
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलको स्टाटस गलत भएको र छलफल भइरहेको विषयलाई निर्णय जस्तो प्रचार गर्नु अनुचित भएको बताएका छन्।
- थापाले अध्यक्ष र महासचिवलाई संस्था मान्दै कसैको पक्षमा लाग्न नहुने र पदको दुरुपयोग हुन नहुने तर्क राखे।
- महासचिव पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भइसकेको दाबी गरेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बहसमा जुट्न आह्वान गरिसकेका छन्।
२ साउन, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलले लेखेको स्टाटसप्रति आपत्ति जनाएका छन् ।
केन्द्रीय मुख्यालय च्यासलमा पत्रकारहरुसँग थापाले पार्टी विधानको व्यवस्थाप्रति छलफल भइरहेपनि निर्णय भइसके जस्तो प्रचार महासचिवबाट भएको बताए ।
‘महासचिवको स्टाटस गलत छ, किनभने छलफल भइरहेको विषय निर्णय जस्तो गरी भन्नुभएको छ,’ थापाले भने, ‘यसरी पदको दुरुपयोग गर्नु हुँदैन, पदको मर्यादा राख्नुपर्छ ।’
अध्यक्ष, महासचिव जस्तो पदमा रहेकाले कसैको पक्षमा लाग्न नमिल्ने उनको तर्क छ । ‘महासचिवलाई हामीले संस्था मानेका छौं, अध्यक्षलाई संस्था मानेका छौं, त्यो संस्था कसैको पक्षमा लाग्न मिल्दैन, अपब्याख्या गर्न पनि मिल्दैन,’ थापाले भने, ‘निर्णय भइसक्या छ भने आज छलफल किन गर्नु पर्यो त ? उहाँहरु दुई चार जना बसेर गरेको निर्णय मान्ने भन्ने जबजले मान्दैन ।’
महासचिव पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भइसकेको दाबी सहित स्टाटस लेखेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिवको स्टाटसलाई खण्डन गर्दै विधि निर्माणको बहसमा जुट्न आह्वान गरिसकेका छन् ।
प्रतिक्रिया 4