+
+
Shares

डरलाग्दो तर सुन्दर ‘लाबुबु डल’ले किन विश्व ततायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको पप मार्ट कम्पनीले सन् २०२३ मा कलाकार कासिङ लुङसँग सहकार्य गरेर \'लाबुबु डल\' नामक ब्लाइन्ड बक्स खेलौना बजारमा ल्याएको थियो।
  • कोरियन ब्यान्ड ब्ल्याकपिङ्ककी लिसाले सन् २०२४ मा इन्स्टाग्राममा लाबुबु डलको तस्बिर पोस्ट गरेपछि यो खेलौना विश्वव्यापी रूपमा भाइरल भयो।

सन् २०१५ मा हङकङका चर्चित कलाकार कासिङ लुङले आफ्नो ‘द मन्स्टर्स’ नामक चित्र पुस्तकका लागि एउटा काल्पनिक पात्रको रूपरेखा कोर्छन् । ठूला आँखा, तिखा दाँत, लामो कान र अनौठो मुस्कान भएको उक्त पात्र पहिलो नजरमा डरलाग्दो देखिन्छ । फेरि हेर्दै गयव भने ‘क्युट’ र आकर्षक पनि लाग्छ ।

आज यो पात्र ‘लाबुबु डल’ नामले विश्वव्यापी रूपमा चिनिएको छ । खास केही छैन । तर इन्टरनेट तताएको छ । यो अन्य खेलौना गुडिया जस्तै हो । तर फेसन ट्रेन्ड बनेको छ । नयाँ केही छैन । तर नयाँ पुस्ताका लागि यो प्रिय बनेको छ ।

हुँदाहुँदै लाबुबु डल नेपालमा समेत उपलब्ध भइसकेको छ । टिकटक, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा यसको चर्चा भेटिन थालिसकिएको छ । चाहे त्यो विक्रेताको भिडिओ होस् या ग्राहकको । लाबुबु डल नेपाल छिरिसकेको छ ।

तर एउटा सामान्य खेलौना कसरी ग्लोबल ट्रेन्ड बन्यो त !

लाबुबुलाई चिनियाँ खेलौना निर्माता पप मार्ट नामक कम्पनीले सन् २०२३ मा पहिलो पटक बजारमा ल्याएको थियो । यो कम्पनीले कलाकार लुङसँग सहकार्य गरेर ‘द मन्स्टर्स’ सिरिजमा यही प्रकृतिका थुप्रै गुडियाहरू बनाइसकेको थियो ।

लाबुबु विश्वव्यापी हुनुमा यसको चारित्रिक विशेषतासँगै विक्री गर्ने शैलीको ठूलो भूमिका छ । किनकि कम्पनीले यो खेलौनालाई ‘ब्लाइन्ड बक्स’ ढाँचामा बेच्ने गर्छ ।

यो भनेको ग्राहकले खेलौनाको बक्स नखोल्दासम्म कस्तो खेलौना परेको छ भनेर थाहा पाउँदैनन् । जुन कुरा आफैंमा रोमाञ्चक र रमाइलो छ । त्यहीँ उत्साहले गर्दा भित्रको खेलौना कस्तो छ भनेर पनि ग्राहकहरूले लाबुबु किन्न थाले । यो व्यापारिक रणनीतिले लाबुबुको विक्री र लोकप्रियतामा ठूलो योगदान पुग्यो ।

त्यसमा सामाजिक सञ्जालले थप महत्त्वपूर्ण भूमिका खेल्यो ।

किनकि मानिसहरूले आफूहरूलाई कस्तो प्रकारको लाबुबु पर्‍यो भनेर सञ्जालमा शेयर गर्न थाले । जसले गर्दा नकिन्ने मान्छेलाई पनि लाबुबु किन्न बाध्य पारिरहेको थियो ।

यसबाहेक एउटा घटनाको चर्चा गर्नै पर्छ ।

सन् २०२४ मा कोरियन ब्यान्ड ब्ल्याकपिङ्ककी गायिका लिसाले आफ्नो इन्स्टाग्राममा लाबुबु डलसहितको तस्बिर पोस्ट गर्छिन् । त्यसपछि त झन् लाबुबु ट्रेन्ड एकाएक भाइरल हुन्छ ।

त्यसपछि अन्य विश्वप्रसिद्ध सेलिब्रेटीहरूले पनि लाबुबुलाई ब्याग वा फेसन एक्सेससरिजका रूपमा प्रयोग गर्छन् । जसमा रिहाना, किम कार्दाशियन, डेभिड बेकहम जस्ता सेलिब्रेटीहरू पर्छन् । उनीहरूले सञ्जालमा हाल्नाले लाबुबुको माग ह्वात्तै बढ्छ ।

त्यस्तै अर्को कारण यसको भौतिक कुरा नि हो ।

लाबुबुलाई नरम र फ्लफी सामग्रीले बनाइन्छ । यसो हुँदा यसलाई प्लस टेडी पनि भनिने गरिन्छ । यसको रङ गुलाबी, बैजनी, हरियो र अन्य पेस्टल शेडहरूको मिश्रण जस्तो देखिन्छ । ठूला आँखा, तिखा दाँत, लामो कान र अनौठो मुस्कान त छँदै छ ।

अहिले बजारमा लाबुबुका विभिन्न संस्करणहरू उपलब्ध छन् । जस्तो: सामान्य, सीमित, सेलिब्रिटी संस्करण आदि । ती मध्ये कतिपय संस्करणमा बत्ती वा आवाज पनि राखिएका हुन्छन् । यीमध्ये सीमित संस्करणका लागि सङ्कलनकर्ताहरूले जोडबल नै देखाउने गर्ने गरेका छन् । त्यसो हुँदा यो गुडिया दुर्लभ र मूल्यवान् बन्न गएको छ ।

बीबीसीका अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा मात्रै करिब ४० करोड अमेरिकी बराबरको यो गुडिया विक्री भएको छ । आज बजारमा यो खेलौनाको मूल्य ५ हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म पर्ने बताइन्छ । अझ कतिपय सीमित संस्करणहरूको मूल्य लाखौं रूपैयाँसम्म पर्नेछ ।

केही समयअघि मात्रै एउटा लाबुबु डल १ करोड बढी रूपैयाँमा विक्री भएको थियो । यसले भने लाबुबु डल केवल खेलौना नभई ‘स्टेटस सिम्बल’ र ‘लगानीको वस्तु’ बनेको देखाएको छ ।

लाबुबु डलको लोकप्रियतासँगै यससँग जोडिएका विवादहरू पनि उत्तिकै चर्चामा छन् । किनकि कतिपयले यो डललाई ‘शैतान’का रूपमा अर्थ्याइरहेका छन् । जुन यसको डरलाग्दो रूपका कारण मान्छेहरूले आरोप लगाएका हुन् ।

कतिपयले आफ्नो डल जलाउने वा फालेको भिडियो बनाएर सञ्जालमा हाल्ने पनि गरिरहेका छन् । यद्यपि यस्ता दावीहरूको कुनै ठोस प्रमाण भने छैन ।

यति हुँदाहुँदै पनि लाबुबु डलले सांस्कृतिक रूपमा प्रभाव पार्न छाडेको छैन । विशेष गरी अनौठो र क्युट चीजप्रति मोह हुने संस्कृतिको विस्तार गर्न यो डलले भूमिका खेलिरहेको छ । यसैले युवा पुस्ताबीच यो डल व्यक्तित्व र शैलीको हिस्सा बनिरहेको हो ।

तर यो ट्रेन्ड कति टिक्छ भनेर हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?