
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालसँग छुट्टाछुटै छलफल गरेको छ।
- परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिमा जोड दिनुपर्ने र वैदेशिक लगानी आकर्षित गर्न कानुनी, नीतिगत सुधार आवश्यक रहेको बताए।
- परराष्ट्रमन्त्री देउवाले सरकारले निजी क्षेत्र प्रवर्द्धनका लागि कानुन संशोधन गरिरहेको र स्वदेशी वस्तु प्रयोग अनिवार्य बनाउने तयारीमा रहेको जानकारी गराइन्।
८ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालसँग छुट्टाछुट्टै छलफल गरेको छ ।
परराष्ट्रमन्त्री राणासँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिलाई जोड दिनुपर्ने बताए । उनले स्वदेशी लगानीले मात्रै देशले लिएको लक्ष्य हासिल गर्न सम्भव नभएको हुँदा वैदेशिक लगानी आकर्षित गर्ने कानुनी, नीतिगत एवं सहज व्यावसायिक वातावरण बनाउन आवश्यक रहेको बताए ।
उनले देशगत विशिष्ट आर्थिक रणनीति बनाउन, विदेशी बजारमा नेपाली वस्तु प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नियोगलाई प्रभावकारी परिचालन गर्नुपर्नेमा जोड दिए ।
परिसंघले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर बराबर पुर्याउने र दोहोेरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको उनले बताए । यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास समेत व्यक्त गरे ।
परराष्ट्रमन्त्री देउवाले स्वदेशीसँगै विदेशी लगानी बढाउन सरकारले कानुनी एवं नीतिगत सुधार प्राथमिकतामा राखेको बताइन् । सरकारले केही कानुन संशोधन गरिसकेको उदाहरण दिँदै उनले अन्य कानुन संशोधन गर्न लागेको समेत जानकारी गराइन् ।
उनले निजी क्षेत्रलाई प्रवर्द्धन नगरेसम्म आर्थिक विकास सम्भव नहुने हुँदा निजी क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको बताइन् ।
यसैगरी मुख्यसचिव अर्यालले नवनिर्वाचित परिसंघ टिमलाई बधाइ दिँदै उद्योग र निजी क्षेत्रविना अर्थतन्त्र अगाडि बढ्न सक्दैन भन्नेमा स्पष्ट रहेको बताए ।
निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न सरकारले कानुनी एवं नीतिगत सुधार प्राथमिकतामा राखेको उनले बताए । आर्थिक क्षेत्र, औद्योगिक विकास एवं वनसँग सम्बन्धित लगायत अन्य करिब १ सय २० वटा कानुन सरकारले संशोधनको तयारी गरिरहेको बताए ।
समग्र अर्थतन्त्रको विकासका लागि क्षेत्रगत रूपमा सुझाव दिनसमेत उनले आग्रह गरे । मुख्यसचिव अर्यालले स्वदेशी उत्पादन प्रयोग बढाउन सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धी निर्देशिका ल्याएको बताए ।
उनले सार्वजनिक खरिद ऐन संशोधन गरी अनिवार्य स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गर्न लागिएको समेत जानकारी गराए ।
प्रतिक्रिया 4