+
+
Shares

पर्यवेक्षकहरू एकलौटी तोकियो, अमान्य छ : धवलशमशेर राणा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १७:३७

१८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले तल्लो तहमा अधिवेशन गराउन केन्द्रीय तहबाट तय गरिएका पर्यवेक्षक एकलौटी तरिकाले गरिएको जनाएका छन् ।

जिल्ला तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरू खटाउने र नामावली सल्लाह बमोजिम तय गर्ने सैद्धान्तिक सहमति भएको तर पार्टीमा यो निर्णय लागू गर्न कार्यसम्पादन समितिमा कुनै छलफल नभएको राणाले उल्लेख गरेका छन् ।

राप्रपाले चारदिन अघि तल्लो तहको अधिवेशनका लागि पर्यवेक्षकहरू छनोट गरेको सार्वजनिक गरेको थियो । कार्यसम्पादन समितिको निर्णय अनुसार नामहरू सार्वजनिक गरिएको सूचनामा जनाइएको थियो ।

‘सल्लाह नगरी एकलौटी किसिमले नामहरू तोकिएको छ जो हाल भइरहेको ज्यादतीको पछिल्लो उदाहरण हो । अधिवेशनका लागि पर्यवेक्षण गर्न पठाउने प्रतिनिधिहरू सर्वसम्मत रुपमा समझदारी गरेर पठाउनु पर्ने हो । तर, यो अवधारणालाई उपेक्षा गरी एकलौटी ढंगले तोकेर पठाउनु गलत र अमान्य छ,’ महामन्त्री राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई लेखेको पत्रमा उल्लेख छ ।

जिल्ला अधिवेशनको समयसिमा तोकिएको र स्थानीय तहको कुनै पनि पदमा मनोनयन नगर्न केन्द्रीय निर्वाचन समितिले ७७ जिल्लामा परिपत्र जारी गरेको राणाले स्मरण गराएका छन् ।

स्वेच्छाचारी रुपमा पार्टी नेताहरूलाई कारवाही र निष्कासन गरिनु दु:खद भएको राणाले उल्लेख गरेका छन् । पार्टीभित्र सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनु पर्नेमा आक्रमणहरू हुने गरेको पत्रमा लेखेका छन् ।

प्रदेशसभा उम्मेदवार राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण गर्नु दुखद र निन्दनीय भएको राणाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?