
७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतालाई गाली गर्ने प्रवृत्ति आजकल फेसन जस्तो भएको बताएका छन् ।
बुधबार काठमाडौंमा एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले कुनै इतिहास र त्याग नभएका मानिसहरूले लामो पृष्ठभूमिबाट आएकाहरूलाई गाली गर्ने गरेको भन्दै गुनासो गरेका हुन् ।
‘आजभोलि एउटा फेसनजस्तो भएको छ । लामो साधना, धेरै अध्ययन चिन्तन मनन, दर्शन, विचार, सिद्धान्त, विचार, राजनीति र संस्कृतिका विविध विषयमा गहिरो अध्ययन र ज्ञानको बलबाट आन्दोलन सृष्टि गर्ने र एउटा युगान्तकारी परिवर्तन देशमा ल्याउने पार्टी र नेताहरूलाई बडो तल उत्रिएर गाली गर्ने संस्कृति बढेको छ,’ उनले भने ।
प्रचण्डले थपे, ‘फेरि कुनै दार्शनिक आधार वैचारिक धरातल त्याग तपस्याका इतिहास नभएका मानिसले जनतालाई सजिलै भ्रमित पार्ने परिस्थिति देखिएको छ ।’
उनले निराशावाद र असन्तुष्टि फैल्याउनेलाई देशको सही इतिहास पढाउन पुस्तकको भूमिका हुने उल्लेख गरे ।
‘पुस्तकले निराशावादको व्यापार गर्ने, असन्तुष्टिको बजार फैलाउने, देशभक्ति होइन देश छोड्ने पलायनको प्रवृत्तिलाई प्रोत्साहित गर्ने ती सबै प्रवृत्तिहरूलाई त्यसका विरुद्ध प्रतिवाद गर्नका लागि एउटा राम्रो हतियार पुस्तक हुन्छन्,’ उनले भने ।
नयाँ पुस्ताले आफ्नो देशको इतिहासप्रति गर्व गर्नुपर्ने उनले बताए । उनले भने, ‘कुनै पनि देशको विकास आफ्नो देशको इतिहासप्रति गर्व गर्न सकेन भने, आफ्नो जाति, भाषा र संस्कृतिप्रति गर्व गर्न सकेन भने, विविधतालाई सम्मान गर्न सकेन भने त्यो देश सफल हुन सक्दैन ।’
उनले देशमा सबैले समान आत्मसम्मान पाउनुपर्ने बताए । ‘जुन पार्टीको प्रतिनिधित्व गरेर भए पनि महिला आउँदा मलाई गर्व लाग्छ । माओवादीले विद्रोह नगरेको भए यो अवस्था आउँदैनथ्यो,’ उनले भने ।
प्रतिक्रिया 4