+
+
Shares

फुर्सदको समयमा यसरी लेखिएको थियो कोल्डप्लेको ‘येलो’…

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोल्डप्लेले सन् २००० मा आफ्नो पहिलो एल्बम \'प्यारासुट्स\' सार्वजनिक गर्दा ब्रिटपपमा नयाँ जीवन ल्यायो।
  • कोल्डप्लेको गीत \'येलो\' स्टुडियोमा ब्रेकको समयमा क्रिस मार्टिनले लेखेका थिए र यो गीतले ठूलो सफलता पायो।

लुक एट द स्टार्स
लुक हाउ दे शाइन फोर यू
एन्ड एभ्रिथिङ यु डु
यह, दे वेर अल येलो

000

सन् १९९७ सम्म आइपुग्दा ब्रिटपप (बेलायतको पप म्युजिक) सकिएको जस्तो अवस्थामा थियो । यो विधाका प्रमुख ब्यान्ड ओएसिसले सोही वर्ष अत्यधिक चर्चामा रहेको आफ्नो एल्बम ‘बी हियर नाउ’ सार्वजनिक गर्‍यो । सुरुमा त एल्बमले राम्रो समीक्षा पायो । विक्री राम्रै भयो । तर ब्रिटपपको ओरालो यात्रालाई एल्बमले रोक्न सकेन ।

त्यसको केही समयपछि ओएसिसकै गितारवादक नोएल गालाघर आफैंले उक्त एल्बमबारे नराम्रो टिप्पणी गरे । त्यसले गर्दा ब्रिटपपमा एक प्रकारको सन्नाटा ल्याइदियो । त्यसका बाबजुद स्पाइस गर्ल्सजस्ता ब्यान्डहरूले ब्रिटपपमा नयाँ गीतहरू दिइरहेका थिए । तर अपेक्षित प्रभाव पार्न सकिरहेका थिएनन् ।

यही अवस्थामा कोल्डप्ले नामक एउटा अपरिचित ब्यान्ड ब्रिटपपमा देखापर्छ । सन् २००० मा उनीहरूले आफ्नो पहिलो एल्बम ‘प्यारासुट्स’ निकाल्छन् । जसबाट उनीहरूले व्यापक प्रशंसा पाउँछन् । ठूलो संख्यामा अन्तर्राष्ट्रिय दर्शक बनाउन सफल हुन्छन् । र, फेरि एक पटक ब्रिटपपको आत्मा बचाउँछन् ।

तर कोल्डप्लेलाई सफलताको शिखरमा पुर्‍याउने गीत ‘येलो’ हो । जुन उनीहरूले स्टुडियोमा फुर्सदको समयमा लेखेका थिए । यो गीत यति उत्कृष्ट थियो कि, यसले ओएसिसका गालाघरलाई समेत प्रशंसक बनाइदिएको थियो । उनले एउटा अन्तर्वार्तामा ‘यो गीत आफूले किन लेखिनँ? भनेर ग्लानि समेत गरेका थिए ।

आज यो गीत युट्युबमा एक अर्ब बढी र स्पोस्पोटिफाइमा तीन अर्बभन्दा बढी पटक सुनिसकिएको छ । तर यदि कोल्डप्लेले त्यो रात स्टुडियोबाट ब्रेक लिन ननिस्केको भए ‘येलो’ सायदै जन्मन्थ्यो होला ।

000

सन् १९९९ को नोभेम्बरमा वेल्सको रकफिल्ड स्टुडियोमा ‘प्यारासुट्स’ एल्बम रेकर्डिङ सुरु गर्दा यो गीत अस्तित्वमै थिएन । त्यतिबेला दुई वर्ष मात्रै पुगेको यो ब्रिटिस रक ब्यान्डको खास फ्यान फलोइङ पनि थिएन ।

ब्यान्ड बनाएको छोटो समयमै उनीहरूले रेकर्डिङ सम्झौता पाएका थिए । तर दर्शक पाउन गाह्रो भयो । कोल्डप्लेको पहिलो ईपी ‘सेफ्टी’ ले कुनै खास सफलता पाएन । पार्लोफोन नामक रेकर्ड लेबलमार्फत सार्वजनिक भएको दोस्रो ईपी ‘द ब्लु रुम’ ले कोल्डप्लेलाई केही राहत दिएको थियो ।

त्यसपछि नै उनीहरू आफ्नो पहिलो एल्बम गर्न तम्सिएका थिए । तर, उक्त प्रयास गाह्रो थियो । किनकि रेकर्ड लेबलहरूसँग ब्यान्डको कुराकानी मिलिरहेको थिएन । कहिले के हुन्थ्यो त कहिले के ! तर रकफिल्डमा उनीहरूको भाग्य चम्कियो । यो ग्रामीण भेगमा अवस्थित स्टुडियो थियो, जहाँ ओएसिस, द स्टोन रोजेज र ब्रायन इनोजस्ता ब्यान्ड/कलाकारहरूले रेकर्ड गरेका थिए ।

त्यहीँ उनीहरूको भेट प्रोड्युसर केन नेल्सनसँग भयो । नेल्सनले त्यसअघि नै गोमेज र ब्याड्ली ड्रन ब्वाईसँग काम गरिसकेका थिए ।त्यसपछि कोल्डप्लेको एल्बम रेकर्डिङ गर्ने काम सहज हुँदै गयो । वातावरण राम्रो थियो । ‍ब्यान्डका सबैले रचनात्मक तरिकाले काम गरे । र, त्यही सिलसिलामा नै ‘येलो’ को जन्म भएको थियो ।

ब्यान्डका फ्रन्टम्यान तथा गितारवादक क्रिस मार्टिनका अनुसार एल्बमको गीत ‘सिभर’ रेकर्डिङ गर्दा उनीहरू नेल्सनसँग ब्रेक लिएर कौसीमा गएका थिए । त्यो रातको समय थियो । आकाशमा ताराहरूले भरिएको थियो । ग्रामीण इलाका भएकाले आकाश अझ उज्यालो देखिएको थियो ।

त्यहाँ उनीहरू ब्यान्ड (मार्टिन सहित गाइ बेरीम्यान, जोनी बकल्यान्ड र विल च्याम्पियन)सबैसँगै थिए । त्यस्तैमा मार्टिनले भने, ‘लुक अप दियर ल्याड्स ! लुक एट त स्टार्स’ (केटाहरू ! माथि हेर, ताराहरूलाई हेर)’

उनले त्यसबेला रमाइलोका लागि भनेका थिए । तर ती शब्दहरू उनको दिमागमा गहिरो गरी बस्यो । अनि उनी स्टुडियो पसे । आफ्नो अकस्टिक गितार समाते । र त्यसमै रहेर गीत बनाउन थाले ।

ठिक त्यसैबेला स्टुडियोको कुनै उपकरण बिग्रिएको थियो । र, ब्यान्ड त्यो बन्ने समय बनाउन कुरिरहेको थियो । जसले गर्दा पनि मार्टिनले गीतमा काम गर्न समय पाए ।
मार्टिनले गीतारमा विभिन्न ट्युनिङ प्रयोग गर्न मन पराउँछन् । त्यसबेला पनि उनको अकस्टिक गितार ‘सिभर’ का लागि प्रयोग हुने ट्युनिङमा सेट गरिएको थियो । उनको गितार बजाउने शैली पनि अलि फरक छ । त्यस्तैमा गितारबाट एउटा असामान्य हार्मोनिक ध्वनि निस्क्यो । जुन अहिले हामीले सुन्ने गर्छौं ।

मार्टिनलाई पूरै गीत लेख्न करिब १० मिनेट मात्र लागेको थियो । तर उनलाई एउटा शब्दले अड्काइरहेको थियो । त्यो समयसम्म उनले ‘स्टार’ शब्दलाई मात्र ध्यान दिइरहेका थिए । तर धुन भने गुन्गुनाइरहेका थिए।

उनलाई सुन्दै अर्का गिटारिस्ट जोनी बकल्यान्ड डार्ट नामक खेल खेलिरहेका थिए । त्यस्तैमा बुकसेल्फमा रहेका किताबहरूलाई अलि ध्यानले मार्टिनले हेरे । त्यहाँ ‘येलो पेजेज’ नामक पुस्तक थियो ।

त्यसपछि उनले खोजिरहेको शब्द भेटियो – येलो ।

000

जति सजिलै मार्टिनले येलोको शब्द लेखे, त्यसलाई रेकर्ड गर्न भने त्यति नै गाह्रो भयो । मार्टिनका अनुसार येलो रेकर्डिङ गर्न सबैभन्दा ठूलो समस्या टेम्पो (गीतको गति) को थियो । त्यसपछि उनीहरूलाई रेकर्डिङ माध्यमले पनि साथ दिइरहेको थिएन । त्यसबेला उनीहरूले ‘प्यारासुट्स’ एनालग टेपमा रेकर्ड गरिरहेका थिए । तर ब्यान्डलाई ‘येलो’ एनालगमा रेकर्ड गर्दा सही ध्वनि ननिस्केको महसुस भइरहेको थियो ।

यसकारण उनीहरूले येलोलाई फरक-फरक तरिकाले रेकर्ड गर्न कोसिस गरे । तर त्यसो गर्दा पनि उनीहरू खुसी हुन सकिरहेका थिएनन् । अन्तमा उनीहरूले रेकर्डिङका लागि ‘प्रो टूल्स’ (रेकर्डिङ सफ्टवेयर) प्रयोग गरे ।

यो रेकर्डिङमा मार्टिनले सन् १९९६ तिरको ‘भिसेन्टे टाटाई टोमास’ नामक स्पेनिस अकस्टिक गितार बजाए । जोनी बकल्यान्डले फेन्डर क्लासिक सिरिज ‘७२ टेलिकास्टर थिन्लाइन नामक सेमी हलो इलेक्ट्रिक गितार बजाए । उनले फेन्डर ट्विन रिभर्ब कम्बो एम्प्स प्रयोग गरेका थिए ।

यसरी मार्टिनको अकस्टिक र बकल्यान्डको क्रन्ची इलेक्ट्रिक गितारको धुनले गीतमा उज्यालो र अँध्यारोको भावना दुवै एकै पटक भरिदियो । गीत एकै पटक फोल्क र रक दुवै बन्यो ।

तर ‘प्यारासुट्स’ एल्मबको पहिलो गीत यो थिएन । ‘सिभर’ थियो । एल्बमको यो दोस्रो गीत हो ।

000

आज यो गीत निस्केको २५ वर्ष भइसकेको छ । आजसम्म कोल्डप्लेले यो गीत अनगिन्ती पटक प्रस्तुत गरिसकेको छ । डिजिटल स्ट्रिमिङ प्लेटफर्ममा लाखौं पटक स्ट्रिम भएको छ ।

सन् २०१८ मा आएको चलचित्र ‘क्रेजी रिच एसियन्स’ मा पनि यो गीतलाई प्रयोग गरिएको छ । जहाँ गायिका क्याथरिन होले म्यान्डरिन चिनियाँ भाषामा गाएकी थिइन् ।
जे होस्, येलो उस्तै सदावहार छ । ब्यान्ड अहिले पनि अन्तर्राष्ट्रिय बजारमा उत्तिकै लोकप्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?