News Summary
Generated by OK AI. Editorially reviewed.- १०औं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलनले जलवायु-अनुकूल र दिगो खाद्य प्रणालीका लागि साझा प्रतिबद्धता व्यक्त गरेको छ।
- सांसद् गणेश पराजुलीले खाद्य प्रणालीका समस्यालाई राष्ट्रिय संकट मान्दै नीति, अनुसन्धान र उद्योगीहरूलाई समाधान खोज्न आग्रह गरे।
- सम्मेलनले काठमाडौं घोषणापत्र तयार गरी सरकार र निकायलाई कार्यान्वयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
३० वैशाख, काठमाडौं । जलवायु परिवर्तनको चुनौती र बदलिँदो खाद्य प्रणालीबीच सुरक्षित एवं पोषिलो भविष्यका लागि साझा प्रतिबद्धता व्यक्त गर्दै १०औं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन सम्पन्न भएको छ ।
नेपाल खाद्य विज्ञान तथा प्रविधिज्ञ संघको आयोजनामा दुई दिनसम्म चलेको उक्त सम्मेलनले नेपालको खाद्य सुरक्षा र प्रविधि क्षेत्रमा नयाँ बहसको सुरुवात गरेको छ ।
‘खाद्य प्रणालीको पुन: परिकल्पना : विज्ञान, नीति र स्मार्ट नवप्रवर्तन मार्फत जलवायु–अनुकूल र दिगो पोषण’ भन्ने मूल नारासाथ आयोजित सम्मेलनमा देशभरिका खाद्य वैज्ञानिक, अनुसन्धानकर्ता, नीतिनिर्माता, उद्योगी र युवा विद्यार्थी सहभागी थियो ।
सम्मेलनको उद्घाटन गर्दै सांसद् गणेश पराजुलीले नेपालको खाद्य प्रणालीमा देखापरेका समस्यालाई राष्ट्रिय संकटका रूपमा लिनुपर्ने बताए । उनले विशेष गरी अत्यधिक प्रशोधित खाद्यान्नको बढ्दो प्रयोग, खाद्य आयातको भयावह स्थिति र माटोको घट्दो स्वास्थ्यप्रति चिन्ता व्यक्त गरे ।
‘नीतिनिर्माता, अनुसन्धानकर्ता र उद्योगीहरू अब एउटै राउन्ड टेबुलमा बसेर समाधानमुखी छलफलमा जुट्नुपर्छ,’ उनले भने, ‘प्रविधिमा आधारित क्यूआर कोड, एग्रिटेक स्टार्टअप फन्ड र अन्तरमन्त्रालय समन्वय नै हाम्रो खाद्य प्रणाली रूपान्तरणका मुख्य आधार हुन् ।’
सम्मेलनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्णप्रसाद राईले उत्पादनदेखि उपभोगसम्मको खाद्य स्वच्छता सुनिश्चित गर्न डिजिटल प्रविधि प्रयोग अपरिहार्य रहेको बताए ।
प्रमुख ‘कि–नोट’ वक्ता प्रा. डा. अनिलकुमार अनलले खाद्य प्रणालीलाई विज्ञान र नीतिको संयोजनबाट पुन: परिकल्पना गर्नुपर्नेमा जोड दिए । उनले ‘खाना नै औषधि हो’ भन्ने अवधारणामा जोड दिँदै खाद्य प्रणालीलाई विज्ञान, नीति र नवप्रवर्तन मार्फत पुन: परिकल्पना गर्नुपर्ने बताए ।
सम्मेलनमा नीतिगत सुशासन, खाद्य सुरक्षा, प्लान्ट–बेस्ड मिल्क (वनस्पतिजन्य दूध), कम कार्बन उत्सर्जन गर्ने प्रशोधन प्रविधि र आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित खाद्य गुणस्तर मापनका विषयमा विभिन्न प्राविधिक सत्र सञ्चालन गरिएका थिए ।
प्रा. डा. दीलिप सुब्बा, उत्तमकुमार भट्टराई र डा. अतुल उपाध्याय लगायत विज्ञले नेपालका रैथाने बाली, कोदो, र ‘सर्कुलर इकोनोमी’ प्रवर्द्धन र ब्लक–चेन प्रविधि मार्फत खाद्य स्वच्छता प्रणालीलाई सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए ।
साथै, युवा अनुसन्धानकर्ता र विद्यार्थीहरूले खाद्य प्रशोधन र पोषणका क्षेत्रमा गरेका नवीन खोज ‘पोस्टर प्रेजेन्टेसन’ मार्फत प्रस्तुत गरेका थिए ।
सम्मेलनको समापनमा ‘जलवायु–अनुकूल र दिगो खाद्य प्रणाली सम्बन्धी काठमाडौं घोषणापत्र’ माथि विस्तृत छलफल गरी यसलाई कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकायलाई सिफारिस गर्ने निष्कर्ष निकालिएको छ ।
प्रतिक्रिया 4