+
+
Shares
एमाले पोलिटब्युरो बैठक :

विद्याको सदस्यता नविकरण गरेकोमा आत्मालोचित भए काशिनाथ, भने- ठूलो गल्ती भयो

पोलिट्ब्युरो बैठक उद्घाटनका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्यलाई आधार मान्दा पनि अधिकारीबाट हुन पुगेको गल्ती सदस्यता नवीकरण नै भएको अनुमान लगाउन सकिने उनी बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते २३:१९
फाइल फोटो

२ साउन, काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले आफूबाट ठूलो गल्ती हुन पुगेको बताएका छन् ।

आजबाट सुरु भएको पोलिटब्युरो बैठकमा स्थायी कमिटीका नेताहरुलाई पहिले बोल्ने पालोमा राखिएको थियो । जस अन्तर्गत अधिकारीले पार्टी विधानको मस्यौदामाथि कुरा राख्न ५ मिनेटको समय पाएका थिए ।

विधान संशोधन प्रस्तावमा बोल्ने क्रमको अन्त्यतिर अधिकारीले आफूबाट ठूलो गल्ती हुन पुगेको बताए । ‘मैले एउटा ठूलो गल्ती गरेको छु, गरेको गल्ती स्वीकार्छु’, स्थायी कमिटी सदस्य अधिकारीले भनेका थिए ।

तर यसभन्दा थप अधिकारीले केही बताएनन् । बोल्ने नेताहरुको समय हेरिरहेका उपमहासचिव प्रदीप ज्ञवालीले ‘समय सकिएको’ जानकारी दिए ।

‘केही कमरेडहरुले के गल्ती गर्नुभयो, त्यो पनि सुनौं न भन्दै हुनुहुन्थ्यो’, एक नेताले भने, ‘तर निर्धारित ५ मिनेट सकिएको भनेर थप बोल्ने मौका दिइएन ।’

बैठकमा सहभागी नेताहरूबीच भने खासखुस चलिरह्यो । ‘काशीनाथ अधिकारी हाम्रो पार्टीका पुराना र अनुभवी नेता हुनुहुन्छ, उहाँलाई पार्टी सञ्चालन प्रणालीको ज्ञान छ’, ती नेता भन्छन्, ‘अहिले संगठन विभाग जस्तो महत्वपूर्ण विभागको प्रमुख पनि हुनु भएकाले उहाँले गल्ती गरेँ भन्नुले चासो उत्पन्न गराउनु स्वभाविक हो ।’

पहिलो दिनको बैठक सकिएपछि स्थायी कमिटीका सिनियर नेता अधिकारीले आत्मलोचना गर्न चाहेको प्रसंगमा अड्कलबाजी चलिरहेको छ । यद्यपि, कसैको पनि अनुमान सार्वजनिक भएको छैन ।

तर काशीनाथ अधिकारीबाट हुन पुगेको सम्भावित गल्तीबारे नेताहरू अनभिज्ञ पनि देखिँदैनन् । ‘संगठन विभागको प्रमुखबाट के गल्ती भयो होला त ?’, स्थायी कमिटीका एक सदस्य सहज अनुमान लगाउँछन्, ‘हामी सबै नेताहरुले लगाउने अनुमान सदस्यता नवीकरण नै मुख्य हुने भयो ।’

पोलिट्ब्युरो बैठक उद्घाटनका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्यलाई आधार मान्दा पनि अधिकारीबाट हुन पुगेको गल्ती सदस्यता नवीकरण नै भएको अनुमान लगाउन सकिने उनी बताउँछन् ।

‘अध्यक्ष कमरेडले पूर्वराष्ट्रपतिको पार्टी सदस्यताबारे बोल्नु भएको थियो’, ओलीको भनाइ उदृत गर्दै ती नेता भन्छन्, ‘नवीकरण हुने भनेको निरन्तरतामा हो, तर पूर्वराष्ट्रपतिले पार्टी सदस्यता त्यागेको हो ।’ ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता त्यागेकाले यसबारे पार्टी निर्णय आवश्यक रहेको तर्क गरेका थिए ।

पहिलो दिनको बैठक सकिएपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारहरुसँग पनि अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिको सदस्यताबारे बोलेको जानकारी दिएका छन् । गौतमका अनुसार ओलीले पूर्वराष्ट्रपतिको सदस्यताबारे उचित समयमा उचित निष्कर्ष निकाल्ने बताएका छन् ।

अर्थात् पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेको बारेमा थप छलफल हुन सक्ने संकेत ओलीले पार्टी बैठकमा दिएका छन् । बिहीबार १० घण्टा बढी चलेको सचिवालय बैठकमा पनि ओलीले यस्तै भाषामा बोलेका थिए । केन्द्रीय कमिटी बैठक पछि पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे थप छलफल हुने ओलीले जानकारी दिएका थिए ।

यसर्थ शुक्रबारको पोलिटब्युरो बैठकमा काशीनाथ अधिकारीले आफूबाट ठूलो गल्ती हुन पुगेको सन्दर्भ पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नै रहेको नेताहरुको अनुमान छ ।

पूर्वराष्ट्रपति भण्डारी निकट एक नेता पनि यस्तो अनुमानसँग सहमत छन् । ‘पूर्वराष्ट्रपतिले यो वर्ष मात्र होइन, अघिल्लो वर्ष पनि सदस्यता नवीकरण गर्नु भएको हो’, उनी भन्छन्, ‘अस्ति १४ गते सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा नै गरिसक्नुभयो ।’

यसैमा आफूबाट गल्ती भएको स्वीकारोक्ति अधिकारीबाट भएका हुन सक्ने ती नेता बताउँछन् । ‘पार्टीका अध्यक्ष र महासचिवसँग कुनै परामर्श समेत नगरी सदस्यता नवीकरण गरेकोमा सायद काशीनाथ कमरेडले हप्की खानुभयो होला, त्यसैले बैठकमा आत्मालोचित हुन चाहनुभयो’, उनी भन्छन्  ।

यद्यपि नवीकरण भइसकेको पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको एजेण्डा बलियो नभएको अर्का नेता बताउँछन् । ‘राजकीय भूमिकामा जाँदा पार्टी सदस्यता त्यागेको र पछि फर्किएर पार्टी जिम्मेवारी लिएको अभ्यास एमालेमा नौलो होइन’, भण्डारी निकट अर्का नेता भन्छन्, ‘सुवास नेम्वाङले सभामुख र संविधान सभाको अध्यक्ष हुँदा सदस्यता त्याग्नु भएको थियो, पछि उपाध्यक्ष हुने बेलामा उहाँको सदस्यताबारे के गर्ने भनेर छलफल गरिएन, राष्ट्रिय सभाको अध्यक्ष भएका गणेश तिमल्सेनाको त्यस्तै उदारहण छ ।’

तर सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भन्दा राष्ट्रपति पद पृथक रहेको तर्क ओली निकट नेताहरुले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?