीवनभर सँगाल्नेछु ।
हाम्रो घरलाई म तपाईंले देखाएको सपना र आदर्शअनुसार सधैं एकतामा जोडेर राख्नेछु । जीवनका सुख-दु:खमा म तपाईंको सिकाइलाई सम्झेर अगाडि बढ्नेछु ।
बाबा म यहाँ छु तपाईंको शिक्षा र प्रेमलाई अँगालेर । तपाईंको सम्झनामा बाँचिरहनेछु । म आफैंलाई सान्त्वना दिन्छु-तपाईं जहाँ हुनुहुन्छ, त्यहीँबाट मलाई हेरेर साथ दिनुभएको छ । म फेरि भन्न चाहन्छु, ‘माफ गर्नुहोस, मैले तपाईंलाई बचाउन सकिनँ ।’ तर तपाईंको नाम र आदर्शलाई जीवनभर हृदयमा राख्नेछु ।
प्रतिक्रिया 4