
चीनको एउटा अत्यन्त भव्य औद्योगिक शहर साङ्घाईबाट बुलेट ट्रेनले हामीलाई ३१ जेठ २०८२ को साँझ बेइजिङ ल्याइपुर्यायो । बेइजिङ अर्थात् पेकिङ, विश्वका पुराना शहरहरूमध्येको एक हो ।
विश्वलाई स्तब्ध पार्ने एउटा नयाँ प्रभुत्व स्थापित गर्दै गरेको देशको राजधानीमा पाइला टेक्न यो मन हतारिएको थियो, विमानस्थललाई नै माथ गर्ने बेइजिङ रेलवे स्टेशनबाट छिटोभन्दा छिटो बाहिर निस्कन हामी हतारिँदै थियौं । हामीलाई पर्खेर बसेका स्थानीय पथप्रदर्शक भाइसँग होटलतर्फ लाग्यौं ।
हामी यहाँ पुग्दा यहाँको आकाश बादलले ढाकेको थियो । बादलसँग लुकामारी गर्दै बाटोमा देखिएका आधुनिक संरचनाको सौन्दर्य, नदीको स्वच्छता, आफूमाथिको आकाश छुन प्रतिस्पर्धा गरिहेका आकर्षक गगनचुम्बी भवनहरूले पूरै खुसीका साथ हामीलाई स्वागत गरिरहेको जस्तो लाग्यो ।
हामीलाई बिस्तारै महसुस हुँदै गयो– बेइजिङ, कुनै साधारण राजधानी नभएर अनुपम प्रविधि र अत्यन्त परिस्कृत संस्कृति मिसिएको शहर रहेछ । करिब एक घण्टाको सहज बस यात्रा र पथप्रदर्शनको परिचयात्मक संक्षेप सारपश्चात् हामी बस्ने होटल आइपुग्यो ।
भोलिपल्ट बिहान हामी डोङचेङ जिल्लामा पर्ने तिएनआनमेन चोकमा भएको माओको पार्थिव शरीर हेर्नका लागि ८ बजे पुगिसकेका थियौं, यहाँको प्रवेश निःशुल्क रहेछ । ८ बजेबाट मात्र भित्र छिर्न पाइने भए तापनि हामी त्यहाँ पुग्दा हजारौं व्यक्तिहरू लाइनमा बसिसकेका थिए ।
हामी २० जना नेपालीको समूह त्यही हुलमा मिस्सियौं । लाइन बिस्तारै अगाडि सर्दै जाँदा हाम्रो अगाडि मात्र हैन पछाडि पनि आँखाले भ्याउनेसम्मका पंक्तिमा मानिस नै मानिसका टाउका मात्र देखिन्थे । लाइन पनि दोहोरो थियो । यहाँ आउनेहरूको भीड निक्कै ठूलो हुने भएकोले सन् २०१५ बाट एकदिनमा अधिकतम ८० हजार व्यक्तिमा प्रवेश सीमित गरिएको रहेछ । यस स्थानलाई ऐतिहासिक, राजनीतिक, सांस्कृतिक दृष्टिले अति महत्वपूर्ण मानिँदोरहेछ ।
चीन स्वतन्त्र हुनुभन्दा पहिले धेरैजसो चिनियाँ जनता गाँजा र अफिमको कुलतमा फसेर लाचार र निरास थिए । माओको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई सङ्गठित बनाउँदै उनीहरूको आत्मसम्मान र विद्रोहको भावना जगाउनुको साथै चीनलाई एक अक्टोबर १९४९ मा स्वतन्त्र बनाए ।
यी महामानवको पार्थिव शरीर जसरी पनि हेर्ने भन्ने हाम्रो चीन भ्रमणको प्राथमिकतामा परेकोले काठमाडौंका धेरै ट्राभल एजेन्टहरूले यसको व्यवस्थापनमा निश्चित् गर्न सकेका थिएनन् । तर ललितपुरस्थित ड्रिम जर्नी नामको संस्थाले ‘हामी जसरी पनि यो प्रबन्ध मिलाउँछौं’ भनेपछि मात्र हाम्रो यात्रा तय भएको थियो ।
हाम्रो हाते झोला लगायतका सामान भित्र लिन नपाउने भएकोले बसमै छाडेर पैसा र मोबाइल बोकेर लाइनमा बसेका थियौं । लाइन विस्तारै अगाडि सर्दै गर्दा दिनको १२ बज्न लागिसकेको थियो । दिनको ठिक बाह्र बजे माओको पार्थिव शरीर भएको भवनको ढोका बन्द हुने रहेछ । हामी भन्दा बढी हाम्रो पथप्रदर्शन यी बबुराहरू भित्र छिर्न भ्याउँदैनन् कि भनेर चिन्तित देखिन्थे ।
सुरक्षाका लागि खटिएका गार्डसँगको उनको छोटो वार्ता चिनिया भाषामा भएकोले केही बुझिएन तर गार्डले हामीलाई ‘नेबर, नेबर’ (छिमेकी) भन्दै बीचबाट बाटो खोलिदिएर सुरक्षा जाँच गर्ने स्थानको नजिक पुर्याइदिए ।
एकदम कडा सुरक्षा जाँच त्यो पनि धेरै ठाउँमा र अत्यधिक भिडका कारण जति समय घर्कंदै थियो हाम्रो माओ स्मारक भवन भित्र पुग्ने सम्भावना त्यत्ति नै कम हुँदै गइरहेको थियो, हाम्रो टोलीमा म सबैभन्दा अगाडि पथप्रदर्शसँगै थिएँ र अझै थप एउटा सुरक्षा जाँच बाँकी थियो ।
हामीसँग समय केही मिनेटमात्र बाँकी थियो । जो भवन भित्र छिर्न सक्छ सक्छ कसैले कसैलाई नपर्खने भन्दै कुलेलम ठोक्यौं । म यतिसम्म कुदेछु कि स्कुल जीवनको दौड प्रतियोगितामा पनि त्यसरी दौडेकी थिइनँ होला । मेरो पछाडि मेरा श्रीमान् लगायतको टोली आ–आफ्नो क्षमताले भ्याएसम्म दगुर्दै थिए । अहिले सम्झँदा आश्चर्य लाग्छ, जुम्लाको चिसो पानी खाएको ज्यान भएर होला ६० वर्ष नाघिसकेको यो शरीरले पनि परेका बेला काम गर्ने रहेछ । यसरी हाम्रो टोलीको अन्तिम ब्यक्ति छिर्नु र ढोका बन्द हुनु सँगै भयो।
मुल ढोकाबाट भित्र छिर्नासाथ साढे तीन मिटर अग्लो सेतो मार्बलले बनेको माओको सालिक देखियो । मेचमा बसिरहेका हँसिलो मुहारका विश्व कम्युनिष्ट आन्दोलनका धरोहर अध्यक्ष माओ, हामीसँग अब बोल्लान्, तब बोल्लान् जस्तो लाग्थ्यो ।
सालिकको तलतिर सेता फूलका हजारौं गुच्छाहरूको व्यवस्थित चाङ थियो । हामीलाई फूल लिएर जाने कुराको जानकारी भएन, जसका कारण हामी माओलाई भेट्न रित्तो हात पुग्यौं । केहीबेर फूल ल्याएर आउनुपर्ने रहेछ भन्ने चुकचुक लागिरह्यो । तापनि हामी सबै त्यहाँ भित्र छिर्न पाएकोमा सबै दंग थियौं, भलै हाम्रो टोलीमा फरक राजनीतिक पृष्ठभूमि र विचारधाराका व्यक्तिहरू थियौं ।
अनलाइन बुक गर्नको समस्या, हजारौंको लाइन, कडा सुरक्षा जाँच, त्यहाँ चढाइएका फूलहरूको थुप्रो, त्यहाँ भेटिएका चिनियाहरूले आदरका साथ ‘चेयरम्यान माओ’ भनेर सम्बोधन गरेको देख्दा माओलाई सम्मान गर्ने ब्यक्तिहरू आजका दिनसम्म पनि कुनै कमी रहेनछ ।
त्यहाँ फोटो खिच्न, बोल्न र उभिन पाउने सम्भावना नै थिएन । माओको शरीर हेर्दै बिस्तारै अगाडि बढ्नु पर्थ्यो । भित्रको कोठामा क्रिस्टल भित्र माओको पार्थिव शरीर सधैं लगाउने गरेको पोशाकमा उत्तानो पारेर सुताइएको रहेछ । सो पार्थिव शरीर रासायनिकको प्रयोगले मृत्यु भएको ४९ वर्षसम्म पनि जस्ताको त्यस्तै गरी राखिएको रहेछ ।
माओ स्वयं कम्युनिस्ट पार्टीको झण्डा ओडेर निदाएजस्ता देखिन्थे । झट्ट देख्ने बित्तिकै म भावुक भएँ, त्यहाँ हेरिरहने समय नभएका कारण आफूलाई सम्हालेर अभिवादन गरें, विश्वकै एउटा महान नेतालाई ।
यो भवन निर्माण गर्नको लागि चीनका विभिन्न प्रान्तका फरकफरक वस्तुहरू प्रयोग भएका रहेछन् । ताइवानको पानी र बालुवा र नेपालको सगरथाबाट ल्याइएको ढुङ्गा पनि यो भवनमा प्रयोग भएको छ भनिन्छ । करिब ५७ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो भवनको मुख्य प्रवेशद्वारको माथिपट्टी सुनौला ‘अक्षरमा माओ स्मारक हल’ लेखिएको छ । यो भवन माओको मृत्युपछि अर्थात् नोभेम्बर २४, १९७६ मा निर्माण सुरु भएर २४ मे १९७७ मा सम्पन्न भएको रहेछ । यसको निर्माणमा यो देशका सात लाख जनताले स्वयंसेवकको रुपमा काम गरेका थिए रे ।
यो सङ्ग्रहालय हेरेपछि मैले मेरो देश सम्झें । हाम्रो देशमा पनि माओ जस्तै नेता जन्मिएको भए आज हामी पनि नेताप्रति यस्तै गौरव गर्थ्यौं होला । माओलाई आप्mनो सैद्धान्तिक गुरु ठान्ने, उहाँको सिद्धान्त, बिचार र आदर्शलाई पथप्रदर्शक मानेर हिँडेको पार्टीलाई नेपाली जनताले बहुमतका साथ कुनै वेलामा बिजयी बनाएकै हुन् । ‘चीनका अध्यक्ष, हाम्रा पनि अध्यक्ष’ नारा लगाएर हिँडेकाहरूलाई विश्वास गरेकै हुन् । देश र जनताको विकास गर्ने मुलमन्त्र अन्तरआत्मादेखिको लक्ष्य हुँदो हो त कमरेडहरूको पार्टी माटोको गाग्री फुटेको जस्तै गरी टुक्राटुक्रा बन्दैनथे होला ।
कति कमरेडहरू करिब चार दशकदेखि या त सत्तामा या त प्रतिपक्षमा बस्दै आएका छन् । जनताको पहिलो प्राथमिकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यको प्रबन्ध गर्ने राज्यको दायित्व हो भन्ने कुरा बिर्सिसकें।
क्रान्तिकारी भूमिसुधार, प्र्रगतिशील कर प्रणाली, जनजीविकाको ग्यारेन्टी आदि सबै त चुनावका लागि मात्र चाहिने नारा हुन् । आफूलाई पक्का गणतन्त्रवादी भनाउनेहरू कोही तीन चोटी प्रधानमन्त्री भइसके त कोही छैठौंको प्रतीक्षामा छन् ।
नेपाली जनताको दुर्भाग्य, सिपमूलक जनवादी शिक्षा, कृषिमा आधारित औद्योगिकीकरण, सामाजिक न्याय सहितको कानुनी राज्यको निर्माण गर्ने, भौतिक पूर्वाधार निर्माणमा जनआवश्यकतालाई ध्यानमा राख्ने जस्ता समाज रुपान्तरण गर्ने कुनै पनि काम उनीहरूको प्राथमिकतामा कहिल्यै परेन र भविष्यमा यो पंक्तिबाट केही हुन्छ भन्ने पनि जनतालाई विश्वास छैन ।
राजनीति सेवा नबनेर पेसामा परिणत भएको देशको नागरिक हौं हामी । चीनमा मात्र नभई विश्वभरिका श्रमजीवीहरूले श्रद्धा गर्ने माओजस्तो नेता हामीले पाउने कल्पना गर्नु ‘मनको लड्डु घ्यूसँग खानु’ भनेको जस्तै हो ।
मनमा उत्पन्न अनेकौ तर्क र बिचारहरूलाई बिट मार्दै अन्तिम पटक माओलाई अभिनन्दन गरेर त्यहाँबाट फोटो खिच्दै, चिनियाँ संसद भवन, माओले १ अक्टोवर १९४९ का दिन जनगणतन्त्र चीनको घोषणा गरेको स्थान हेर्दै उत्तरपट्टी फर्विडन सिटीतिर लाग्यौ । जानकारी अभावका कारण राष्ट्रिय सङ्ग्रालयको अवलोकन छुटेकोमा यो मनमा पछुतो रहेकै छ ।
फर्बिडन सिटीको मुख्य प्रबेशद्वारमाथि माओको ठूलो तस्विर राखिएको छ । यो तस्विर प्रत्येक वर्ष परिवर्तन गरिँदोरहेछ । त्यहाँ रहेको ऐतिहासिक दरबार र टेम्पल अफ हेभेन वरिपरि फोटो खिच्दै होटल फर्कियौं । यी स्थानहरू साँच्चै नै चीनको बिगत र अहिलेको साङ्घु रहेछन् । यो मन फेरि नेपाल पुग्यो, कठै हाम्रा आत्माहरू त संसारभरका म्युजियमहरूमा वर्षौं अगाडि नै बिकेर कैद भएका छन् ।
अर्को दिन हामी चन्द्रमाबाट देखिने भनिएको एउटैमात्र मानव निर्मित संरचना ग्रेटवालतिर लाग्यौं । पुराना राजाहरूले बाह्य आक्रमणबाट बच्न बनाएको करिब २१ हजार किलोमिटर लामो अद्वभूत पर्खालको जोयोङग्वानतिरको बाटोबाट चढ्दै गर्दा पसिना चुहियो तर पनि त्यहाँबाट देखिएका दृश्यहरूले सबै थकान कम गरेको थियो । ग्रेटवालबाट फर्कँदैगर्दा मनमा फेरि प्रश्न उब्जन थाले ।
नेपालका सबै पार्टीका सानादेखि ठूला नेता र उनका परिवार विभिन्न बहानामा कम्तीमा एक पटक चीन नपुगेको सायदै कोही छैनन् होला । हामीले देखेको भन्दा बढि चीन उनीहरूले देखे होलान् । कति व्यवस्थित ढड्गले चीन कुदिरहेको छ ।
आफ्नै भाषा, आफ्नै संस्कार बोकेर गौरवपूर्ण ढड्गले मस्त हात्तीले झैं शान्त, सुन्दर र सभ्य तरिकाले संसारमा आफूलाई अग्रपंक्तिमा राख्न सक्रिय छ । धन्य हो, हामी र हाम्रा अगुवाहरूको चिन्तन । मनमा कुराहरू खेल्दै थिए पथप्रदर्शले सानो हाते माइकबाट ‘हेलो एभरीबडी’ भनेपछि झसङ्ग भएँ ।
बाँकी समयमा, किनमेलको लागि बजारतिर लाग्यौं । आधुनिकीकरणमा व्यस्त चीनमा, ब्राण्डेड पसलमा कस्तो थियो थाहा भएन, तर हामीलाई लगिएकोे बजारहरूमा दुई सय युयान भनेको सामान मोलमलाई गरेर २० युयान सम्ममा दिएको पनि भेटियो ।
कतै पनि मगन्ते, बगली मारा, चुरोटको ठुटा, कागजको टुक्रा नभेटिएको, धुलो धुवाँ नभएको, सफा, सुन्दर र भब्य चीनको बजारमा मिठो मानेर खाईरहेको वेला मुखमा ढुङ्गा लागेको यस बजारले अनुभूति गरायो । मुल्यमा एकरुपता ल्याईदिएको भए यहाँ भ्रमण गर्न आउने कसैले पनि केही कुरामा खोट लगाउने ठाउँ सायद रहँदैनथ्यो होला ।
प्रतिक्रिया 4