+
+
Shares

कम्पनीका गोप्य सूचना बजारमा छ्याप्छ्याप्ती, ‘इन्साइडर ट्रेडिङ’ रोक्न बोर्ड असफल

वित्तीय विवरण सार्वजनिक हुनुअघि नै कम्पनीको वित्तीय स्थिति बाहिरिने गरेका छन् । घोषणाअघि बोनस सेयर, हकप्रद वा लाभांशबारेका सूचना बजारमा पुगी इन्साइडर ट्रेडिङ प्रशस्त हुने गरेका छन् ।

कमल नेपाल कमल नेपाल
२०८२ साउन २२ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माछापुच्छ्रे बैंकले ९२ प्रतिशत नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ र सेयर मूल्य सोमबार ४.२१ प्रतिशतले बढेको थियो।
  • धितोपत्र बोर्डले भित्री सूचनाको आधारमा हुने कारोबारको अनुसन्धान गर्न नसक्ने र प्रविधि तथा जनशक्ति व्यवस्थापनमा कमजोरी रहेको अध्यक्ष सन्तोषनारायण श्रेष्ठले स्वीकार्नुभएको छ।
  • इन्साइडर ट्रेडिङमा दोषी ठहर भएका रिडी पावरका पूर्वअध्यक्ष गुरु न्यौपाने र नेपाल हाइड्रो डेभलपर्सका पूर्वअध्यक्ष ज्ञोनेन्द्रलाल प्रधानलाई कारबाही गरिएको छ।

२२ साउन, काठमाडौं । मंगलबार एउटा वाणिज्य बैंक माछापुच्छ्रे ९२ प्रतिशत नाफा बढेको वित्तीय विवरण सार्वजनिक गर्‍यो । वित्तीय विवरण सार्वजनिक गर्नुअघि सोमबार सबैभन्दा धेरै सेयर मूल्य बढ्ने वाणिज्य बैंक नै माछापुच्छ्रे थियो । सो बैंकको सेयर मूल्य सोमबार एकैदिन ४.२१ प्रतिशत बढेको थियो ।

बैंकको राम्रो वित्तीय विवरण आउने सूचना पाएका लगानीकर्ता/कारोबारीले सोमबार पर्याप्त सेयर खरिद गरेको यसले स्पष्ट पार्छ । ब्रोकर नम्बर १४ (नेपाल स्टक हाउस)मार्फत यस दिन सबैभन्दा धेरै १ लाख २३ हजार ७१८ कित्ता सेयर खरिद भएको छ । सो दिन माछापुच्छ्रेको सेयर खरिदमा यो एउटा ब्रोकर कम्पनीको हिस्सा मात्रै ३३.६९ प्रतिशत हो ।

तर बैंकको सेयर बिक्रीमा भने कुनै पनि ब्रोकर कम्पनीको हिस्सा ६.७ प्रतिशतभन्दा माथि छैन । ३४ नम्बर ब्रोकर (भिजन सेक्युरिटिज)बाट सो बैंकको सबैभन्दा धेरै २४ हजार ८४२ कित्ता सेयर बिक्री भएको छ । यसको अर्थ धेरै ब्रोकरमार्फत थोरै थोरै बिक्री भएको सेयर एउटै ब्रोकरमार्फत भारी मात्रामा खरिद भएको छ ।

सो ब्रोकरमार्फत कसले धेरै सेयर किन्यो र उसको माछापुच्छ्रे बैंकको व्यवस्थापन वा लेखाको टिमसँग के सम्बन्ध छ ? नियामक धितोपत्र बोर्डले खोजी गर्नुपर्ने विषय हो, तर बोर्डका अधिकारीलाई यो विषय अत्तोपत्तो छैन । न त बोर्ड यसबारे अनुसन्धान गर्न सक्षम छ ।

त्यसअघि नेपाल पुनर्बीमाले साउन १४ गते शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्‍यो । नेप्सेमार्फत १५ गते सोसम्बन्धी सूचना सार्वजनिक भयो । सञ्चालक समितिले कम्पनीबारे गरेका निर्णय, जसले मूल्यलाई सिधा असर पार्छ ती भोलिपल्ट बजार खुल्नुअघि नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यसअनुसार कम्पनीको सूचना भोलिपल्टको बजार खुल्नुअघि सार्वजनिक भयो ।

बोर्डले नेप्सेसँग प्रभावकारी समन्वय गर्ने र कारबाहीको दायरामा ल्याउने हो भने धेरै हदसम्म सूचनाहरु गोप्य नै रहन सक्छन् । बोर्ड सधैं सुतिरहने हो भने भित्री सूचनाका आधारमा हुने कारोबारले झनै प्रश्रय पाउनेछ

नेपाल पुनर्बीमाको राम्रो समाचार आउने सूचना सीमित व्यक्तिले चार दिनअघि नै पाएका थिए । ‘निकोपर्सिसम्म एनआरआईसीको राम्रो सूचना आउँदैछ, त्यसै दिन सेयर बेच्न भ्याइन्छ आज उठाऔं’ म आफू सहभागी एउटा कार्यक्रममा सुटुक्क कसैले यो आवाज अर्को व्यक्तिलाई सुनाएका थिए ।

साउन १२ गते प्रतिकित्ता १५६४ रुपैयाँ रहेको कम्पनीको मूल्य साउन १४ गते १६२५ रुपैयाँ पुग्यो, तर १५ गते जब सूचना सार्वजनिक भयो मूल्य घटेर १६०४ मा झर्‍यो । राम्रो सूचना सार्वजनिक भएको दिन सामान्यतः मूल्य बढ्नुपर्ने हो, तर यहाँ सो दिन मूल्य घट्ने गरेका उदाहरण यसअघि पनि प्रशस्त छन् । यसको पछाडि प्रमुख कारण हो– राम्रो सूचना आएको मौकामा बेच्न चाहने सेयर धेरै हुनु ।

वित्तीय विवरण सार्वजनिक हुनुअघि नै कम्पनीको वित्तीय सूचक, बोनस सेयर, हकप्रद वा लाभांशबारेका सूचना सम्बन्धित व्यक्तिहरुबाटै बजारमा पुगी इन्साइडर ट्रेडिङ प्रशस्त हुने गरेका छन् । सूचना सार्वजनिक हुनुअघि पर्याप्त खरिद गर्ने र सूचना सार्वजनिक हुने दिन १५/२० प्रतिशत लाभ लिएर बाहिरिने निश्चित समूह छ । जुन समूहलाई कम्पनीका सञ्चालक तथा व्यवस्थापन टिमकै सदस्यबाट सूचना जाने गर्छ ।

कतिपय अवस्थामा सूचनावापत लाभ समेत लिएका हुन सक्छन् । उच्च व्यवस्थापकीय कर्मचारी, सञ्चालकले पद छाडेको १ वर्षपछि मात्रै सम्बद्ध कम्पनीको सेयर खरिद बिक्री गर्न सक्ने व्यवस्था रहेकाले उनीहरुले आफू र एकाघर परिवारका सदस्यका नाममा खरिद बिक्री गर्न पाउँदैनन् । तर, नजिकका अरु आफन्त वा इष्टमित्रलाई सूचना दिएर लाभ लिनेमा उनीहरुको भूमिका सक्रिय हुन सक्छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा भनिएको छ, ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्ने छैन ।’ माथिल्लो पदका व्यक्तिबाट तल्लो तहका कर्मचारीलाई पनि सूचना पुग्न सक्छ । उनीहरुलाई कारोबारका लागि रोकतोक छैन ।

नियामक बोर्डले यसको अनुसन्धान गर्ने क्षमता नै राख्दैन । प्रभावकारी संयन्त्र नहुँदा नियमनमा प्रभावकारिता हुन नसकेको बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ स्वीकार्छन् । ‘नेपालमा पूँजीबजारको आकार जसरी बढ्दै गयो, सोही अनुसार बोर्डको संयन्त्र विकास हुन सकेन’ अध्यक्ष श्रेष्ठले भने ‘समय अनुसार प्रविधि अवलम्बन हुन नसकेको, जनशक्ति व्यवस्थापन नभएको पाएँ, अब यसमा सुधार गर्ने हो ।’

बजारको फ्रन्टलाइनमा ब्रोकर कम्पनी रहने भएकाले बोर्डले प्रभावकारी नियमनका लागि ब्रोकर कम्पनीसँग समन्वय गर्नुपर्छ । बजारलाई निष्पक्ष र पारदर्शी बनाउन अरू जिम्मेवार पक्ष पनि गम्भीर हुनुपर्ने बोर्ड अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘कम्पनीका अडिटर, बिक्री प्रबन्धक वा मर्चेन्ट बैंकर, रेटिङ कम्पनी, स्टक एक्स्चेन्ज पनि आफ्नो कार्यप्रति जिम्मेवार हुनुपर्छ’ श्रेष्ठले भने ।

बोर्डले नेप्सेसँग प्रभावकारी समन्वय गर्ने र कारबाहीको दायरामा ल्याउने हो भने धेरै हदसम्म सूचनाहरु गोप्य नै रहन सक्छन् । बोर्ड सधैं सुतिरहने हो भने भित्री सूचनाका आधारमा हुने कारोबारले झनै प्रश्रय पाउने जानकार बताउँछन् ।

‘कम्पनीको सूचना आउनुअघिको कारोबारलाई बोर्डले नेप्सेसँग समन्वय गरेर गहन रुपमा अनुसन्धान गर्ने गर्नुपर्छ, अनि धेरै कारोबार गर्ने र कम्पनीका उच्च व्यवस्थापक वा सञ्चालकसँगको सम्बन्धबारे गहिरिएर अनुसन्धान गर्नुपर्छ’ बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले भने ‘त्यसपछि सूचना आदान प्रदान भएका विषय पुष्टि भएमा त्यो नै भित्री कारोबार हो ।’

यद्यपि, पछिल्लो समय सूचना आदान प्रदान भएको विषय पुष्टि गर्नु धेरै नै चुनौतीपूर्ण बनेको छ । सूचना आदानप्रदान चुनौतीपूर्ण रहेको भन्दैमा अनुसन्धान नै नगर्ने वा बेवास्ता गर्ने काम नियामकले गर्नु नहुने उनले बताए । बोर्डको अनुसन्धान विभागलाई बढी मजबुत र प्राविधिक रुपमा पनि क्षमतायुक्त बनाउनुपर्नेमा उनको जोड छ । बोर्ड पहिलेदेखि नै विकसित प्रविधि अवलम्बन तथा दक्ष जनशक्तिमा कमजोर रहेको अध्यक्ष श्रेष्ठ नै स्वीकार्छन् ।

पछिल्लो समय भित्री सूचना आदानप्रदान पुष्टि गर्नु वा भित्री कारोबार पुष्टि हुने प्रमाण जुटाउन संसारभर नै चुनौतिपूर्ण बनेको विषय हो । ‘फोन ट्रयाकिङ र कुराकानीको रेकर्ड वा म्यासेज आदान प्रदानजस्ता विषय सूचना आदान प्रदान पुष्टि गर्ने आधार हुन्’ गिरीले भने । पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट समेत सूचना आदान प्रदान हुन थालेका छन् । ती सञ्जालमार्फत आदान प्रदान गरिएका सूचना पत्ता लगाउने विषय झन् जटिल बनेको जानकार बताउँछन् ।

ठूलो रकमको सेयर किन्न र बेच्न जसले पनि पाउँछ, तर उसले सेयर किन्नु वा बेच्नुअघि कम्पनीका बारेमा सूचना लिएको छ भनेर पुष्टि गर्ने आधार नै कमजोर हुने गरेको बोर्डका उच्च अधिकारीहरु बताउँछन् । कसैले मौखिक रुपमा भनेकै भरमा सूचना पाएको प्रमाण नपुग्ने उनीहरुको भनाइ छ ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल नेप्सेसँग सबै कारोबारको विवरण हुने भएकाले बोर्डले समन्वय गर्ने हो भने गलत गतिविधि गर्नेलाई निगरानी गर्न असहज नरहेको बताउँछन् । ‘सबै कारोबारको विवरण नेप्सेसँग हुन्छ, हामी कारोबारको माध्यम मात्रै हौ, बोर्डलाई आवश्यक परेमा हामी सहयोग गर्न सधैं तयार छौं’ उनले भने ।

नेपालमा अहिलेसम्म इन्साइडर ट्रेडिङ गरेका कारण दुईजनालाई मात्रै कारबाही भएको छ । रिडी पावरका पूर्व अध्यक्ष गुरु न्यौपाने र नेपाल हाइड्रो डेभलपर्सका पूर्वअध्यक्ष ज्ञोनेन्द्रलाल प्रधानलाई इन्साइडर ट्रेडिङको विषयमा बोर्डले कारबाही गरेको छ ।

त्यसमध्ये न्यौपानेलाई विशेष अदालतले इन्साइडर ट्रेडिङमा दोषी ठहर गरेको छ भने प्रधान विरुद्ध मुद्दा चलिरहेको छ । धितोपत्र बोर्डको पहलमा नभई सम्पत्ति सुद्धीकरण विभागको पहलमा न्यौपाने र प्रधानमाथि मुद्दा चलाइएको थियो । बोर्डले न्यौपानेलाई सामान्य जरिवाना मात्रै गरेको थियो । बोर्डले २०७९ पुसमा उनलाई ७५ हजार रुपैयाँ जरिवाना गराई १० वर्षसम्म कुनै पनि महत्वपूर्ण पदमा बस्न नपाउने कारबाही गरेको थियो ।

न्यौपाने अध्यक्ष भएका बेला रिडी पावर कम्पनीसँग भएको रैराङ हाइड्रोपावरको सेयर बिक्री गर्ने निर्णय भयो । सो निर्णय गर्नुभन्दा अघि नै न्यौपानेले रिडीको करिब ३० हजार कित्ता सेयर २०३ रुपैयाँदेखि २१२ रुपैयाँका दरले किनेर राखे, निर्णयपछि मूल्य बढाएर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेको पुष्टिपछि अदालतले उनलाई ४ करोड जरिवाना र १ वर्ष कैदको सजाय सुनाएको थियो ।

नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष प्रधानलाई पनि ७५ हजार रुपैयाँ नगद जरिवाना सहित १० वर्षसमम कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक बन्न नसक्ने गरी बोर्डले कारबाही गरेको थियो ।

प्रधानले प्रवद्र्धन गरेको कम्पनी नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको अध्यक्ष हुँदा र त्यसलगत्तै श्रीमती, छोरी र छोराको नाममा सेयर ट्रान्सफर गरेका थिए । त्यसरी ट्रान्सफर गरिएको सेयर सोही बेला परिवारका सदस्यले उच्च मूल्यमा बेची अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

उनीसँग २६ करोड ३९ लाख बिगो र त्यसको दोब्बर जरिवाना र कैद सजाय पनि माग गरिएको छ । प्रधान विरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

के हो ‘इन्साइडर ट्रेडिङ, कस्तो छ सजाय ?

इन्साइडर ट्रेडिङ को व्याख्या र यस सम्बन्धी सजायका व्यवस्थाहरु धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१ र १०१ मा तोकिएको छ । ‘भित्री सूचना वा जानकारी भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सम्झनुपर्छ’ दफा ९१ मा भनिएको छ ।

कम्पनीबाट सार्वजनिक सूचना जारी नगरिएको, तर भित्री रुपमा ती सूचना आदानप्रदान गरेर त्यसकै आधारमा कारोबार गरिनुलाई नै इन्साइडर ट्रेडिङ भनिन्छ ।

कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्न सक्ने, तर सार्वजनिक नभएका सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ । भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्तिहरु पनि ऐनले प्रष्ट पारेको छ । जसअनुसार संगठित संस्थाका सञ्चालक, कर्मचारी वा सेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति वा दुवै तवरले सम्बद्ध व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेहरु यसमा सहभागी हुन सक्ने औंल्याइएको छ ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?