+
+
Shares

जलवायु परिवर्तनबारे नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १४:४३

१८ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएका छन् ।

संसद्‌मा सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आईतवार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे जानकारी गाराएका हुन् ।

उनले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए । त्यसबारे पनि सम्मेलनमा छलफल भएको उनले बताए ।

अन्तर व्यवस्थापिक संघ (आईपीयू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एशिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताए ।

‘हामीले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछौँ । त्यसको बारेमा पनि कुराकानी भयो,’ सभामुख घिमिरेले भने, ‘आइपीयूका अध्यक्षसँग पनि आउँदो जनवरी, ३० र ३१ मा एउटा एशिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम आइपियुकै अयोजनामा काठमाडौंमा सञ्चालन गर्न गइरहेका छौँ ।’

सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) र संयुक्त राष्ट्रसंघ (यूएन)द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गरेका थिए ।

सम्मेलनको दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?