
२ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा आरोहण मार्ग अत्यधिक जोखिमपूर्ण बन्दै गएको निष्कर्षसँगै सुरक्षित वैकल्पिक मार्गको खोजी तथा अध्ययन गर्नुपर्ने बताएका छन् ।
पर्यटनमन्त्री पाण्डेको उपस्थितमा मन्त्रालयमा भएको छलफलमा खुम्बु आइसफल हुँदै क्याम्प–१ सम्म जाने हालको परम्परागत मार्ग आरोहीका लागि अत्यन्तै जटिल र खतरनाक रहेकाले यसको विकल्प खोज्नु आजको आवश्यकता भएको निष्कर्ष निकालिएको छ ।
‘सगरमाथा हाम्रो राष्ट्रिय गौरवको प्रतीक हो । हरेक वर्ष यहाँ हजारौं विदेशी र नेपाली आरोहीको चाप रहन्छ । उनीहरूको जीवनरक्षाका लागि हामीले सुरक्षित, वातावरणमैत्री र दीर्घकालीन समाधानको मार्ग खोज्नुपर्छ,’ मन्त्री पाण्डेले भने, ‘अबको रणनीति जोखिम घटाउने मात्र होइन, सम्पूर्ण आरोहण प्रणालीलाई व्यवस्थित, अनुशासित र विश्वसनीय बनाउनेतर्फ केन्द्रित हुनुपर्छ ।’
बैठकमा प्रसिद्ध फ्रान्सेली पर्वतारोही मार्क मारी बटार्ड र नेपाली स्पिड आरोही काजी शेर्पाले हालसम्म आफूहरूले गरेको वैकल्पिक मार्गको खोज, सर्वेक्षण र फोटोग्राफिक दस्तावेजबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
बटार्ड र शेर्पा सन् २०१८ देखि नै नयाँ मार्ग पहिचानको अभियानमा क्रियाशील छन् भने २०८१ सालमा पनि उनीहरूले नेपाल सरकारको समन्वयमा परीक्षण आरोहण मार्फत नयाँ सम्भावना अध्ययन गरेका थिए ।
प्रतिक्रिया 4