+
+
Shares
घनश्याम भूसालसँग अन्तर्वार्ता :

‘प्रचण्डजीले लगातार पार्टी एकता किन भनिरहनुभएको छ, अनौठो लाग्छ’

धेरै अगाडिदेखि भन्दैछु, पार्टीहरूमा देखिएको उकुसमुकुस नै यस्तो शक्तिशाली आधार हो, यसले केही निकाल्छ । २०८४ सालभन्दा अगाडि नै यो निकाल्छ भन्ने लाग्छ । यदि निकाल्न सकेन भने वाम आन्दोलनले २०८४ मा धेरै नराम्रो परिणाम भोग्नुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते २१:३५
एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल

एकपछि अर्को समस्यामा फस्दै आएको नेकपा एकीकृत समाजवादी फेरि अर्को संकटमा फसेको छ । अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकअर्का विरुद्ध पार्टी/नेतृत्वबाट विदा लिन सार्वजनिक सुझाव दिएका छन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि मुद्दा चलेकाले ऐंठन परिरहेको एकीकृत समाजवादीभित्र यो विवाद सुल्झन सजिलो देखिंदैन । यसैबेला माओवादीसँग एकता हुने चर्चाले एकीकृत समाजवादी विघटनकै सँघारमा रहेको टिप्पणी पनि कतिपयले गरिरहेका छन् ।

यिनै समसामयिक राजनीतिक सन्दर्भमा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालसँग अनलाइनखबरकर्मी सुदर्शन खतिवडासइन्द्र राईले गरेको कुराकानी :

दुई पूर्वप्रधानमन्त्रीहरूले एकअर्कालाई ‘पार्टीबाट निस्केर गए हुन्छ’ भनेको सुनियो ! यो नयाँ घटना हो कि पुरानै कुरा सतहमा आएको मात्रै हो ?

हाम्रो पार्टी बन्ने प्रक्रियामै छ । एउटा पार्टी कम्प्लिट बन्न चार वर्ष पर्याप्त हो कि होइन भन्ने कुरामा छलफल होला । जेसुकै भए पनि हामी बन्ने प्रक्रियामै छौं । गएको महाधिवेशनमा केही सैद्धान्तिक, खासगरी अबको बाटो कता हो ? मुलुकले समाधान गर्नुपर्ने मुद्दाहरू के हुन् ? भन्नेबारे मोटामोटी कुराकानी गर्‍यौं । त्यो भनेको बन्ने प्रक्रियामै गएको हो । त्यसपछि महाधिवेशनका नीति र विचारहरू कार्यान्वयन गर्ने, त्यस्तो संगठन निर्माण गर्ने कुरा अलि लामो प्रक्रिया हुन्छ । बन्ने प्रक्रियामै यस्ता समस्याहरू आउँछन् भनेर बुझ्नुपर्छ होला ।

दोस्रो– पूर्वप्रधानमन्त्रीहरूको हैसियतले त्यसो नबोल्दिएको भए सुन्ने मान्छेहरू, पार्टीका मान्छेहरूका लागि धेरै राम्रो हुन्थ्यो । यस हिसाबले उहाँहरूले जस्तो भाषामा बोल्नुभयो, जे बाहिर आयो (उहाँसँग मैले कुरा गर्न त पाएको छैन) यसले हामीलाई पार्टी निर्माण गर्न अझै समय लाग्ने रहेछ भन्ने देखाउँछ ।

झलनाथ खनालले पार्टी विभाजन नै गलत भन्ने निष्कर्ष निकाल्नुभयो नि ?

कन्टेन्टमा धेरै जान चाहन्नँ । तर उहाँ (झलनाथ) ले अझै (विद्रोह) पुष्टि गर्न सकेनौं भनेको सुनेको छु । माधव कमरेडले त्यसो बोलिएको हो भने (पार्टी छोड्नुपर्छ) भनेको सुनिन्छ । जेसुकै भए पनि कन्टेन्टमा जान चाहिनँ । तर मेसेज जे गयो, राम्रो गएन । लज्जित बनायो ।

मनमा के रहेछ भन्ने त प्रकट भयो नि !

यस विषयमा कुरा गर्नेछौं । छलफल हुनेछ ।

धेरैको प्रतिक्रिया चाहिं दुवै पूर्वप्रधानमन्त्रीले विदा लिंदा राम्रो हुन्छ भन्ने देखिन्छ ! सम्भव छ ?

एउटै घटनालाई तपाईं कहाँ बसेर हेर्नुहुन्छ भन्ने हो । म नेकपा (एकीकृत समाजवादी) को सिटिङ महासचिव । मैले विवादित कुराहरू गर्नुहुँदैन । पार्टीका आन्तरिक मामलाहरू अरू विवादित नहुन् भन्ने कुरालाई ध्यान दिनुपर्छ । मेरो ठाउँबाट हेर्दाखेरि यति मात्रै भन्न सक्छु कि आगामी दिनमा छलफल गर्नेछौं र समाधान निकाल्छौं ।

जुन तहको अभिव्यक्ति छ, ल्यान्डिङ सहज सहज छ ?

एक हिसाबले दुइटैको कुरा हेर्दाखेरि समाधान पनि भइसक्या छ । झलनाथजीले (विद्रोह) पुष्टि गर्न सकिराख्या छैनौं भन्ने अर्थमा भनेको हुँ भनेर स्पष्टीकरण दिइसक्नुभएको छ । उहाँ (माधव) ले यसो भनिएको हो भने ठीक होइन भनेर भन्नुभएको छ । उहाँहरूको कन्टेन्टको कुरा मिलिनै सक्या छ । रिस–रागको कुरा त छलफल गरेर मिलाउँछौं ।

केवल आफ्नो पार्टीको मात्रै समस्या हेरेर, समाधान गर्छु भनेर आजको वाम आन्दोलनको समस्या समाधान हुने कुरा करिब–करिब असम्भव बन्दै गएको छ ।

तपाईंको अभिव्यक्ति सुन्दा पुराना नेताहरूलाई अझै जोगाएर, चोख्याएर लैजाने भन्ने देखियो । यसले दोस्रो तहको नेतृत्वमा रहेकाहरूमा हिम्मत छैन भन्ने आरोप पुष्टि हुन्न र ?

यो एउटा बृहत् प्रश्न हो । अहिले नेपाली समाजमा पुस्ता, नयाँ जेनेरेसन, जेन–जीका कुराहरूको समाजशास्त्रीय अर्थ भन्नेबारे फाट्टफुट्ट कुरा निक्लन्छ । तर सिरियस्ली कुराकानी भएको छैन । समाज धेरै अगाडि बढिसकेको छ । हाम्रा पार्टीहरू, लिडरसिपले यो कुरा बुझ्न र महसुस गर्न सके जस्तो लाग्दैन । यो अलग्गै कुरा हो । तर यो घटनाका हिसाबले तिमीले यसो बोल्यौ, छोडिहाल भन्नुहुँदैन । एउटा घटनाका कारणले कोही बस्ने वा कोही नबस्ने हुँदैन । पुस्ताको कुरा भन्ने हो भने उनीहरूमा पुराना पार्टी, पुराना नेता (समस्या भयो) भन्ने परेको छ । यो कुरा स्वीकार गर्छु ।

तपाईंको त अध्यक्ष आफैं मुद्दा खेपिरहनुभएको छ । तर निष्कर्षमा पुग्न सक्नुभएको छैन, यस्ता डिस्कोर्सको कुनै अर्थ छ र ?

एउटा पार्टीको अध्यक्ष, पूर्वप्रधानमन्त्री माथि लागेको केस भएकाले सबैको सरोकारको कुरा भइहाल्यो । र, अख्तियार (आयुक्तहरू नियुक्ति प्रक्रिया) जुन अध्यादेशबाट बन्यो, जसरी बदलाका कारबाही अरू नागरिकमाथि वा विरोधीमाथि गरिए, राज्यको जस्तो चरित्र छ, स्वयम् कमरेड ओली हेर्दा यो मुद्दामा प्रतिशोध छ भन्ने हामीले निष्कर्ष निकाल्यौं ।

दोस्रो, उहाँ (माधव) ले मैले बिराएको छैन भन्नुभएको छ । पार्टी अध्यक्षले भनेको कुरालाई हामी विश्वास गर्न चाहन्छौं । तर त्यो कुरा हामीलाई होइन, अदालतमा पुष्टि गर्नुपर्छ । यो न्यायिक, कानूनी प्रक्रिया हो । हिजो नेकपा एमालेको हैसियतमा प्रधानमन्त्री हुँदा उहाँले गरेका कामकारबाही माथिको मुद्दा भनेर आएको छ । यो कुरा उहाँको मुद्दा हो । अदालतबाट उहाँले सफाइ लिनुपर्छ । राजनीतिक रूपमा भन्दा हामी छलफलमै छौं ।

मुद्दा खेपिरहेको अध्यक्षकै नेतृत्वमा पार्टी बन्दैछ भन्ने कुरा गरिरहँदा अलिक अप्ठ्यारो लागेको छैन ?

भ्रष्टाचार मुद्दा हो भने त्यसको जिम्मा व्यक्तिले लिनुपर्छ । प्रतिशोध हो भने व्यक्ति माथिको दायित्वहरू त्यसै अनुसार हुन्छन् । यसले गर्दा तपाईंको प्रश्न स्वाभाविक छ । यसको तार्किक उत्तर बैठकले निकाल्छ ।

झलनाथ खनालले सम्पूर्ण रूपले पार्टी पुनर्गठन आवश्यक छ भन्नुभयो । सम्पूर्ण रूपले भन्नाले नेतृत्वको प्रश्न पनि उठ्ने होला नि ?

हाम्रो पार्टीभित्र यो प्रस्ताव बनिसकेको, छलफलमा चढेको विषय होइन । तर क्रमश: यस्ता प्रश्नहरू उठे भने के गर्ने भन्ने कुराको उत्तर पार्टी, कमिटीले संस्थागत रूपमा दिनेछ ।

माधव र झलनाथ बीचको मतभेदलाई पार्टी बन्ने भन्दा पनि विघटनको सकस भनेर कतिपयले टिप्पणी गरिरहेका छन्, के भन्नुहुन्छ ?  

मैले हाम्रा अप्ठ्याराहरू तपाईंहरूले देखेभन्दा अझै राम्ररी बुझ्छु । हामीले बेहोरिरहेका समस्या, संकट, आशा–निराशाहरूको गहिराइ म बुझ्छु । तर मैले यसलाई माथिबाट हेर्न खोजें भने एमालेभित्र अन्तरविरोधहरू चलिरहेको देख्छु । एमालेभित्रको उकुसमुकुस अझै प्रकट हुन बाँकी छ । स्वयम् एमाले समस्याग्रस्त छ । माओवादी हेर्नुभयो भने अर्को अन्तरविरोधहरूको प्लेटफर्म देखिन्छ । त्यहाँभित्र उहाँहरूले जान्ने कुरा भयो । तर जोसुकैले बाहिरबाट तार्किक रूपले हेर्दा जनार्दनजीले उठाएको प्रश्न राजनीतिक छ । २०६५ सालसम्म युद्धले राम्रो गर्‍यो भनेर त्यसको श्रेय तपाईं (प्रचण्ड) ले लिंदा त्यसपछि आज माओवादीको यो हालत हुनुको जिम्मा पनि प्रचण्डले लिनुपर्छ भन्ने प्रश्न राजनीतिक हो ।

तपाईंले भने जस्तै हामीमा पनि समस्या छन् । यस हिसाबले यो वाम आन्दोलनकै समस्या हो भन्ने लाग्छ । अब कुनै एउटा पार्टीले कमजोरीहरू सुधार्दै अगाडि जान्छ र त्यसले लिड गरेर अरू पार्टीलाई समेट्दै अगाडि बढ्ला ? यो एउटा प्रक्रिया हो । अर्को, सबै पार्टीमा समस्या छन् । यसर्थ सबै स्ट्रक्चरहरूको नालायकीहरूबाट त्यहाँभित्रको कार्यकर्ताले नयाँ बाटो खोज्लान् । यही दुइटा बाटो हुन् ।

अहिलेसम्म मैले हेर्दाखेरि कुनै एउटा पार्टीले लिड गरेर निकास निकाल्ने कुरा अप्ठ्यारो–अप्ठ्यारो देखिन थालेको छ । र अब सम्भवत: समग्र वाम आन्दोलनकै रूपान्तरणको मुद्दा हरेक वामपन्थी र जिम्मेवार सदस्यहरूले सोच्नुपर्ने विषय हो कि ! केवल आफ्नो पार्टीको मात्रै समस्या हेरेर, समाधान गर्छु भनेर आजको वाम आन्दोलनको समस्या समाधान हुने कुरा करिब–करिब असम्भव बन्दै गएको देख्छु ।

सबै पार्टीमा उस्तै समस्या छ भने त यथास्थितिमै चलिरहन्छ ?  

प्रचण्डजीले पोहोरदेखि लगातार अब भोलि हुँदैछ, पर्सि हुँदैछ, विप्लवसँग हुँदैछ, एकीकृत समाजवादीसँग एकता हुँदैछ भनिराख्नुभएको छ । किन उहाँले रिपिटेड्ली यो कुरा भन्नुभएको छ, मलाई पनि अनौठो लाग्छ ।

यसको सैद्धान्तिक मात्रै उत्तर दिन सक्छु अहिले । जस्तो– २०६२/६३ को क्रान्ति हामीले २००६ सालदेखि भन्ने गरेको पूँजीवादी जनवादी क्रान्तिको एउटा चरण थियो । त्यो क्रान्तिकारी आन्दोलनमा हुर्केको लिडरसिपले सामन्तवाद सकिएपछि, वर्गहरूको चरित्र बदलिएपछि लिनुपर्ने बाटो के हो भन्दा अब जानुपर्ने समाजवादतिर हो भन्ने जुन निष्कर्ष थियो, त्यो हाम्रो निष्कर्ष थियो । भनेको २००६ सालको क्रान्तिको पुस्ताको निष्कर्ष होइन त्यो । तर लिडरसिपमा चाहिं मूलभूत रूपले हिजोकै रहिदियो । यसले गर्दा नयाँ विचार, पुरानो नेतृत्वको अन्तरविरोध अहिले सबैतिर देखिन्छ ।

एमालेमा जनताको बहुदलीय जनवाद भन्थ्यो, चुनावदेखि चुनावसम्म जाने कुरा गर्थ्यो । त्यसपछि के हुन्छ भन्ने बाटो थिएन । यता माओवादी विद्रोह गरेर सामन्तवाद अन्त्य गर्छु भन्थ्यो, जुन सामन्तवाद अन्त्य नै भइसकेको थियो ।

आठौं महाधिवेशनमा जुन प्रस्तावहरू राख्यौं, त्यसबाट माओवादी र हिजोको एमालेमा जुन गतिरोध थियो, चुनावदेखि चुनावसम्मको, विद्रोहदेखि विद्रोहसम्मको एक खालको गोलचक्कर थियो, त्यसबाट सैद्धान्तिक रूपले उद्धार गर्‍यौं । तर हाम्रा अभिभारा अनुसार हाम्रो संगठन कस्तो बन्नुपर्छ भन्नेमा छलफल नै हुन सकेन । लिडरसिप पस्नै चाहेन ।

खासगरी एमाले र माओवादीको लिडरसिप त्यो प्रश्नमा पस्न चाहेन । किनभने त्यो प्रश्नमा पस्ने बित्तिकै नयाँ खालको संगठन, नयाँ नेतृत्व र नयाँ पार्टी निर्माणको प्रक्रिया खोज्थ्यो । पुरानै लिडरसिप, पुरानै प्रक्रिया, पुरानै इन्ट्रेस्टहरूले नयाँ जिम्मेवारी बोकेर अगाडि जान सक्दैनथ्यो । त्यसको अन्तरविरोध अहिले देखा परेको छ ।

नयाँ कार्यदिशा लिइसकेपछि त्यसलाई त्यतिखेरैदेखि समाधान गर्दै गएको भए बेरोजगारी र कुशासनका बारेमा उठेका प्रश्नमा पार्टीले संस्थागत समाधान गर्दै जान्थ्यो । चुनावमा जाँदाखेरि पनि त्यस हिसाबले जान्थ्यो । चुनावमा जाने र फेरि चर्को चुनाव गर्ने गोलचक्करमा फस्दैनथे पार्टीहरू । हरेक चुनाव पछाडि समाजको रूपान्तरण हुन्थ्यो । रोजगारी बढेको देखिन्थ्यो, शिक्षाको स्तर र स्वास्थ्यको अवस्था बढेको देखिन्थ्यो, कृषिको विकास भएको देखिन्थ्यो । ५० हजार, एक लाख उद्योगहरू खुलेको देखिन्थ्यो । भ्रष्टाचारको ग्राफ घट्दै जान्थ्यो । क्रमश: हरेक चुनाव पछाडि समाज अगाडि बढेको हुन्थ्यो । नयाँ पुस्ताले नयाँ भविष्य देखिरहेको हुन्थ्यो ।

तर मुलुक आजको जस्तो निराशा, उकुसमुकुस, पलायन, विस्थापन; यो अवस्था लिडरसिपले आफूलाई बदल्न नचाहँदाको परिणाम हो । विचारका आधारमा संगठन बनाउँछौं भनेर दाबी गर्ने विशेषगरी कम्युनिष्ट पार्टीहरूले विचारका आधारमा संगठन बनाएनन् । संगठन भनेको मान्छे बदल्ने हो । अरू सबै बदलियो तर हाम्रो पार्टीको मान्छेहरू, तिनको चरित्र बदलिएन । यसले परिस्थिति बदलिएको, मान्छे नबदलिएको । परिस्थिति बदलिएको, संगठन नबदलिएको अवस्था छ । विचारको औपचारिक प्रश्न समाधान भएको, तर त्यो व्यावहारिक जीवनमा लागू नभएको अन्तरविरोधहरू छरपस्ट देखिएका छन् ।

सैद्धान्तिक कुरा भनेर झलनाथ र माधव नेपाललाई नै थामथुम पार्ने कुरा गर्नुभयो, अनि समस्याहरू छन् पनि भन्नुभयो । तर एउटा मार्क्सवादीले त समाधानको सचेत प्रयत्न गर्नुपर्छ भन्छन्, तपाईंहरूले के गर्ने हो ?

झलनाथजी र माधवजीको कुरा पार्टीमा आइरहन सक्ने निजी, व्यक्तिगत अन्तरविरोधका कुराहरू हुन् । त्यसलाई त्यही अर्थमा लिनुपर्छ भन्ने मलाई लाग्छ ।

तर पार्टीका बैठकहरू त उहाँहरूकै कुरामा अल्झिरहेको छ । भनेपछि यो निजी कुरा मात्रै भयो र ?

मैले भनेको त्यो घटना मात्रै हो, एउटा घटना हो । तर यी घटनाहरू मेरो पार्टीमा, माओवादीमा, एमालेमा भएका घटनाहरूलाई समग्रतामा हामीले कसरी समाधान गर्छौं भन्ने कुराले नै अबको वाम आन्दोलनको सम्भावना छ वा छैन भन्ने कुरा सुनिश्चित हुन्छ । यो लिडरसिपले, हिजो जनवादी क्रान्तिको नेतृत्व गरेको पुस्ताले त्यसपछिको १५–२० वर्षमा जुन आफ्ना असफलताहरू धेरै पटक पुष्टि गरिसकेको छ, यो तथ्यहरूबाट यो पुस्ताले लिड गरेन र मूभमेन्ट यसरी खुम्चिंदै र निरन्तर समस्याग्रस्त हुँदै गयो भन्ने प्रश्न आम रूपमा उठिरहेको छ । र, एउटा मार्क्सवादी भएर हेर्दा यी अन्तरविरोधहरू जीवित अन्तरविरोधहरू हुन् । यो कुन व्यक्तिले उठायो र उठाएन वा कुन व्यक्तिले अलिकति उठाएर सत्ताको बार्गेनिङ गर्‍यो भन्ने दोस्रो कुरा हो । तर जीवित मुद्दा हो भने यसको टुंगो लाग्छ ।

धेरै अगाडिदेखि भन्दैछु, पार्टीहरूमा देखिएको उकुसमुकुस नै यस्तो शक्तिशाली आधार हो, यसले केही निकाल्छ । र, २०८४ सालभन्दा अगाडि नै यो निकाल्छ भन्ने लाग्छ । यदि निकाल्न सकेन भने वाम आन्दोलनले २०८४ मा धेरै नराम्रो परिणाम भोग्नुपर्छ ।

सम्भावित संकट देखेर पनि नेतृत्व पुस्तान्तरण गर्ने योग्यता देखाउन सकिरहनुभएको छैन भन्न सकिएला ?

कम्युनिष्ट आन्दोलनका खराबीहरूबाट प्रशिक्षित पुरानो पुस्ता नै रहिराखेको कारणले सम्भवत: आजसम्म पनि त्यसको दुष्प्रभावहरू कम्युनिष्ट आन्दोलनले बेहोर्दैछ भन्ने लाग्छ

अहिलेसम्म पनि हाम्रो प्रयत्न यो (नेतृत्वमा रहेका) पुस्तालाई समेत मनाउँदै जाँदाखेरि बढी सुरक्षित, प्रभावकारी, परिणाममुखी हुन्छ भन्ने लागेको हो । तर यसले काम गर्‍यो कि गरेन भन्दा गर्‍या छैन । काम गरेन भने के होला भन्दा परिणामले देखाउँछ । परिणामले देखाउँछ भन्नुको अर्थ यो पुस्तालाई मनाउन सक्यौं । अथवा एउटा ठाउँमा गएर हाम्रो पुस्ताले तपाईंहरूले भने जस्तै विद्रोह गर्‍यो भने र राजनीतिलाई ट्रयाकमा ल्यायो भने त्यो राम्रै हुनेछ । तर हामी के गर्छौं भन्ने कुरा त्यो फेरि पनि हाम्रो योग्यतामा भर पर्छ ।

नयाँ पुस्तालाई विश्वास नगर्ने अनि पुरानै पुस्ताका नेताहरूको झगडाको हिसाबकिताब मिलाउनेतिर लाग्दा तपाईंहरूको योग्यतामाथि नै प्रश्न उठ्न थाल्यो भन्न सकिन्छ ?

हिजो एमालेकै अन्तरविरोध हेर्दा, त्यो लिडरसिप एकदमै आक्रामक, आफ्नो सत्ताका लागि जेसुकै गर्न तयार देखियो । त्यो तहसम्म लड्दा फेरि आन्दोलन झन् विभाजित हुन्छ कि भन्ने सधैंभर हाम्रो पुस्ताले बेहोरेको डर हो । पार्टीप्रति चिन्ता यो तहसम्म छ । अब यिनीहरू योग्य हुन् भन्नुस्, अथवा यो तहसम्म असफल हुँदा पनि डोली बोकेर हिंड्ने नालायक भन्नुस् ।

दोस्रो कुरा, पार्टीहरू दोहनकारी संरचना जस्ता भए । जति ठूलो पार्टी, त्यति धेरै दोहन । यसभित्र हाम्रो पुस्ताले भाग्य–शान्ति थोर–धेर पायो । र, आफ्नो कुरा सिरियस्ली उठाउन सकेन । तर अब जसले पार्टीमा ठूलो विवाद नहोस् भनेर सोच्यो अथवा लिडरसिप अनैतिक भयो, तर हामी त्यो अनैतिकतासँग प्रतिस्पर्धा गर्न हुँदैन भनेर बस्यौं, त्यसले पनि सोच्ने बेला आयो । किनभने उसका लागि अब समय छैन । मेरो पुस्ताका लागि साँच्चिकै समय छैन । अब जिन्दगीको उत्तरार्धतिर आफूले बनाएका जीवनका मूल्यहरू केही थिए, ती मूल्यहरू साँचा थिए, ती आफूले कबुल गरेका मूल्यहरू हुन् भनेर कन्क्लुड गर्न पनि यी प्रश्नको उत्तर दिनुपर्ने भयो ।

यसर्थ आन्दोलनलाई नयाँ तरिकाले हामी पुनर्गठन गर्छौं, त्यसका लागि जे–जे गर्नुपर्छ सबै गर्न तयार छौं भनेर आउनुपर्ने भयो । अब हामी त्यो बिन्दुमा पुग्दैछौं ।

अर्काे, त्यो मूल नेतृत्वसँग बसेर, आशीर्वादमा अलिकति राज्य दोहन गरेको पनि नरहने भयो । किनभने भाँडै नरहेपछि त त्यसले दिंदैन । यसले गर्दा तिनीहरूले पनि क्रान्तिको पक्षमा आउनुपर्ने भयो । हिजो जे गरियो, त्यो गल्ती गरिएछ भनेर सोच्नुपर्ने बिन्दु आयो । यो वर्ष, अर्को निर्वाचनसम्म जाँदा हुनसक्छ, यो प्रश्नको उत्तर मेरो जेनेरेसनले दिन्छ होला भन्ने लाग्छ ।

पुनर्गठनको एजेण्डा उठाउनेमाथि उल्टै नैतिकताको प्रश्न गर्ने प्रवृत्ति देखियो । जनार्दन शर्मा एक उदाहरण मात्र …

जनार्दनजीले के–के गर्नुभयो, गर्नुभएन; उहाँले जवाफ दिनुहोला । स्वयम् प्रचण्डले त्यसको उत्तर अस्ति ७ गते दिनुभयो । उहाँले भन्नुभयो– ३६ वर्ष भइसक्यो म मुख्य नेता भएर बसेको । कतिखेर–कतिखेर छोड्दिउँ कि जस्तो लाग्छ । तर छोड्दाखेरि झन् बिग्रिन्छ कि भनेर बसेको छु ।

जनार्दनको प्रश्नको उत्तर दिनुभयो कि ३६ वर्षसम्म उहाँ बस्नुभएको छ । गएको २० वर्षदेखि पार्टी ओरालोको ओरालो छ । जुन कुरा नतिजामा देखिएको छ । यसलाई महसुस गरेर कार्यान्वयन गर्नुपर्‍यो । होइन, मैले छोड्दाखेरि बिग्रिन्छ कि भन्ने हो भनेदेखि यो त कसैको मौजा हो, पार्टी होइन भन्नुपर्‍यो । यो जिम्मेदारी, यो वैभव अझै बढाएर … ! बढ्दै गरेको भएदेखि बढाएर छोडिदिन्छु भन्ने हुन्छ । यो त घट्दै गइराखेको बेलामा उहाँले यो कुरा स्वीकार गर्नुपर्ने हो ।

कम्युनिष्टहरू राज्यसत्ता कब्जा भन्थे, त्यो त सकेनन् । तर पार्टी सत्ता चाहिं नमरुन्जेलसम्म नछोड्ने प्रवृत्ति संसारभर देखियो । कतै कम्युनिष्ट विचारको डीएनएमै समस्या त होइन ?

एकताको प्रश्न जुन छ, यो माओवादीले बढी प्रचार गरेको कुरा हो । हाम्रो तर्फबाट त्यस्तो भएको छैन । धेरै राजनीतिक, सैद्धान्तिक प्रश्नहरू छन् जसमा प्रष्ट नभइकन माओवादीसँग एकता हुँदैन

कम्युनिष्ट आन्दोलनमा लोकतन्त्रीकरणको कुरा एमाले छँदाखेरि अलि बढी उठायौं । ओलीजीले धेरै पद राख्नुपर्छ, एउटा महासचिव भएर निरंकुश भयो भन्नुभएको थियो । हामीले ७० वर्षे उमेर हद, दुई कार्यकालको सीमा र पार्टी सदस्यतामा सार्वभौम सत्ता रहन्छ भन्ने उठाएको हो । धेरै छलफल गरेर, धेरै अध्ययनहरू गरेर हामीले यो कुरा उठाएका थियौं । दुर्भाग्य के भयो भन्दा हामीले उठाएकै कुरा लागू गर्न पनि सकिएन ।

२०६२/६३ पछाडि यी पार्टीहरूको लिडरसिप नयाँ पुस्तामा आएको भए सम्भवत: यस्तो हुँदैनथ्यो । किनभने हामी त अनेरास्ववियुको हिसाबले २०३६ सालदेखि बहुदलमा हुर्केका हौं । त्यहाँ नेविसंघ थियो, अनेरास्ववियु थियो, अरू फेडेरेसन थिए । कहिले सम्झौता गर्‍यौं, चुनाव गर्‍यौं, हार्‍यौं, फेरि चुनाव लड्यौं । यो अभ्यासबाट आएको पुस्ता २०६२/६३ पछाडि लिडरसिपमा आएको भए (लोकतन्त्रीकरण) अभ्यस्त भएर जान्थ्यो । तर कम्युनिष्ट आन्दोलनका खराबीहरूबाट प्रशिक्षित पुरानो पुस्ता नै रहिराखेको कारणले सम्भवत: आजसम्म पनि त्यसको दुष्प्रभावहरू कम्युनिष्ट आन्दोलनले बेहोर्दैछ भन्ने लाग्छ ।

त्यस अर्थमा पनि पुस्तान्तरणको कुरा जरूरी भयो भन्ने लाग्छ । यो पुस्तान्तरणले लामो समयसम्म कम्युनिष्ट आन्दोलनलाई साँच्चिकै आन्तरिक लोकतन्त्रलाई आत्मसात् गर्छ, त्यसपछाडि त्यो संस्थागत हुन्छ, स्थापित हुन्छ ।

यदाकदा पार्टीभित्र लोकतन्त्रीकरणको प्रश्न उठाउने गरेको पनि देखिन्छ । तर जसले प्रश्न गर्छन्, ऊ एक्लो हुन्छ । सिंगो पंक्ति भजन–कीर्तनमा रमाउँछन्, कसरी कम्युनिष्ट लोकतन्त्रीकरण होला ?

अरू पार्टीहरूले असाध्यै प्रशंसा गर्ने गरी नेकपा एमालेलाई हामीले लोकतान्त्रिक बनाएका थियौं । हरेक कमिटी चुनिएर आएका थिए । हरेक कमिटी विधान बमोजिम चुनिएर आएका थिए । र, हरेक निर्णय संस्थागत भएर जान्थ्यो । साँच्चिकै विशिष्ट उदाहरण थियो ।

आजको विशाल संगठन, त्यसकै प्रतिफल पनि होला । २०४६ सालमा बहुदल आएपछि अस्ति २०७१ सालसम्म पनि हामी यो अभ्यासबाटै आयौं । अझ परिमार्जित गर्दै–गर्दै आयौं ।

नेकपा एकीकृत समाजवादी हिजो कांग्रेसको डोली बोकेर थाकिसक्या छ, अब त्यो बोक्ने पक्षमा छँदै छैन

हामीले २०६५ सालको आठौं महाधिवेशनबाट यसलाई अझ व्यापक बनायौं । विधानका कुराहरूलाई अझ लोकतन्त्रीकरण गर्‍यौं । यो त हामी आफैंले गरेर आएको कुरा हो । यसर्थ कम्युनिष्ट पार्टी र लोकतान्त्रिक अभ्यास एकदमै अलग–अलग हुन् भन्ने होइन । हामीले पुष्टि नै गरिसक्या छौं ।

लोकतान्त्रिक प्रक्रियाबाटै आएकाहरू पार्टीभित्र भइरहेका कमजोरीमा बोल्न नसक्ने कसरी भए ?

गएको २० वर्षदेखि भन्दैछु कि दलाल पूँजीवादले गर्ने यही हो । यसले पार्टीभित्रको लोकतन्त्र हाइज्याक गरिदिन्छ । क्रान्तिकारीहरूलाई दलाल पूँजीवादसँग सम्झौता गर्नुपर्ने ठाउँमा लैजान्छ । र, अल्टिमेट्ली लिडरसिप त्यसले कब्जा गर्छ । लिडरसिप कब्जा गरेर त्यसले संसद्माथि कब्जा जमाउँछ । त्यस मार्फत उसले राज्यमाथि कब्जा जमाउँछ । घटना त्यसैगरी घट्दै गएका छन् । यसका अरू कारण के हुन् भन्नेबारेमा अब छलफल गर्नुपर्छ ।

वाम आन्दोलन रक्षाकै कुरा गर्दा माओवादीसँग तपाईंहरूको एकता हुने  चर्चा थप बाक्लिएको छ, भइरहेको के हो ?

पहिलो त नेकपा एकीकृत समाजवादी वा जुनसुकै कम्युनिष्ट पार्टी आम रूपमा सिद्धान्तत: एकताकै पक्षमा हुन्छ । अझ विभाजित, जहिलेदेखि कम्युनिष्ट आन्दोलन विभाजित रह्यो, हामी एकताको पक्षमा छौं । यो यसै स्थापित कुरा हो ।

दोस्रो, माओवादीसँग एकताको जुन कुरा चल्या छ, अहिलेसम्म पार्टीको औपचारिक एजेन्डै बन्या छैन । अहिलेसम्म कुनै कमिटीको औपचारिक मुद्दै बन्या छैन । प्रचण्डजीले पोहोरदेखि लगातार भनेर आइराख्नुभएको छ, अब भोलि हुँदैछ, पर्सि हुँदैछ, विप्लवसँग हुँदैछ, एकीकृत समाजवादीसँग एकता हुँदैछ भनिराख्नुभएको छ । किन उहाँले रिपिटेड्ली यो कुरा भन्नुभएको छ, मलाई पनि यो अनौठो लाग्छ ।

एकता भनेको नेताहरूको एकता, नेताहरूको कुर्सीको भागबण्डाको एकता हुँदैन । त्यस्तो एकता २०७४ सालमा पनि भयो । मूलभूत रूपले ओलीजी र प्रचण्डजीको त्यो एकता थियो । त्यस्तो एकताले आन्दोलनलाई बलियो बनाउने भन्दा धेरै गुणा कमजोर बनाउँदो रहेछ भन्ने देखिनैसक्या छौं । अर्को, माओवादीसँग कतिपय नीतिगत मामलामा छलफल गर्नुपर्ने छ । केही रिजर्भेसनहरू छन् । किनभने यसभन्दा अगाडि नै पनि एकचोटि पार्टी एकता संयोजन समिति बनेको थियो । किन त्यो असफल भयो ?

हाम्रो संस्थागत बुझाइ के छ भन्दा प्रचण्डजीले हुन दिनुभएन । त्यतिखेर चुनावको मुखमा एकता नगर्दा माओवादीलाई फाइदा हुन्छ भन्ने टुंगोमा उहाँ पुग्नुभयो, र त्यसै गर्नुभयो । जसले एकीकृत समाजवादी ठगियो भन्ने पर्‍या छ । यी त तात्कालिक कुरा भए ।

कम्युनिष्ट पार्टीको एकता भनेको कार्यक्रमको एकता हो, कार्यदिशाको एकता हो, नीति, विचार, सिद्धान्त र संगठनको एकता हो । यी विषयमा हामी प्रवेश नै गर्‍या छैनौं । यसर्थ एकताको प्रश्न जुन छ, यो माओवादीले बढी प्रचार गरेको कुरा हो । हाम्रो तर्फबाट त्यस्तो भएको छैन ।

एकताको कुरा गर्दा सैद्धान्तिक हिसाबले खुट्टा टेकेन भने के हुन्छ भन्दा फेरि कांग्रेस बोकेर हिंड्छौं भन्ने आम रूपमा मान्छेलाई परिराख्या छ । यो नेकपा एकीकृत समाजवादी हिजो कांग्रेसको डोली बोकेर थाकिसक्या छ । अब त्यो बोक्ने पक्षमा छँदै छैन । यस्ता धेरै राजनीतिक सैद्धान्तिक प्रश्नहरू छन् जसमा प्रष्ट नभइकन माओवादीसँग एकता हुँदैन ।

समाजवादी मोर्चा बनेर त्यस मार्फत एकता गर्ने भनेर छलफल त व्यापकै भयो भन्ने बुझिन्छ नि ?

कुनै एउटा उपन्यासको पात्र छ– आइतबार जन्मियो, सोमबार हुर्कियो, मंगलबार बिहे भयो, …., शनिबार मर्‍यो । मोर्चाको उद्भव, विकास, त्यस्तै भयो । धेरै ठूलो आशाका साथ यो गठन भयो । दुर्भाग्य; म्याजिक नम्बर वरिपरि मात्रै यसको काम भयो । यसको दु:खद् कहानी त्यो हो ।

सुखद् कहानी, यसले धेरै राम्रो आशा, विश्वास सिर्जना गरेको थियो । त्यो चैत १५ गते जुन प्रदर्शनी गर्‍यो, त्यसले तथाकथित राजावादीहरूको सामाजिक मनोविज्ञान बदल्न, बिथोल्न काम गर्न सक्यो । त्यस अर्थमा धेरै राम्रो काम पनि गरेको छ ।

अन्त्यमा, विप्लवले मोर्चा विघटनकै प्रस्ताव ल्याउनुभएछ । अब समाजवादी मोर्चाको भविष्य के होला ?

उहाँको प्रस्ताव अहिले स्थगित गरौं र अलि नयाँ स्तरमा मोर्चा बनाएर उठाउने गरी जाऔं भन्ने थियो । छलफलका दौरानमा त्यसो नगरौं, कसरी राम्रो बनाउन सकिन्छ भनेर सोचौं भन्ने कुरामा सहमति भएको छ । आगामी दिनमा अझै धेरै छलफल हुनुपर्नेछ । खासगरी सत्तासँग बार्गेनिङ होइन, समाजवादी मोर्चा स्वयं समाजवादी नेपाल निर्माण गर्ने हो भन्ने कुरा स्पष्ट पार्नुपर्नेछ । तात्कालिक सत्ताको लेनदेनमा समाजवादी मोर्चा अल्झिंदैन भन्ने कुरा भन्नुपर्नेछ ।

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?