+
+
Shares

भैरहवा भन्सारले पूरा गर्न सकेन राजस्व लक्ष्य

लक्ष्य पूरा नभए पनि अघिल्लो वर्षभन्दा १४ अर्ब ३५ करोड अर्थात् १७ दशमलव ७५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ साउन १२ गते ८:५५

१२ साउन, बुटवल । भैरहवा भन्सार कार्यालयले गएको आर्थिक वर्षमा राजस्व लक्ष्य पार गर्न सकेको छैन । कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१/०८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन लक्ष्य दिएको थियो ।

गत वर्ष मात्र नभई २०७८ पछि लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको कार्यालयले जनाएको छ ।

कार्यालयले  ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ अर्थात् ८७.०७  प्रतिशत राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०-८१ का लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व संकलन लक्ष्य दिएकोमा आर्थिक वर्ष २०८०–८१ मा ८० अर्ब ७२ करोड रुपैयाँ अर्थात् ६३ दशमलव २४ प्रतिशत राजस्व संकलन गरेको थियो ।

बेलहिया नाकाबाट हुने आयात खुम्चिंदा भन्सारले राजश्व संकलन लक्ष्य पूरा गर्न नसकेको हो । राजस्व लक्ष्य पूरा नभएपनि अघिल्लो वर्षभन्दा १४ अर्ब ३५ करोड अर्थात् १७ दशमलव ७५ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा राजस्व संकलनमा  सुधार भएको रेग्मीले बताए । भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१-०८२ मा २ खर्ब ६३ अर्ब ८२ करोड मूल्यका विभिन्न सामान आयात हुँदा २० अर्ब ९२ करोडको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५२.९९ प्रतिशत निर्यातमा वृद्धि हुँदा व्यापार घाटा कम भएको छ ।

‘बर्सेनि बजेटको आकार बढ्दा लक्ष्य थपिए बढाइन्छ तर राजस्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिंदा लक्ष्यअनुसार राजस्व संलकन गर्न सकिएको छैन’, रेग्मीले भने, ‘तर, अघिल्लो वर्षको तुलनामा धेरै प्रगति भएको छ ।’

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन भए पनि त्यसयता यो अनुपात घट्दै गएको छ । आर्थिक वर्ष २०७८-०७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९-८० लक्ष्यको ४९ प्रतिशत, आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यको ६३  प्रतिशत, आर्थिक वर्ष २०८१-८२ मा लक्ष्यको ८७  प्रतिशत मात्रै राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार २०८१ साउन देखि २०८२ असार सम्ममा सबैभन्दा धेरै एक लाख ४४ हजार १९४ थान मोटरसाइकल १६ अर्ब ९१ करोड ८५ लाख ४४ हजारको आयात भएको छ । जसबाट १७ अर्ब २१ करोड २१ लाख २७ हजार राजस्व संकलन भएको छ ।

यस्तै चार अर्ब १५ करोड १५ लाख ३८ हजारको ३ हजार ७६१ थान जीप, कार, भ्यान आयात भई १० अर्ब ३५ करोड ४७ लाख ९६ हजार राजस्व असुली भएको छ । यसैगरी ६ अर्ब ८९ करोड ११ लाख ९ हजार मूल्यको पेट्रोल आयात भई ३ अर्ब ९७ करोड १५ लाख ६८ हजार राजस्व संकलन भएको छ ।

यस्तै डबल पिकअप गाडी, शुद्ध फलाम, मोवाइल फोन सेट, एमएस बिलेट, चकलेट र एलपी ग्यास समेतबाट अर्बौं रुपैयाँ राजस्व संकलन भएको छ । प्रमुख १० बस्तुको राजश्वमा योगदान ४४ अर्ब ८८ करोड ५३ लाख २७ हजार छ । यो कुल राजस्व संकलनको ४७ दशमलव १५ प्रतिशत रहेको सूचना अधिकारी चौधरीले बताए ।

बेलहिया नाका हुंदै चितवन, काठमाडौं लगायतका शहरमा हुने ढुवानी बुटवल-नारायणगढ सडक समयमा पूरा नहुँदा र पुल भाँचिदा आयातमा कमी आएको व्यवसायीहरु बताउँछन् । ‘विगतमा दैनिक ५०० बढी ट्रकमा सामान आयात हुन्थ्यो अहिले ३०० झरेको छ’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले भने ।

भन्सार विभागले आर्थिक वर्ष २०८२–०८३ मा भैरहवा भन्सारलाई १ खर्ब १३ अर्बको लक्ष्य तोकेको छ ।

रुपन्देहीमा राजस्व संकलन वृद्धि

रुपन्देहीमा गत वर्षको तुलनामा राजस्व संकलन केही बढेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–०८२ मा रुपन्देहीबाट १ खर्ब २० अर्ब ६९ करोड ८८ लाख ४६ हजार ८ सय २६ रुपैयाँ ६७ पैसा राजस्व आम्दानी भएको छ ।

आर्थिक वर्ष २०७९–०८० मा १ खर्ब २ अर्ब २२ करोड ३० लाख ३७ हजार ८ सय ९० रुपैयाँ ६३ पैसा राजस्व आम्दानी भएको थियो । यस्तै वर्ष २०८०–८१ मा १ खर्ब ४ अर्ब ८१ करोड ३८ लाख १० हजार ६ सय ९४ रुपैयाँ ८७ पैसा राजस्व आम्दानी भएको थियो ।

रुपन्देहीमा सबैभन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले ९५ अर्ब १९ करोड रुपैयाँ, आन्तरिक राजस्व कार्यालय भैरहवाले १२ अर्ब ९८ करोड र आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब ६३ करोड राजस्व आम्दानी गरेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?