+
+
Shares

भेटेको १५ दिनमै प्रेम सम्बन्ध, अर्कोसँग कुरा गरेको भन्दै हत्या

काम गर्ने क्रममा उनीहरुबीच विवाद भयो । विवादकै बीच साउदले याचना सेजुवालको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरिदिए ।

जनक विष्ट जनक विष्ट
२०८२ साउन १७ गते २०:४१

१७ साउन, धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवाल १५ दिनअघि बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काममा लागेकी थिइन् । उनी त्यहाँ वेटरका रुपमा काम गर्थिन् ।

सोही सेकुवा एण्ड म:म सेन्टरमा कुकको काम गर्दै आएका थिए, बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउद । काम गर्ने क्रममा उनी निरजसँग नजिक भएकी थिइन् । दुई सन्तानका बुवा समेत रहेका निरजको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो ।

सेकुवा सेन्टरमा काम थालेकी सेजुवालसँग उनी यही दौरानमा नजिक बने । काम गर्ने क्रममा हाँसोमजाकमै उनीहरूको सम्बन्ध छोटो समयमै प्रेम सम्बन्धमा परिणत भइसकेको थियो । प्रहरीका अनुसार श्रीमतीले सम्बन्धविच्छेद गरेकै कारण साउदले सेजुवालसँग सम्बन्ध अघि बढाएको बताएका छन् ।

उनले विवाह गरेर बाँकी जीवन उनैसँग बिताउने प्रण गरिसकेका थिए । याचना सेजुवाल वेटर मात्र नभएर पछिल्लो समय भान्छामा साउदको सहयोगी कर्मचारीका रुपमा काम गर्न थालिसकेकी थिइन् ।

भेट भएको १५ दिनमै प्रेम सम्बन्धमा बाँधिएका सेजुवाल र साउद शनिबार पनि सदा जस्तै राजधानी सेकुवा एण्ड म:मको भान्छाकोठामा काम गर्दै थिए । काम गर्ने क्रममा उनीहरुबीच विवाद भयो । विवादकै बीच साउदले याचना सेजुवालको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरिदिए ।

त्यतिबेला उनीहरू दुई जना मात्र सेकुवा सेन्टरको भान्छाकोठामा रहेको खुलेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले प्रारम्भिक अनुसन्धानबाट साउदले आपसी विवादका क्रममा सेजुवालमाथि चक्कु प्रहार गरेको खुलेको बताए । चक्कु प्रहारबाट गम्भीर सेजुवाल सेकुवा सेन्टरको भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका होटल सञ्चालकले थाहा पाएका थिए ।

‘दुई जनाबीच सेकुवा सेन्टरमै चिनजान भएदेखि प्रेम सम्बन्ध रहेछ । शनिबार बिहान भान्छाकोठामा काम गर्ने बेला उनीहरुबीच विवाद भएको देखिन्छ’ डीएसपी सिंहले भने, ‘विवादबीच साउदले सेजुवालमाथि चक्कु प्रहार गरेछन् । किशोरी भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका सञ्चालकले थाहा पाएछन् । उनलाई तत्कालै अस्पताल लगिए पनि बचाउन सकिएन ।’

गम्भीर अवस्थामा उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएकी सेजुवालको त्यही मृत्यु भएको थियो । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेका साउदले सेजुवालसँग विवाह गर्ने समझदारी भइसकेको दाबी गरेका छन् । साउदले आफूसँग विवाह गर्ने वाचा गरेकी सेजुवालले अरूसँग पनि फोनमा कुराकानी गर्ने गरेको थाहा पाएपछि आवेगमा आएर चक्कु प्रहार गरेर हत्या गरेको बयान दिएका छन् ।

‘मसँग प्रेम र विवाह गर्छु भनिसकेपछि पनि याचनाले अरु केटासँग पनि फोन र भिडियो कलमा कुरा गरिरहन्थिन् । अरुलाई किन कल गर्छौ भनेर भन्दा विवाद भयो’ साउदले प्रहरीलाई भनेका छन्, ‘रिसको झोंकमा सहन नसकेर नजिकै रहेको चक्कु समातेर हिर्काउन पुगेछु । अहिले गल्ती गरेको अनुभूति भइरहेको छ ।’

साउदलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखिएको छ भने मृतक सेजुवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?