 
																			६ साउन, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका ५ जेठलका ९ घरपरिवारका १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोको जोखिममा रहेका उनीहरुलाई स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवराज खरेलले जानकारी दिए ।
९ जनाको घर जोखिममा रहेकोले तत्कालको बासस्थानका लागि उनीहरुका आफन्त वा अन्य स्थानमा घर भएकालाई त्यहीँ स्थानान्तरण गरिएको छ ।
डिएसपी खरेलका अनुसार पहिरोबाट जोखिममा रहेका लिसंखु पाखर गाउँपालिका-५ जेठल बस्ने चतुर्धोज जोशीलाई उनकै अर्को घरमा, दण्डधोज जोशीलाई छोराको घरमा, लिलाबहादुर जोशीलाई आफ्नै दाजुको घरमा, सुवर्णराज श्रेष्ठलाई आफ्नै गोठमा, दलबहादुर श्रेष्ठलाई आफ्नै गोठमा, धर्म सिंह श्रेष्ठलाई आफ्नै छोरीको घरमा, मिश्रिलाल श्रेष्ठलाई आफ्नै छोरीको घरमा, टेकबहादुर श्रेष्ठलाई आफ्नै दाइको घरमा र वीरबहादुर श्रेष्ठलाई आफ्नै कटेरोमा स्थानान्तरण गरिएको हो ।
दोलखा र सिन्धुपाल्चोकको सिमानाबाट झण्डै ५० मिटर लम्बाइमा भासिएको र भासिएको स्थानबाट तल जेठल गाउँ रहेकोले उनीहरुलाई स्थानान्तरण गर्नुपरेको प्रहरीको भनाइ छ ।
स्थानीयको घरघरमानै पुगेर सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा २०–२५ घरधुरी रहेपनि अहिले ९ घरधुरी उच्च जोखिममा छन् ।
त्यस्तै सिन्धुपाल्चोककै गुम्बामा रहेको ब्रम्मायणी हाइड्रापावरमा माथिबाट आएको ढुंगाले लागेर हाइड्रोपावरको हेल्पर घाइते भएका छन् ।
जुगल गाउँपालिका-५ का राजकुमार बुढाथोकीलाई माथिबाट आएको ढुंगा लागेर टाउको र दाहिने खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
घाइतेको अवस्था मध्यम रहेको र उनलाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4