
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतमा बेंगलुरुकी ३८ वर्षीया महिलामा नयाँ रक्त समूह 'सीआरआईबी' पत्ता लागेको छ, जुन ४७ मान्य रक्त समूह प्रणालीमध्ये एक हो।
- महिलाको रक्त समूह पत्ता लगाउन ११ महिना लाग्यो र ISBT ले यसलाई औपचारिक रूपमा स्वीकृति दिएको छ।
- सीआरआईबी रक्त समूह भएका बिरामीलाई सामान्य रगत चढाउँदा शरीरले एन्टिबडी बनाउँछ, त्यसैले परिवारभित्रै मिल्ने रक्तदाता वा आफ्नै रगत प्रयोग गर्नुपर्छ।
१८ साउन, काठमाडौं । ‘ए’, ‘बी’ र ‘ओ’ जस्ता रक्त समूहहरूको बारेमा तपाईंले सुन्नुभएकै होला । तर यिनका अतिरिक्त पनि केही दुर्लभ रक्त समूहहरू हुन्छन् । हालै भारतमा यस्तै एक नयाँ रक्त समूह पत्ता लागेको छ, जसको नाम राखिएको छ– सीआरआईबी (CRIB) ।
सीआरआईबीको ‘सी’ ले क्रोमर (Cromer अर्थात् CH) भन्ने अर्थ दिन्छ, जुन ४७ वटा मान्य रक्त समूह प्रणालीमध्ये एक हो । ‘आई’ ले इन्डिया (भारत) र ‘बी’ ले बेंगलुरु जनाउँछ । सरल भाषामा भन्नुपर्दा, यो एक यस्तो रक्त समूह हो जुन बेंगलुरु बस्ने एक भारतीय महिलामा पत्ता लागेको हो ।
यो रक्त समूह यति दुर्लभ छ कि ३८ वर्षीया ती महिलाको मुटुको शल्यक्रिया गर्दा डाक्टरहरूले रगत चढाउनु पर्ने सम्भावनाको तयारी स्वरूप सामान्यतया राखिने १–२ पिन्ट रगत समेत सुरक्षित नराख्ने निर्णय गरे । कारण थियो– डाक्टरहरूले ती महिलाको रक्त समूह पत्ता लगाउन सकेका थिएनन् ।
११ महिनापछि पुष्टि
डाक्टर अंकित माथुर, जो बेंगलुरुस्थित रोटरी–टीटीके ब्लड सेन्टरका अतिरिक्त चिकित्सा निर्देशक हुन्, ती दिन सम्झिँदै अहिले राहतको सास फेर्छन् । किनभने त्यो शल्यक्रिया बिना रगत चढाइ नै सफलतापूर्वक सम्पन्न भयो ।
कोलारको आरएल जलप्पा अस्पतालका डाक्टरहरूका लागि डा. माथुर सम्पर्क व्यक्ति थिए । यही अस्पतालमा ती महिलालाई मुटुको समस्या देखिएपछि शल्यक्रियाको सल्लाह दिइएको थियो ।
अरू रक्त समूहभन्दा फरक
डा. माथुरले बीबीसीलाई भनेका छन्, ‘महिलाको रक्त समूह कुनै पनि अरू समूहसँग मिल्दैनथ्यो । हामीले अरू ब्लड ग्रुपसँग मिसाएर परीक्षण गर्यौं, तर हरेकपटक प्रतिक्रिया देखाइरह्यो ।’
पछि उनले ती महिलाको परिवारभित्रै खोजी थाले । करिब २० जनाको रगत परीक्षण गरियो, सबैले सहयोग गरे, तर कसैको पनि रगत ती महिलासँग मेल खाएन ।
त्यसपछि अर्को विकल्प थियो– उनको रगतको नमुना बेलायतको ब्रिस्टलस्थित International Blood Group Reference Laboratory (IBGRL) मा पठाउने । यो प्रयोगशाला विश्वभरबाट नमुनाहरू परीक्षणका लागि पठाइन्छन् ।
डा. माथुरका अनुसार, ‘पूरा विश्लेषण गर्न १० महिना लाग्यो । फेब्रुअरी–मार्चतिर उत्तर आयो कि महिलाको रगतमा एक युनिक एन्टिजेन छ । त्यसपछि यो जानकारी अन्तर्राष्ट्रिय संस्था ISBT (International Society of Blood Transfusion) मा पठाइयो ।’
ISBT नामक विशेषज्ञ समूहले ‘सीआरआईबी’ रक्त समूह नामलाई स्वीकृति दियो । यसै वर्ष जुन महिनामा इटालीको मिलानमा आयोजित ISBT को ३५औं सम्मेलनमा यसलाई औपचारिक रूपमा घोषणा गरिएको थियो ।
दुर्लभ जीन
कुनै व्यक्तिको रक्त समूह उसको बाबुआमाको जीन (आनुवंशिक कोड) मा निर्भर गर्छ ।
के यस महिलाको जीनमा केही समस्या थियो ? डा. माथुर भन्छन्, ‘हामीलाई लागेको थियो कि परिवारमा कसैमा पनि त्यही एन्टिजेन पाइएको हुनुपर्छ, तर कसैको रगतमा त्यो एन्टिजेन थिएन ।’
एन्टिजेन भनेको शरीरमा पाइने प्रोटिन हो, जुन सतहमा देखिन्छ ।
उनी भन्छन्, ‘शरीरमा जे बन्छ, त्यसको जानकारी बाबु–आमाबाट आउँछ । आधा कोड बाबाबाट, आधा आमाबाट । तर यो केसमा केवल आधा जानकारी मात्र उपलब्ध छ । त्यसैले उनीहरूको रक्त समूह पूर्णत: फरक भएको हो ।’
उनी थप्छन्, ‘यस केसमा त्यो एन्टिजेन क्रोमर हो । अहिलेसम्म क्रोमर रक्त समूह प्रणालीमा २० एन्टिजेनको पहिचान भइसकेको थियो, अब सीआरआईबी २१औं एन्टिजेन बनेको छ ।’
यस्ता बिरामीको आपत्कालीन अवस्थामा के हुन्छ ?
कोलारकी ती महिलाजस्ता बिरामीहरूको लागि आपतकालीन अवस्थामा कुनै निश्चित उपचार विधि हुँदैन ।
यदि उनीहरूलाई सामान्य रगत चढाइयो भने शरीरले त्यसलाई बाह्य तत्व ठान्छ र एन्टिबडी बनाउँदै नष्ट गर्न थाल्छ ।
डा. माथुर भन्छन्, ‘यस्ता केसमा दुईवटा मात्र विकल्प हुन्छन्– पहिलो, परिवारभित्रै अर्काे व्यक्ति फेला पार्नु जसको ब्लड ग्रुप पनि सीआरआईबी होस् ।
दोस्रो– शल्यक्रिया अघि बिरामीको आफ्नै रगत संकलन गरेर राख्ने र आपतकालीन अवस्थामा चढाउने । यसलाई Autologous Blood Transfusion भनिन्छ ।’
यो असामान्य होइन र यस्ता दुर्लभ रक्त समूह भएका बिरामीहरूमा अक्सर अपनाइन्छ ।
के अन्य रक्त समूहबाट रगत लिन वा दिन मिल्छ ?
सीआरआईबी रक्त समूह पनि अरू ४७ रक्त समूह प्रणालीमध्ये एक हो जसमा हालसम्म करिब ३०० एन्टिजेन पहिचान गरिएका छन् । तर ब्लड ट्रान्सफ्युजनका सन्दर्भमा प्राय: केवल A, B, O र RhD समूहमा मिलान गरिन्छ ।
डा. स्वाति कुलकर्णी, जो मुम्बईस्थित ICMR–NIIH (National Institute या Immunohematology की पूर्व उपनिर्देशक हुन्, उनी १९५२ मा डा. वाई.एम. भेन्डे र डा. एच.एम. भाटियाले पत्ता लगाएको ‘बम्बे ब्लड ग्रुप’को उदाहरण दिन्छिन् ।
उनका अनुसार, ‘जसमा बम्बे फेनोटाइप हुन्छ, ती व्यक्तिमा ए र बी एन्टिजेन हुँदैन । तर तिनीहरू ‘ई’ ब्लड ग्रुपबाट पनि रगत लिन सक्दैनन् ।’
बम्बे ब्लड ग्रुप संसारभर करिब १० लाख मानिसमा एक जनामा मात्र पाइन्छ । तर भारतको मुम्बईमा भने प्रत्येक १० हजारमा एक जनामा देखिने बताइन्छ ।
डा. माथुर भन्छन्, ‘कोलारकी ती महिलाको केसमा पनि त्यही अवस्था छ– उनी कसैबाट पनि रगत लिन सक्दिनन्, तर अरूलाई दिन सक्छिन् । यो बम्बे ब्लड ग्रुपसँग मिल्दोजुल्दो हो ।’
डा. स्वाति भन्छिन्, ‘बम्बे ब्लड ग्रुप र क्रोमर ब्लड ग्रुप प्रणाली (CRIB सहित) बाहेक, भारतमै Indian Blood Group System पनि खोजिएको हो, जुन १९७३ मा ICMR–NIIH ले पत्ता लगाएको हो ।’
दुर्लभ रक्तदाता सूची
डा. स्वाति कुलकर्णीका अनुसार, NIIH हाल Rare Blood Donor Registry (दुर्लभ रक्तदाता दर्ता) को विकासमा छ ।
यो एउटा डेटाबेस हो जसमा यस्ता दुर्लभ रक्त समूह भएका दाताहरूको विवरण राखिन्छ, जसले गर्दा आपतकालीन अवस्थामा सहजीकरण गर्न सकियोस् ।
उनी भन्छिन्, ‘यो रजिस्टर ती बिरामीहरूका लागि उपयोगी हुनेछ जसको शरीरमा धेरै किसिमका एन्टिबडी बनिसकेका छन् र विशेष मिलान आवश्यक हुन्छ ।’
थालेसिमिया जस्ता रोगमा बारम्बार रगत चढाउनु पर्ने हुन्छ र यसमा ८–१० प्रतिशत बिरामीहरूमा बाह्य एन्टिजेनविरुद्ध एन्टीबडी बनाउने प्रक्रिया देखिन्छ।
सामान्य जनसंख्यामा यो सम्भावना करिब १–२ प्रतिशत मात्र हुन्छ । विभिन्न जातीय समूहमा यस्तो घटना फरक–फरक दरमा देखिन सक्छ ।
–बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4