
News Summary
Generated by OK AI. Editorially reviewed.- सूचना तथा सञ्चारप्रविधिको तीव्र विकासले संसारलाई ग्लोबल भिलेजमा परिणत गरिदिएको छ र जीवनलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ।
- आजको समाज उपभोगवादी सोचले जकडिएको छ जसले मानिसहरूलाई अनावश्यक दौडधुपमा फसाएको छ र पारिवारिक समय घटाएको छ।
- सामाजिक सञ्जालले मान्छेलाई भर्चुअल रूपमा नजिक बनाएको छ तर प्रत्यक्ष मानवीय सम्पर्क घटाएको छ र सम्बन्धहरू लाइक, सिन र रियाक्टमा सीमित भएका छन्।
आजको युग अत्याधुनिक बनेको छ । सूचना तथा सञ्चारप्रविधिको तीव्र विकासले संसारलाई ग्लोबल भिलेजमा परिणत गरिदिएको छ । प्रविधिको प्रगति, यातायातको सहजता, सञ्चारको तीव्रता र सेवाको सुलभताले हाम्रो जीवनलाई कहिल्यै नसोचेको गतिमा अगाडि बढाइरहेको छ । आजको युगलाई गति र प्रविधिको युग भनिन्छ । हिजो जुन काम गर्न वर्षौं लाग्थ्यो, आज त्यो सेकेण्डमा सकिन्छ । विडम्बना, संसार छिटो भयो मानिस आफैंबाट झन्–झन् टाढा ।
पहिले घण्टौं लाग्ने यात्रा अहिले केही घण्टामा सकिन्छ । तैपनि ऊ भन्छ– समय छैन । उहिले १२/१५ जनाको परिवार हुन्थ्यो । अहिले बढीमा ४ जनाको । तैपनि समय छैन । उहिले हालखबर बुझ्न महिनौं लाग्थ्यो, अहिले सेकेण्डभरमै । तैपनि ऊ भन्छ, समय पुगेन । पहिल सशरीर उपस्थिति हुन वर्षौं कुर्नुपर्थ्यो । अहिले संसारको जुन कुनामा भए पनि सेकेण्डभरमै अनुहार हेरेर संवाद गर्न सकिन्छ । तैपनि मान्छेलाई भ्याईनभ्याई छ । घण्टौं हिंडेर पुगेको बैंकमा चार घण्टा कुरेपछि बल्ल पालो आउँथ्यो । अहिले हातहातबाटै कारोबार गर्न सकिने भयो । तैपनि ऊ भन्छ– समय भएन ।
साँघुरिंदैछन् मानव सम्बन्ध
एक समय थियो जहाँ भेला हुन्थे एक दर्जन आफन्त । खरले छाएको त्यो ठाँटी घरमा पाहुना खाली कहिल्यै भएनन् । आज घरमा दुई आत्मा बाँकी छन् तर पनि मान्छेसँग समय छैन । संसार चलिरहेछ, मान्छे दौडिरहेछ तर कहाँ ? किन ? र कसका लागि ? थाहा छैन उसलाई किनभने सोच्ने समय पनि त छैन । एउटा हातमा स्टेरिङ्ग, अर्को हातमा मोबाइल फोन तुरुन्त वाट्सएप गर्नुछ । हतार छ उसलाई किनकि ऊसँग समय छैन । पैदलमै कति यात्रा सकिए उहिले ट्राफिक जाम थाहै पाएनन् । अहिले ट्राफिक जाममा पनि उसलाई कुद्नुपर्छ । किनकि ऊसँग समय नै छैन ।
जब समूहमा बस्यो पूरै औंला बिजी । मन कतै अन्यत्र शरीर यतै कतै, एकत्र गर्न ऊसँग समय छैन । एक्लो हुँदा पनि रेस्टलेस हुन्छ । मन र तनको तालमेल मिल्दैन । तालमेल मिलाउन ऊसँग समय छैन ।
न समय छ कुनै पुस्तक पढ्न । न समय छ बा आमालाई एकैपटक फोन गर्न । न समय छ इष्टमित्र भेट्न । न समय छ प्रकृतिसँग खेल्न । तर आईपीएल कमै छुटाउँछ । नेटफ्लिक्समा मस्त देखिन्छ । रिल्स र टिकटकमा झुमेको देखिन्छ । बुझ्दै नबुझी राजनीतिक बहसमा रमेको भेटिन्छ । तर आफ्नै लागि समय छैन ।
संसार सामान्य बन्दै गयो । प्रविधिले सबै छिटो र नजिक बन्दै गए । तर मान्छे आफैंबाट टाढा हरायो । सुविधाले अवसर जन्मायो सम्बन्धहरूमा दूरी बढायो । शान्तिले बस्न, आफैंलाई सुन्न अनि आफैंलाई बुझ्न अहँ ऊसँग समय छैन । र एकदिन समय नै चिप्लिन्छ, अनि अन्तिम क्षणमा बल्ल बुझ्छ । झल्यास्स हुन्छ । तर अतीतका लागि पछुतो मान्ने पनि समय नै हुँदैन । पहिले समय त थियो, तर जिउनै भुल्यो । अब कहिल्यै आउने छैन । त्यो समय जहाँ आमाबाका सुम्सुम्याहटले दुखाइ निको हुने दिनहरू । कहिल्यै आउने छैनन्, नाताकुटुम्बले घेरेर गफैगफमा रात बिताउने दिनहरू । त्यसैले आजैबाट निर्णय गर केही समय आफ्नाका लागि राख । केही समय सम्बन्धहरूका लागि राख । अलिकति आफ्नै मुटुका लागि बाँच अनि बाँच शान्तिका लागि । जीवनको सारका लागि ।
अहिलेको मानव जीवन चक्रव्यूहमा फसेको छ । जहाँ काम छ । पैसा छ । प्रविधि छ । गाडी छ । आराम छ तर मनको शान्ति छैन । कतिसम्म भने हामी आफ्नै परिवारभित्र अपरिचित बनिरहेका छौं । अहिले सफलता मापन हुने मानक पैसा, पद र लोकप्रियतासँग जोडिएको छ । हामी शान्त बस्न सक्दैनौं किनभने यहाँ घर छोड्नुपर्छ । देखाउनकै लागि भए पनि घर गाडी जोड्नुपर्छ । घर नछोड्नेलाई समाजले केही गर्न नसक्ने भन्छ । असफल मान्छ । देशमै केही गर्छु भन्नेलाई देशमा केही छैन भन्ने भ्रम छर्छन् ।
सम्बन्धहरू लाइक, सिन र रियाक्टमा सीमित छन्
कुनै समय थियो घाम हेरेर घडी विनै समय थाहा पाउने । भाले बास्दा बिहान हुन्थ्यो । सूर्य अस्ताउँदा विश्रामको संकेत हुन्थ्यो । अहिले हातहातमा घडी छ तर समय छैन । डिजिटल क्यालेन्डरले दिन देखाउँछ । तिनले मूल्य बोकेका छैनन् । घण्टी रिमाइन्डर, अलार्म सबै छ तर ध्यानकेन्द्रित छैन । लाग्छ, हामी समयको मालिक होइन दास बनिरहेका छौं । बिहान उठ्दा उठ्दै इमेल चेक गर्ने, दिउँसो काम, मिटिङ, साँझ नेट फ्लिक्स अनि सोसल मिडिया । दिनभर व्यस्त हुन्छौं तर सन्तुष्ट छैनौं अथवा अकुपाइड भयौं फुलफिल भएनौं ।
किन बस्न गाह्रो हुन्छ केहीबेर पनि विना मोबाइल ? विना संगीत ? विना सूचना ? किनभने जब हामी आफैंसँग भेटिन्छौं र ती भेटहरू सहज बन्दैनन् । आफ्ना अधुरा सपना, छुटेका स्मृति, नबोलेका माफी, बुझेका तर स्वीकार गर्न नसकेका गल्तीहरू । जुन कुराहरूलाई हामीले मनमा कैदी बनाएका छौं । अर्काले कति कमायो, कहाँ पुग्यो, कहाँ घुम्यो, के लगायो, कुन मोटर चढ्यो यी सब कुराले हाम्रो मनको शान्ति लुटिरहेको छ । हामी अरूको जीवनको छायाँका पछि दौडिरहेका छौं ।
बुवाका पालामा समाजमा परिवार, छिमेकी, गाउँ सबैसँग मानिसको सम्बन्ध जीवित थियो । आज हामी शारीरिक रूपमा जोडिएका त छौं तर भावनात्मक रूपमा विच्छेद भएका छौं । सम्बन्धहरू लाइक, सिन र रियाक्टमा सीमित छन् ।
पहिला सामाजिक सम्बन्धहरू भेटघाट, चिठीपत्र वा प्रत्यक्ष कुराकानीबाट कायम गरिन्थ्यो । आजभोलि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक आदिले मानिसहरूलाई भर्चुअल रूपमा नजिक बनाएको छ । प्रत्यक्ष मानवीय सम्पर्कलाई भने घटाएको छ । र, यसले मानिसलाई एक्लो तनावग्रस्त र कहिलेकाहीं अनावश्यक र अवास्तविक सम्बन्धहरूमा बाँधिदिन्छ ।
उपभोगवादी सोच हावी हुँदैछ
आजको समाज उपभोगवादी सोचले जकडिएको छ । अरूभन्दा माथि उठ्ने, जसरी हुन्छ कमाइ बढाउने, छिटो सम्पन्न बन्ने जस्ता मनोवृत्तिले मानिसहरू अनावश्यक दौडधुपमा फसेका छन् । दैनिक कामहरूमा आवश्यकभन्दा बढी समय, श्रम र तनाव लिइरहेका छन् । खानपान, आराम, पारिवारिक समय, आत्मचिन्तन यी सबै चीजहरू कटौती गर्दा मानिस मानसिक रूपमा खोक्रो बन्दै गएको छ । दैनिक कामको चाप, अनावश्यक व्यस्तता र सोसल मिडियाको अत्यधिक प्रयोगले पारिवारिक समय घटाउँदै लगेको छ । बालबालिकासँग समय बिताउने, वृद्ध आमाबुबाको ख्याल गर्ने, छिमेकीसँग गफिने, साथीभाइसँग आत्मीय सम्बन्ध बनाउने अभ्यास हराउँदै गएको छ ।
वास्तवमा मानव जीवन अत्यन्त सुन्दर छ । अरू जीवहरूले बुझ्न, देख्न र भोग्न नपाएको जीवन मानवले मात्रै पाएको छ । यस्तो अनुपम जीवनलाई सार्थक बनाउन आफूले गर्ने कर्मलाई स्वमूल्यांकन, स्वनियन्त्रण र स्वअनुशासित बनाउनुपर्छ । पूर्वीय दर्शनले मानिसको हरेक गतिविधिलाई परिवारसँगको सम्बन्ध, समाजसँगको, राज्यसँगको र प्रकृतिसँगको सम्बन्ध र कर्तव्यसँग जोडेर हेरेको छ । जुन व्यक्तिले आफ्नो अधिकार कर्तव्य र सम्बन्धबीच त्रिकोणात्मक सन्तुलन कायम गर्न सक्छ, ऊ सदाचारको मार्गमा हुन्छ । जसले पारिवारिक जीवन सहज र माधुर्य बनाउँछ । र, पारिवारिक माधुर्यताले व्यक्तिको सामाजिक जीवनलाई समेत मर्यादित बनाउँछ ।
अन्त्यहीन दौडधुपमा जीवन
हामी कस्तो समयबाट आजको समयमा आइपुगेका छौं र अगाडिको जीवन कस्तो हुनेछ । हामीले गरिआएका, सत्य मानेका कुराहरू भोलि यस्तै हुने छैनन् । कतिका स्वरुप परिवर्तन होलान् कति लोप भएर जालान् । आज पानी, बिजुलीको बिल तिर्न, टेलिफोनको बिल तिर्न तिनका कार्यालय पुगेर लाइन बस्नुपर्दैन । भान्सादेखि हामीलाई आवश्यक सामान किन्न बजार धाइरहनुपर्दैन । अफिसका काम घरमै बसेर भएका छन् । यसले जीवन धेरै सहज बनाएको छ । तर आफ्नै जीवनशैलीलाई जटिल बनाउँदै लगेको छ ।
दौडधुप जीवनको हिस्सा हो तर त्यो उद्देश्यपूर्ण, सन्तुलित र आत्मसन्तुष्टिको दिशामा हुनुपर्छ । केवल देखावटी, प्रतिस्पर्धा, लोभ वा दबाबका कारण गरिएको दौडधुप अन्तत: आत्माहीन र पश्चात्तापमा परिणत हुन्छ । सुख भनेको कति कमाएँ भन्नेमा होइन कति सन्तुष्टि पाएँ भन्नेले निर्धारण गर्छ । त्यसैले जीवनको गति कहिले अलिक छिटो होला कहिले ढिलो पनि गर्नुपर्छ र कहिलेकाहीं पूर्ण रूपमा रोकेर आफूलाई बुझ्नुपर्छ ।
प्रतिक्रिया 4