
१५ साउन, काठमाडौं । बसन्तपुर क्षेत्रमा रहेको महेन्द्रेश्वर महादेव अर्थात ‘मखन महादेव’ को आज रुद्राभिषेक गरिएको छ । हरेक वर्ष साउन १५ गतेको दिन मखन महादेवलाई स्नान गराउने र पूजा गर्ने चलन छ ।
यही चलनअनुसार आज बिहान महादेवको पूर्णकदको मूर्तिलाई दूध, दही, मह मिश्रित पञ्चामृतले स्नान गराइएको छ । यहाँ हरेक वर्ष साउन १५ गते ‘दुग्ध स्नान’सहित विशेष पूजा गरिन्छ ।
‘सानो पशुपति’ र ‘मखन महादेव’ भनेर पनि चिनिने सो मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा पूजा गर्नेहरुको घुइँचो लाग्दछ ।
राजा महिन्द्र मल्लले नेपाल सम्बत ६७४ मा पशुपतिनाथको जस्तै मन्दिर बनाई ‘महेन्द्रेश्वर महादेव’ प्रतिस्थापन गराएका थिए । किंवदन्ती अनुसार राजा महिन्द्र मल्ल दिनहुँ पशुपतिनाथ मन्दिर धाई भक्ति गरेको देखेर शिव प्रसन्न भई राजाले भनेकै स्थानमा आएर बसिदिने वरदान दिएअनुसार ‘महेन्द्रेश्वर महादेव’ मन्दिर बनाएका थिए ।
बसन्तपुर दरबारको उत्तर दिशामा अवस्थित यो मन्दिर विक्रम संवत् १९९० को भूकम्पमा भत्किएको थियो । विक्रम संवत् १९९५ मा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले त्यसको जिर्णोद्वार गराएका थिए ।
प्रतिक्रिया 4