
सुपरमार्केट भन्ने बिक्तिकै आधुनिक सुविधाहरु भएको र सबै चिजहरू एकै छानामुनि पाउने किनमेलस्थल बुझ्छौं हामी । कुनै सुपर मार्केट वा सपिङ मलभित्र बडेमाको ढुंगा गजक्क परेर तेर्सिएको हुन्छ भन्ने कुरा धेरैको कल्पनामा पनि रहन्न ।
तर, युरोपेली मुलुक इस्टोनियाको एउटा सुपरमार्केटभित्र २२ मिटर गोलाई तथा करिब ६ मिटर अग्लो एक विशाल ढुंगा छ । अनि त्यो अनौठो प्राकृतिक चट्टान त्यहाँ पुग्ने धेरै ग्राहकहरूको किनमेल यात्राको प्रमुख आकर्षण बनेको छ ।
वास्तवमा यो ढुंगा उक्त स्थानमा व्यापारिक केन्द्रको योजना बन्नुअघि नै त्यहीँ थियो। खासमा भन्ने हो भने त्यो ढुंगा करिब १० हजार वर्षअघि नै त्यहीँ थियो, जमिनमुनि गाडिएको अवस्थामा । तर, जब २०१४ को सेप्टेम्बर महिनामा सुपरमार्केटको जग खन्ने काम सुरु गरियो त्यसबेला उक्त विशाल ढुंगा फेला पर्यो।
सुरुमा कामदारहरूले यसलाई फुटाउने योजना बनाएका थिए। तर, स्थानीय बासिन्दाहरूले यसको विरोध गरे । पछि थाहा भयो कि यो त ‘एराटिक बोल्डर’ अर्थात हिमनदीले ल्याएको विशेष खालको चट्टान रहेछ । त्यस्तो ठाउँमा हजारौं वर्षअघि हिमनदीले ल्याएको चट्टान हुनु चानचुने कुरा थिएन । त्यसैले उक्त चट्टान नफुटाउने र संरक्षण गरेर राख्ने निधो भयो ।
एराटिक चट्टान त्यस्ता चट्टानहरू हुन् जुन हिमनदीहरूले टाढासम्म पुर्याएका हुन्छन् अनि हिमनदी पग्लिएपछि ती चट्टान जहीँको तहीँ छोडिएका हुन्छन् । यस्ता ढुंगाहरू प्राय: त्यस स्थानका अन्य ढुंगाहरू भन्दा फरक संरचना र बनावटका हुन्छन् । यी चट्टानहरुले पृथ्वीको इतिहासको हिमयुग र हिमनदीहरूको गतिबारे महत्वपूर्ण भूगर्भीय जानकारी दिन्छन् ।
इस्टोनियामा यस्ता एराटिक चट्टानहरू प्रशस्त पाइन्छन् । भीम्सी शपिङ सेन्टरको बीचमा रहेको यो विशेष ढुंगा अन्तिम हिमयुग सकिने बेला अर्थात् करिब १० हजार वर्ष अघि त्यहाँ आइपुगेको मानिन्छ ।
शपिङ मलको जग खन्ने बेलामा फेला परेको उक्त चट्टानलाई विस्फोट गरेर हटाउने योजना श्रमिकहरुले बनाइरहेको बेला स्थानीय हाबनेमे क्षेत्रका बासिन्दाहरू एक स्वरमा विरोधमा उत्रिए । जब भूगर्भशास्त्रीहरूले सो चट्टान एराटिक बोल्डर हो भनेर पुष्टि गरे, तब निर्माण कम्पनीसँग उक्त चट्टानलाई संरक्षण गरेर राख्ने बाहेक विकल्प नै रहेन ।
तर, निर्माण कम्पनीसँग शपिङ मलका लागि अर्को स्थान खोज्नु सम्भव थिएन, किनभने परियोजनामा पहिले नै धेरै लगानी भइसकेको थियो। अन्तत: उक्त विशाल ढुंगालाई यथास्थानमा राखेरै शपिङ सेन्टर बनाउने निर्णय गरियो । त्यो निर्णय सही सावित भयो । किनकि अहिले यो ढुंगा त्यहाँको एक अद्वितीय विशेषता बनेको छ ।
झण्डै एक दशक अघि भीमसी शपिङ सेन्टर पहिलोपटक सञ्चालनमा आएको बेला शपिङ सेन्टरभित्र त्यो विशाल ढुंगा रहेको दृश्य निकै अनौठो तथा नसुहाउँदो लाग्थ्यो । तर, समयसँगै मानिसहरू अभ्यस्त भए र सुपरमार्केटले पनि यसलाई वातावरणसँग घुलमिल गराउने विभिन्न उपायहरू अपनायो । जसअनुसार उक्त चट्टान भएको ठाउँलाई विभिन्न कलाकृति प्रदर्शन गर्ने स्थलका रूपमा प्रयोग गर्न थालियो । यसले गर्दा आज यो केवल ढुंगा मात्र नभई आकर्षक प्रदर्शनीको हिस्सा समेत बन्न पुगेको छ ।
प्रतिक्रिया 4