
४ साउन, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् ।
आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् ।
‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेकी छु । बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’
उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो ।
उक्त छलफल भर्खरै सकिएको हो ।
उनीहरूबीच करिब २ घण्टा एक्लाएक्लै छलफल भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार, पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बुझिएको छ । यद्यपि, छलफलका अन्य विषय बाहिर आएको छैन ।
उनीहरू दुवै पार्टी कार्यालय च्यासलबाट बाहिरिसकेका छन् ।
प्रतिक्रिया 4