+
+
Shares

मो यान र माओको मृत्यु उत्सव

इतिहासका ठूला घटना र दु:खान्तलाई भुइँमान्छेहरूको माध्यमबाट सहजै भन्न सकिन्छ भन्ने बेजोड उदाहरण हुन्– मो यानका दुई उपन्यास ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १७ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखक मो यानका दुई उपन्यास विग ब्रेष्ट वाइड हिप र लाइफ एण्ड डेथ आर वेयरिङ मि आउट चीनको राजनीतिक, सामाजिक इतिहास र महिलाको अवस्था चित्रण गर्छन्।
  • लाइफ एण्ड डेथ आर वेयरिङ मि आउट उपन्यासमा जमिनदार सिमेन नाओले विभिन्न जनावरका अवतार लिएर चीनको ५० वर्षको इतिहास अवलोकन गर्छ।
  • विग ब्रेष्ट वाइड हिप उपन्यासले १९११ देखि २००० सम्मको चीनमा महिलाहरूको जीवन र सामाजिक परिवर्तनलाई मुख्य कथामा समेटेको छ।

त्यो उपहार

गत वर्ष त्यता पुगेको बेला मो यानका उपन्यासहरू पाइन्छन् कि भनेर सिनिङका पुस्तक पसलहरू चहारेको थिएँ । हामीलाई डुलाउन लिएर हिंड्ने गाइड भने यसबारे खासै जानकार भए जस्तो लागेन ।

पुस्तक पसलमा पनि मो यानका पुस्तकका अंग्रेजी भर्सन भेटिएनन् । यता मण्डला बुक्समा धेरैपटक मो यानका उपन्यासको अनूदित भर्सन पाइन्छ कि भनेर बुझेको र रित्तै हात फर्केको थिएँ ।

अमेरिकातिर छापिने अंग्रेजी भर्सनका उनका पुस्तकको अनुवाद यता आयो भने पनि निकै महँगो पर्नेछ भन्ने सुनेको थिएँ ।

छिङहाइको राजधानी सिनिङ झण्डै २४ लाख जनसंख्या भएको पुरानो तर चीनको सुदूर प्रान्तको शहर हो । बुक्स एण्ड कफी क्याफेको फेसन त्यता पनि पुगेको रहेछ । साथी दीपक सापकोटाले त्यसको फोटो पनि खिचेको त थियो तर त्यसमा पुगेर स्वाद लिन समयले दिएन ।

त्यहाँ मो यानका पुस्तक नपाइनु अलि अनौठो लागेको थियो शायद हामी जहाँ पाइन्थ्यो त्यहाँ पुग्न पाएनौं कि ? पुस्तक पसल चहार्ने सहयोगी थिए नेपाली नाम प्रकाश राखेका एक जना विद्यार्थी । टुटेफुटेको नेपाली बोल्थे अनि अलिकति अंग्रेजी पनि ।

हामी काठमाडौं फर्कनु भन्दा अघिल्लो दिन राति अबेर हामी होटल फर्कंदा वाण्डाभिष्टा होटलकी रिसेप्सनिष्टले मलाई एउटा झोला दिइन् तिम्रा लागि कसैले यो गिफ्ट छाडेको छ भन्दै । जम्मा एक साताको बसाइ । कसैलाई विशेष मित्र बनाइएको थिएन । कसले पो यस्तो उपहार दियो भनेर छक्क परें ।

कोठामा पुगेर प्याक खोलेर हेर्दा भेटिए मो यानका दुई उपन्यास : विग ब्रेष्ट वाइड हिप र लाइफ एण्ड डेथ आर वेयरिङ मि अउट । अहो यो भन्दा खुशीको कुरा के हुनसक्थ्यो?

उही प्रकाशले कतैबाट अनलाइन अर्डर गरेर मगाएछ र मलाई उपहारस्वरुप दिइपठाएछ । उसलाई विच्याटबाट धन्यवाद पठाएँ र पैसा दिन्छु कतिको हो भनेर सोधें उसले नाइँनास्ति गरिरह्यो । काठमाडौं फर्केपछि विस्तारै पढ्न थालें ।

दुई वटा गरेर ११०० पेज बढीका यी उपन्यास कहिले बीचैमा पढ्न छाडेर, कहिले ढिलो पढेर, कहिले त सक्किइपो हाल्छ कि भन्दै डराई–डराई ढिलो गरेर निकै लामो समय लगाएर पढिसिध्याएँ । यी दुवैको अनुवाद गरेका रहेछन् हवार्ड गोल्डव्लाटले अनि छापिएका रहेछन् एकेडेमिक पब्लिसिङ न्युयोर्कबाट, शायद चीनमा पनि छापिने बन्दोबस्त गरेको हुँदो हो ।

यी ठूला आकारका क्लासिक उपन्यासको समीक्षा प्रस्तुत गर्नु मेरो क्षमता र यताको स्पेस दुवैले दिन्नन् । यी उपन्यासको जजमेन्ट पनि म गर्न चाहन्नँ । यसैले यहाँ म दुई उपन्यासको सामान्य कथासार र केही सन्दर्भहरू सहित परिचयात्मक टिप्पणी पाठकहरूसमक्ष प्रस्तुत गर्नेछु ।

माओको मृत्युको यस्तो उत्सव शायदै कहीं मनाइयो होला । तर चीनभित्र उनको शासनकालमा उकुसमुकुसमा परेका कतिपय मानिसले उनको मृत्युलाई खुशीको घटनाका रूपमा लिएका थिए भन्नेतिर यसले संकेत गर्छ ।

लु शुन पछि आम नेपाली पाठकको वृत्तमा चिनिने या सुनिएका थोरै चिनियाँ लेखकमध्ये पर्छन् मो यान । त्यो पनि उनलाई पढेर भन्दा उनले सन् २०१२ मा पाएको साहित्यतर्फको नोबल पुरस्कारका लागि । उनी सन् १९५० को दशकको चीनमा जन्मे । क्रान्ति भर्खर सकिएको, भूमिसुधार, सहकारीहरूको स्थापना, भूमिको सामूहिकीकरण, कम्युनहरूको स्थापना, ग्रेट लिप फरवार्ड, राजनीतिक अन्तरसंघर्ष र हजारौं राजनीतिक नेता कार्यकर्ताको उत्थान तथा पतन, अनिकाल, सांस्कृतिक क्रान्ति, देङको आर्थिक सुधार, आर्थिक सुधारसँगै नयाँ वर्गले लिएको लाभ, असन्तोष, हड्ताल र आन्दोलनहरू, बेरोजगारी जस्ता उनको समयका घटनाका उनी आफैं भोक्ता र द्रष्टा हुन् ।

समग्रमा एउटा गाउँका अनेक पात्रहरू मार्फत भनिएका उपरोक्त राजनीतिक, आर्थिक तथा सांस्कृतिक उथलपुथलका कथा नै मो यानका कथा हुन् । शुरुमा चिनियाँ सेनामा भर्ती भएर विश्वविद्यालयमा अध्ययन पनि गर्दै गएका मो यान पछि पूर्णकालिक लेखक बने र सर्वकालिक कृतिहरू दिए । धेरै उपन्यास र कथा लेखेका मो यानका मैले चैं तीनवटा मात्र पढ्न पाएको छु । जादुयी यथार्थवाद उनको लेखनशैली हो ।

उनको उपन्यास दि रेड सरघम पढ्दा नै चीनको इतिहासको गहिरो ज्ञान र गृहयुद्ध तथा जापानी आक्रमणका कारणले विथोलिएको चिनियाँ समाजको लय समातेर कथा भन्ने उनको अद्भुत क्षमताबाट म प्रभावित भएको थिएँ । पूरै रैथाने समाज र संस्कृति सहितको जराको स्वाद ।

उनको यही उपन्यासमा आधारित भएर प्रसिद्ध सिने निर्देशक चाङ इ मोउले सिनेमा बनाएका थिए । केही वर्ष प्रतिबन्ध भएपछि मात्र यो चीनमा प्रदर्शनमा आएको थियो । सिनेमा पनि यतै हेर्ने अवसर मिलेको थियो शायद चिनियाँ फिल्म महोत्सवका समयमा । नेपालमा धेरैले यी निर्देशक र उक्त सिनेमा बारे जाने–सुनेकै हुनुपर्छ ।

विग ब्रेष्ट, वाइड हिप

नेपालीमा यो उपन्यासको नाम उल्था गर्नु पनि अलिअलि संकोच लाग्दोरहेछ । तर यो ठूला स्तन र चौडा नितम्ब भएकी एक जना चिनियाँ महिलाको जीवन भोगाइबाट भनिएको झण्डै सय वर्ष समेटिएको चिनियाँ समाजमा महिलाहरूको अवस्था झल्काउने कथा हो । समाज र परिवारको विघटनको कथा पनि हो ।

सामन्तवादी पूर्वीय समाजको चरित्र उस्तै उस्तै नेपालको पनि मिल्ने । सन् १९११ मा सन यातसेनको नेतृत्वमा भएको चिनियाँ वुर्जुवा क्रान्ति र त्यसयता युद्ध सरदारहरूले नियन्त्रण गरेका, जापानले आक्रमण गरेको, कम्युनिष्टले गृहयुद्ध गरेको र जनवादी गणतन्त्र स्थापना भएको समयका चीनले व्यहोरेका अजंगका हेरफेर, त्यसमा परेर छिन्नभिन्न भएका परिवार, क्रान्ति र युद्धले निम्त्याउने ध्वंस, नायक र खलनायक तथा तिनका वीरताको पछि लाग्ने युवतीहरूको कथा हो ।

विशाल फलकमा रचिएको यो उपन्यासले खासमा सन् १९११ यता सन् २००० सम्मको चीनको असाधारण समयको कथा भन्छ ।समाज, अर्थतन्त्र र राजनीतिमा आइरहेका परिवर्तन, जापानी आक्रमण र प्रतिरोध, विभिन्न युद्ध सरदारहरू, कम्युनिष्ट विद्रोह र शान्तिकालका समयमा एउटी महिलाको समग्र जीवन र उनका आँखाबाट देखिएको संसार यसको कथा अन्तर्य हो । यसले चीनमा भएका हरेक उथलपुथल र क्रान्तिसँगै महिलाहरू कसरी रूपान्तरित हुँदै गए, कसरी उनीहरू क्रमशः सामन्तवादी चिन्तन र शोषणबाट स्वतन्त्र भए र पनि उनीहरूको जीवन अन्ततः पुरुषहरूकै व्यक्तित्वमा विलीन हुनेगर्छ भन्ने पक्षलाई विस्तारमा चर्चा गरेको छ ।

मलाई लाग्छ चिनियाँ कम्युनिष्ट पार्टी, त्यसले सञ्चालन गरेको राजनीतिक अभियान, आर्थिक नीति र त्यसका प्रभावहरूलाई निर्मम तरिकाले उधिनेर बाहिर ल्याउने यति शक्तिशाली लेखक अर्को नहोला जो चीनमै बसिरहेको छ र नोबल पुरस्कार पाएको छ ।

यो उपन्यासको कथाभूमि उत्तरी गाओमी काउण्टीकै एउटा टिपिकल चिनियाँ गाउँमा उनिएको छ । उनका सबैजसो उपन्यास र कथामा उनको जन्मस्थान उत्तरी गाओमी काउण्टीकै कुनै गाउँहरू र वरपरका शहरबजार छन् । हाम्रा आख्यानकार नारायण ढकालले मूलपानी वरपरको काँठलाई कथाभूमि बनाएर तीन–चार वटा उपन्यास लगातार लेखे जस्तो ।

कथाकी मूलपात्र छ शाङगुआन लुशी । आमा । ऊ धनी परिवारमा हुर्केकी हुन्छे । उसकी आमाले अर्कैको गर्भ लिएर जन्माएकोले जसलाई बाबु भनिन्छ ऊ वास्तवमा उसकी आमाले अपनाएको लोग्ने हुन्छ । सानैदेखि उसलाई चिनियाँ परम्परा अनुसार खुट्टामा डोरीले बाँधेर खुट्टा साना बनाउने गरी हुर्काइन्छ ।

सन् १९११ को क्रान्तिपछि सरकारी अधिकारीहरूले यस्तो प्रचलन खारेज गर्न दबाब त दिन्छन् तर आमाले जोगाएर राख्छे । एउटा लमी मार्फत फलामको काम गर्ने परिवारमा लुशीको बिहे हुन्छ । लोग्नेका कारणले सन्तान जन्माउन असफल हुन्छे । सासूले छोरालाई लगाएर पिटाउन थाल्छे ।

जब सुधार शुरु हुन्छ कम्युनहरू ढल्छन् । फेरि निजी प्लटमा खेती गर्ने समय आउँछ । मानिसहरू जो कम्युनका लागि मरिमेटेका थिए, क्रान्तिका सिपाही थिए तिनीहरू अब अवसादमा जान्छन् । लान लियान शिर ठाडो पारेर उभिन्छ ।

हैरान परेपछि लुशी माइत जान्छे र आमालाई गुनासो गर्छे । आमाले छोरी र आफ्नो लोग्नेलाई रक्सी पियाउँछे र सँगै सुत्न लगाउँछे । अर्को वर्ष छोरी जन्मिन्छे । फेरि सासूले गाली गर्न थाल्छे छोरो चाहियो भनेर । आफ्नो झड्केलो बाबुसँगबाटै गर्भ लिएर फेरि अर्की छोरी जन्माउँछे ।

त्यसपछि ऊ आफ्नी आमालाई पनि घृणा गर्छे । माइती जान छाड्छे तर छोरा पाउनु परेकै छ । घरमा सासूको दबाब भएकै छ । लोग्ने र ससुरो जापानी आक्रमणमा परेर मारिएपछि विधवा भएकी लुशीले त्यसपछि हरेक पटक नयाँ–नयाँ पुरुषको गर्भधारण गर्छे र ६ वटी छोरी तथा एउटा छोरालाई जन्म दिन्छे ।

छोरो जन्मेपछि ऊ नै साङगुआन परिवारको वारेस बन्छ । यसले आठ–नौ वर्षको होउञ्जेल पाठोले झैं बाख्रीको दूध खाएर हुर्कन्छ अरू खानेकुरा खाँदैन । यो केटो चैं लुशीले डेनमार्कतिरबाट आएर गाउँमा चर्च बनाएर बसेको गोरो छालाको पादरीबाट गर्भधारण गरेर पाएकी हुन्छे जसले गर्दा यो कसको सन्तान हो भन्ने थाहा पाउन गाउँलेलाई कुनै गाह्रो पर्दैन ।

अर्को रमाइलो के छ भने सबै छोरीहरूको नाम भाइ पर्खिरहेकी भन्ने अर्थ लाग्ने गरी राखिन्छ । हरेक नामका पछाडी दी थपिएको छ । यो दी को अर्थ हुनेरहेछ अर्कोपटक भाइ जन्मन्छ भनेर पर्खिरहेको भन्ने । अथवा भाइलाई पर्खिरहेको भन्ने ।

उपन्यासको कथा नै यी दिदीबहिनी र भाइबाट अघि बढ्ने भएकोले यहाँ तिनको नाम दिनु रमाइलै होला । उनीहरूको नामका अगाडि पारिवारिक नाम साङगुआन र पछाडि चैं क्रमशः लाइदी, चाओदी, लिङ्दी, सियाङ्दी, पान्दी, नियान्दी, छिउदी । पहिले म छक्क परेर यसको अर्थ एक जना चिनियाँ मित्रलाई सोधी–पठाउनु परेको थियो ।

यी पात्र मार्फत सामन्तवादी युगको चिनियाँ समाजमा पुत्रको महत्व र त्यसको प्राप्तिका लागि महिलाले के के गर्न बाध्य थिए भन्ने अनेक कुरा भन्न चाहेका छन् । त्यसले स्त्री–पुरुष सम्बन्धका अनेकवली परम्परागत धारणालाई पनि उजागर गरेको छ ।

क्रान्ति, प्रतिक्रान्ति र विभिन्न रुपरंगका सशस्त्र डफ्फाहरू, लडाइँ, मृत्यु, अनिकाल, भोकमरी, कम्युनिष्ट आधार इलाकामा शासन, क्रूरता, विछोड, हत्या, गमनका अनेक घटना मार्फत मो यानले तत्कालीन समयमा महिलाहरूको जीवनलाई प्रभावित गरिरहेका अनेक सन्दर्भ र कथा भनेका छन् । खुट्टा बाँधिएर सामन्ती समाजमा हुर्केकी लुशी क्रान्तिको प्रभावमा छोरीको आग्रहमा कपाल काटेर हिंड्छे ।

हरेक समयको नायकसँग उसका छोरीहरूको क्रमशः बिहे हुन्छ । युद्धकालीन समयमा भएकोले हरेकजसो छोरीले सन्तान आफ्नी आमाकै काखमा छाडेर हिंड्छन् । एउटी छोरी त अनिकालबाट बच्न आवश्यक खर्चका लागि बिक्री गरिन्छे । यसरी महिलाहरूले बिताएको जुग र आउँदै गरेका स्वतन्त्रतातिरका पाइलालाई यसले स्थापित गर्न प्रयास गरेको जस्तो लाग्छ ।

कथामा कम्युनिष्टहरू सहित हरेक राजनीतिक समूहका अमानवीय हर्कत र न्याय प्रणालीका बारेमा पनि चर्चा गरेको छ । एउटा यस्तो विन्दु थियो जहाँ लुशीकै ज्वाईं, स्थानीय कम्युनिष्ट नेताले आफ्नै जेठीसासूको छोरो, लुशीको एउटा काखे नातिलाई प्रतिक्रान्तिकारीको सन्तान भएकैले मार्ने आदेश दिन्छ । यो त्यस्तो विन्दु थियो जहाँबाट अघि बढ्न मलाई तीन महिनाजति पर्खनु परेको थियो । तर लेखकले त्यहाँ यस्तो जादुयी यथार्थको प्रयोग गरेको रहेछ कि अघि बढेर पढ्न खोज्दा म शान्त भएको थिएँ ।

साढे पाँचसय पेजमा समेटिएको यो उपन्यास चिनियाँ आधुनिक इतिहासकै एउटा भाग भएकोले चीनप्रति रुचि हुनेका लागि सहज र महत्वपूर्ण हुने नै छ । धेरै लेख्नुभन्दा जसले उपन्यास पढ्छ उसैले यसको स्वाद थाहा पाउँछ भनेर बिट मार्नु श्रेयस्कर होला ।

लाइफ एण्ड डेथ आर वेयरिङ मि आउट

उत्तरी गाओमी काउण्टीको सिमेन गाउँलाई केन्द्र बनाएर लेखिएको यो उपन्यासको मुख्य पात्र जमिनदार सिमेन नाओलाई क्रान्तिको अन्तिम समयमा मृत्युदण्ड दिइएको हुन्छ । कथामा ऊ क्रमशः गधा, गोरु, सुँगुर, कुकुर, बाँदर र अन्तिममा मानिसका रूपमा पुनर्जन्म लिन्छ, सम्पूर्ण मानवीय चेतना सहित अवलोकन गर्छ, कुरा सुन्छ र आफ्नो परिवारको विघटन, उत्थान र पतनको कथा भन्छ ।

कथाको सुरुआत नै जमिनदार भएको र किसानहरूलाई शोषण गरेको आरोपमा कम्युनिष्टहरूबाट मारिएको सिमेन नाओ स्वर्गमा पुगेर यमराजसँग आफूलाई अन्याय भएको भन्दै झगडा गरिरहेको दृश्यबाट हुन्छ । यमराजले सिमेन नाओलाई आफ्नै घरमा गधाको कोखबाट जन्मने गरी फिर्ता पठाउँछन् ।

सिमेनलाई गधाको रूपमा जन्मेर हुर्केर जोतिएर काम गर्दा पनि मानवीय चेतना भने रहिरहन्छ तर आफ्नो भावना व्यक्त गर्ने भाषा हुँदैन । तर अनेक ढंगले मानिसहरूलाई दण्डित पनि गरिराख्छ । क्रान्तिपछिको चिनियाँ समाजलाई उसले गधाका रूपमा अवलोकन गरेको छ– आफ्नै परिवारमा हुने दैनिक घटनाका आधारमा ।

माओको मृत्यु उत्सव

सिमेन नाओ गधा र गोरुको अवतार पछि सुँगुरका रूपमा आफ्नै परिवारको सुँगुर्नीको गर्भबाट निस्केर जीवन बिताउँछ । कथाको मुख्य न्यारेटर नै विभिन्न अवतारको सिमेन नाओ हो । स्थानीय सरकारले गाउँमा सबै सुँगुरहरू जम्मा गरेर एउटा क्रान्तिकारी सुँगुर फार्म बनाउँछ र उत्पादन युनिट बनाएर फार्मको व्यवस्थापन गर्छ जसको कमाण्डर सिमेन नाओकै छोरो जिनलङ छ ।

सुँगुर अवतारको सिमेन नाओको नाम पिग सिक्स्टिन भएको छ । उसलाई ब्याडका रूपमा हुर्काइन्छ । उसलाई स्याहार गर्न मान्छेको अवतारमा रहँदाकी आफ्नै वैधानिक पत्नीलाई जिम्मा लगाइएको छ । सुँगुर फार्म देशभर चर्चामा भएकै बेला रोगले गर्दा धेरै सुँगुर मर्छन् । यस्तैमा एउटा घटनाले उसको जीवनलाई अलग मोड दिन्छ ।

१९७६ को सेप्टेम्बर ९ को दिउँसो । माओको मृत्युको समाचार सुनाइने बेलाको अवस्थाको समीक्षा सुँगुर बनेको सिमेन नाओले यसरी गरेको छः “यहाँ उक्त दिन दिउँसो दुई बजेको समयमा के भयो भन्ने एउटा मोटामोटी समीक्षा छ । हामी आकाशबाट शुरु गरौं, जुन धेरैजसो भागमा सफा थियो, कतै कतै कालो बादलका टुक्राहरू पनि थिए ।

भर्खरै दक्षिणतिरबाट एउटा शक्तिशाली हावा आयो र बादललाई छिन्नभिन्न बनाइदियो । आकाशमा बादल यताउता दौड्दै गर्दा तल खुर्पानीको बगैंचामा बादलको छायाँ दगुरिरहेका थिए । तातो जमिनमा भ्यागुताहरू यताउता गरिरहेका थिए । सुँगुर मरेर धेरैजसो खोर रित्ता थिए र फार्मका कामदारहरू खोर भित्र–बाहिर कागतीको झोल मिसाएको पानी छर्किरहेका थिए ।

चर्को घाम लागिरहेको थियो र कतै कतै जमिनमुनि पुरिएका सुँगुरका भुँडी पड्केको आवाज सुनिन्थ्यो । ठिक त्यतिबेलै, मैले यत्रो वर्षको ज्ञान र अनुभवमा कहिल्यै नदेखेको चम्किलो र रंगीन पुच्छर भएको चरो तल–तल उड्दै आएर पानी जमेर बनेको पोखरीको बीचमा रहेको कुप्रो खुर्पानीको रूखमा बस्यो जसका पातहरू सबै झरिसकेका थिए ।

उत्तिखेरै सिमेन बाइले उक्त चरालाई देखि जसको रंगीन र लामो पुच्छर झण्डै भुइँसम्म लतारिएको थियो । उसले ओठ कमाउँदै चर्को स्वरमा भनी ‘मयूर’ ! जिनलङ बिहेकोठाबाट आफ्नो छातीमा रेडियो अँठ्याउँदै निस्क्यो । उसको अनुहार फुङ्ग उडेको र आत्मा हराएजस्तो देखिएको थियो । विस्फारित आँखा लिएर उसले घाँटी बजेको आवाजमा घोषणा गर्‍यो ‘अध्यक्ष माओको मृत्यु भयो’ !

‘अध्यक्ष माओको मृत्यु भयो ! के ठट्टा गरिरहेको ? अफवाह फैलाउँदै त छैनस् ? अध्यक्ष माओको मृत्यु भयो भन्नु त आफ्नै मृत्यु पत्रमा सही गर्नुसरह हो । अध्यक्ष माओ कसरी मर्न सक्छन् ? सबैले माओ १५८ वर्ष बाँच्छन् भन्थे हैन र ?” (पेज ३३०, ३३१)

वर्षौं खोरमा थुनिएको सुँगुर सिमेन नाओ अर्थात् पिग सिक्स्टिनले त्यसै साँझ मान्छेहरू शोकमा किंकर्तव्यविमूढ भएको बेला विद्रोह गर्छ र सबै सुँगुरलाई आफ्नो पछि आउन अपिल गर्छ । एउटी पुतली जस्ती युवती सुँगुर्नीले मात्र उसलाई साथ दिन्छे । यी दुवै गाउँबाट निस्कन्छन् र नदीमा पस्छन् । दुवै पौडिंदै जंगली सुँगुरको बथान भएतिर जान्छन् । पुतली जस्ती सुँगुर्नीले पिग सिक्स्टिनलाई राजा भन्दै सम्मान गर्छे । ऊ जंगली सुँगुरको बथानको राजा बन्छ ।

माओको मृत्युको समाचार सुनाउनु अगाडि आकाशको कालो बादल फाट्नु र सफा हुनु, सिमेन गाउँमा कहिल्यै नदेखिएको मयूर आएर सुँगुरको खोर अगाडिको रूखमा बस्नु र जमिनदारकी पत्नीबाट सुँगुर गोठाल्नी बनेकी सिमेन बाइले अतिखुशी सहित मयूर भनेर चिच्याउनु, त्यसपछि कम्युनिष्टहरूले हत्या गरेका कारण गधा र गोरु हुँदै सुँगुरको जुनी बिताइरहेको सिमेन नाओले विद्रोह गरेर स्वतन्त्र हुनु र आफैं सुँगुरको राजा बन्न जानु ।

यो चित्रणले देखाउँछ मो यानले घुमाएर माओको मृत्युलाई उत्सवका रूपमा प्रस्तुत गरेका हुन् । एउटा यस्तो पृष्ठभूमि बाँधेर माओको मृत्युको घोषणा गराएका छन् कि माओको मृत्युले शोक होइन एउटा उन्मुक्तिको सन्देश दिन्छ । माओको मृत्युको यस्तो उत्सव शायदै कहीं मनाइयो होला । तर चीनभित्र उनको शासनकालमा उकुसमुकुसमा परेका कतिपय मानिसले उनको मृत्युलाई खुशीको घटनाका रूपमा लिएका थिए भन्नेतिर यसले संकेत गर्छ ।

मलाई चीनमा अभिव्यक्ति स्वतन्त्रता कम नै होला, मानिसहरू कम्युनिष्ट पार्टीलाई आलोचना गर्न पाउँदैनन् होला भन्ने लागिरहन्थ्यो । यो पुस्तक पढेपछि लाग्यो हामी धेरै भ्रममा छौं । यस्तो देखिन्छ, चीन जस्तो विशाल सभ्यता र लामो इतिहास भएको समाजमा सार्वजनिक बहसलाई नियन्त्रण गर्नु असम्भव जस्तै हो जहिलेसम्म यस्तो बहसले सत्तामा रहेको कुनै अमूक व्यक्ति या शक्तिको आसनमा सिधा आक्रमण गर्दैन।

सुधारका हानिकारक प्रभाव

चिनियाँ समाजमा सुधारका प्रयासहरू भएपछि अर्थात् समाजवादी बजार अर्थतन्त्र लागू भएपछि कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूको एउटा पंक्तिले कसरी फाइदा लियो भनेर उल्लेख गर्दै उपन्यासमा मो यानले धज्जी उडाएका छन् । सिमेन नाओको रखैलतिरको छोरो जिनलङ १९६० देखि १९७० का उथलपुथल वर्षहरूमा नै पार्टीको स्थानीय नेता बन्छ । माओको भक्त, कम्युनिष्ट क्रान्तिकारी ।

सुधार शुरु भएपछि उसले आफ्नो पदको फाइदा उठाउँदै व्यापारतिर हात हाल्छ । सरकारी अफिसर भएकोले लिन सकिने फाइदा लिन्छ । र पैसा कमाउँछ । त्यसको शक्ति र विकृतिबारे मो यानले लेखेका छन्: … तर त्यसमध्येकी एउटी चैं काउण्टीकै उच्च सरकारी अधिकारीकी छोरी हो, अर्कोको बाबुले २५ लाख आफ्नै पैसा हालेर जिनलङ स्कलरसिप स्थापना गरेको छ ।

उनीहरूले परीक्षामा शून्य अंक नै ल्याएका हुन्थे भने पनि उनीहरूका लागि विद्यालयको गेट जहिले पनि खुला हुन्थ्यो ।…. ….. तैंले भनेको जस्तै ऊ खराब केटो नै हो भने पनि ऊ अप्ठेरोमा पर्दा उसको बाउले धरौटीमा छुटाइहाल्छ (पेज ४७७–४७८) । एउटा केटो कि आमाले आफ्नो छोरालाई सम्झाउँदै भन्छे । अर्थात् पैसा र पावरमा हुनेले जे पनि गर्न सक्ने बेथिति व्याप्त थियो सुधारकालीन चीनमा भन्ने यसको संकेत छ । यस्तो लाग्छ मो यान विसंगतिका विरुद्ध लेख्न मात्र भनेर लेखक भएका हुन् । कसैलाई बक्सेका छैनन्, ठोकेकै छन् ।

व्यर्थ बितेका वर्षहरू

लेखकले सिमेन नाओका ६ वटा अवतार गधा, गोरु, सुँगुर, कुकुर, बाँदर र अन्तिममा मानिसका माध्यमबाट चीनको पचास वर्षको इतिहास कथेका छन् । कथा १ जनवरी, १९५० बाट शुरु हुन्छ तियानमेन चोकमा माओले जनगणतन्त्र घोषणा गरेको ठिक तीन महिनापछि । र, समाप्त हुन्छ सन् २००० मा ।

यिनै पचास वर्षका चिनियाँ समाजको उथलपुथलयुक्त समयका कथा हुन् उपन्यासले भनेका । भूमिसुधारको समयलाई गधा, कम्युन स्थापनाको समयलाई गोरु, सांस्कृतिक क्रान्तिको समयलाई सुँगुर, सुधारको समयलाई कुकुर, सुधारका नकारात्मक प्रभाव आउने र मानिसको जीवन रूपान्तरण हुने सम्भावना देखिएको समयलाई बाँदर र त्यसपछि सन् २००० पछिको समयलाई लामो आयु नभएको मान्छेको अवतारका रूपमा उनले चिनियाँ समाजको चित्रण गरेका छन् । यो जीवन दर्शन, साहित्य, इतिहास, मान्छेका भुक्तमान र सुखको कथा हो ।

कथामा एउटा अजिवको पात्र उनले खडा गरेका छन्– लान लियान । धनी किसान सिमेन नाओको नोकरका रूपमा रहेको लान लियान क्रान्तिपछिको समयमा जब सिमेन नाओलाई मृत्युदण्ड दिइसकेको हुन्छ, सिमेन नाओको जमिन कमाएर बस्न थाल्छ । भूमिसुधारले उसलाई जमिनको मालिक बनाउँछ । सिमोन नाओकै घरमा नोकर्नीका रूपमा काम गरेकी र उसका दुई सन्तानकी आमा बनिसकेकी महिलासँग क्रान्तिपछि उसको बिहे गराइन्छ ।

जब सहकारीकरण र कम्युन स्थापनाको समय आउँछ तब ऊ आफ्नो निजी प्लट कुनै हालतमा गुमाउन चाहँदैन । उसका छोराछोरी र पत्नीले समेत आफ्नो अंश लिएर कम्युनमा जान्छन् र लान लियानलाई एक्लै डेढ एकड जग्गा कमाउन छाडिदिन्छन् । हजार प्रयत्नका बाबजुद ऊ कम्युनमा जाँदैन, एक्लै बस्छ, एक्लै काम गर्छ । हेपाइ सहन्छ । अदालतमा गएर संविधानको व्यवस्था अनुरुप कम्युनमा जबर्जस्ती कसैलाई मिसाउन नपाइने भन्ने आदेश लिएर फर्कन्छ ।

जब सुधार शुरु हुन्छ कम्युनहरू ढल्छन् । फेरि निजी प्लटमा खेती गर्ने समय आउँछ । मानिसहरू जो कम्युनका लागि मरिमेटेका थिए, क्रान्तिका सिपाही थिए तिनीहरू अब अवसादमा जान्छन् । लान लियान शिर ठाडो पारेर उभिन्छ । एक जना क्रान्तिकारी कम्युनिष्ट, क्रान्ति पहिलेको चीनको गरिब किसानले सुधारका विरुद्ध विद्रोहको झण्डा उठाउँछ र सुधारका समयमा अचानक धनी भएको कम्युनिष्ट पार्टीको अधिकारी तथा जमिनदार सिमेन नाओकै रखैल पट्टिको छोरो जिनलङको हत्या गर्छ र आफू पनि मर्छ ।

यो कथा मार्फत मो यानले चीनको क्रान्तिपछिका ३० वर्ष व्यर्थमा खेर गएका वर्षहरू थिए भनेर स्थापित गर्न खोजेका छन् ।

उपन्यासको अर्को रमाइलो पक्ष के छ भने कथा शुरु भएको केही समयपछि मो यान नामको पात्र प्रवेश गर्छ । जो वास्तविक लेखक मो यान हो कि भन्ने अर्थ लगाउन सकिन्छ । किनभने ऊ लेखकका रूपमा र साँच्चै मो यानले लेखेका कथाकै लेखकका रूपमा देखा परेको छ । यो अनौठो प्रयोग पनि उनले गरेका छन् ।

राजनीति र इतिहासका ठूला घटना र महान् दुुखान्तलाई पनि भुइँतहका मानिसहरूको माध्यमबाट सहज रूपमा भन्न सकिन्छ भन्ने बेजोड उदाहरण हुन्, मो यानका उपन्यास ।

बाँकी पाठकलाई नै पढ्न मजा आउला । मैले भने सुँगुर फार्ममा परेको सिमेन नाओ र उसले देखेको सांस्कृतिक क्रान्तिको समयको दिगमिग लाग्ने कथा पढ्दा विरक्त लागेर बीच–बीचमा पढ्नै छाडेको थिएँ ।

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?