+
+
Shares

वन्यजन्तुलाई थापिएको विद्युतीय धरापमा परेर एकजनाको मृत्यु

धरापमै परेको गैंडा पनि मर्‍यो

गाउँगाउँमा बिजुलीको पहुँच पुगेकाले खेतीबाली जोगाउने नाममा किसानले र वन्यजन्तु मार्न तस्करले विद्युतीय धरापलाई ‘हतियार’ बनाएको देखिन्छ ।

सुवास पण्डित सुवास पण्डित
२०८२ साउन २२ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुर र चितवनमा विद्युतीय धरापमा परेर एक जनाको र एक गैंडाको मृत्यु भएको छ।
  • चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेको आरोपमा हरिभक्त श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
  • विद्युतीय धरापले वन्यजन्तु र मान्छे मार्ने घटना बढ्दै गएको छ र निकुञ्जले सचेतना फैलाउने काम गरिरहेको छ।

२२, साउन, चितवन । मकवानपुरको मनहरी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–२ भैरवपुरमा वन्यजन्तु मार्नका लागि थापिएका विद्युतीय धरापमा परेर एकै दिन एउटामा मान्छे र अर्कोमा गैंडा मारियो ।

हिजो बुधबार मनहरी गाउँपालिका–६ को जोगितालको धानखेतमा आफैंले राखेको विद्युतीय धरापमा परेर राप्ती नगरपालिका–१ चितवन बसोबास गर्ने ३४ वर्षीय लालबाबु मुक्तानको ज्यान गयो ।

बिजुलीको पोलबाट हुक गरेर जोडिएको धरापमा पर्दा उनको मृत्यु भएको मनहरी गाउँपालिका–६ का वडाध्यक्ष युवराज थपलियाले पुष्टि गरे ।

खेतमा विद्युतीय धराप थापेको बिर्सिएर धान गोड्न खेतको आलीबाट हिँडिरहेका मुक्तानले पानीमा टेक्ने बित्तिकै करेन्ट लागेको थियो ।

आधा शरीर धानको डिल माथि र आधा डिल तल परेको अवस्थामा उनी मृत भेटिए । खेती किसानी गरेर जिविको चलाउँदै आएका मुक्तानका दुई छोराछोरी र श्रीमती छन् ।

श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर बसेका मुक्तानको परिवारसँग काजक्रिया गर्ने समेत खर्च नभएकोले पालिकाले ३० हजार रुपैयाँ खर्च दिन लागेको वडाध्यक्ष थपलियाले बताए ।

बुधबार नै चितवनको माडी नगरपालिका–२ मा खेतीबाली जोगाउन भन्दै थापिएको विद्युतीय धरापमा परेर २० बर्षको भाले गैंडाको मृत्यु भएको छ । हरिभक्त श्रेष्ठले धान खेती जोगाउनका लागि भन्दै विद्युतीय धराप थापेका थिए ।

मृत्यु भएको गैंडाको खाग र खुर सुरक्षित छ । विद्युतिय धरापका बारेमा बुझ्न र थप अनुसन्धान गर्नका लागि चितवन राष्ट्रिय निकुञ्जले श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

विश्वकै दुर्लभ गैंडा मार्न कानुनले रोक लगाएको छ । श्रेष्ठलाई ४५ दिनसम्म थुनामा राखेर निकुञ्जले अनुसन्धान गर्न पाउँछ ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा मानवीय लापरवाहीका कारणले मारिएको गैंडा यो नै पहिलो घटना हो ।

गत आर्थिक वर्ष २०८१/०८२ मा पनि गैंडा मार्ने पहिलो घटना करेन्ट लगाएर नै भएको थियो । गत वर्ष २८ गैंडा विभिन्न कारणले मरेका थिए, ति मध्ये एक गैंडा करेन्ट लगाएर मारिएको थियो ।

गत वर्ष चितवनको भरतपुर महानगरपालिका–१६ मा सुकेको मकैबारीमा चर्दै आएको अन्दाजी २० वर्षको पोथी गैंडालाई विद्युतीय धरापमा पारेर मारिएको थियो ।

दुर्लभ वन्यजन्तु गैंडा मारेमा वा यसको अंगको कारोबार गरेमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद र १० लाख रूपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।

तस्करदेखि किसानसम्मले थाप्न थाले विद्युतीय धराप

वन्यजन्तु मार्नका लागि विद्युतीय धराप थाप्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ ।

२०७८ असोजमा बर्दियाको ठाकुर बाबा नगरपालिकामा बँदेल मार्न राखिएको विद्युतीय धरापमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।

२०७९ माघ २७ गते झापाको विर्तामोडमा जंगली हात्तीबाट जोगिन आफैँले थापेको विद्युतीय धरापमा परेर स्थानीय खेम श्रेष्ठको मृत्यु भएको थियो ।

पछिल्लो समय तस्करहरूले पनि विद्युतीय धरापलाई गैँडा मार्ने माध्यम बनाउन थालेका हुन् ।

२०७९ माघ ६ गते पूर्वीनवलपरासीको मध्यबिन्दु नगरपालिका–२ सेहरी गाउँनजिकै नारायणी नदीको किनारमा विद्युतीय धराप थापेर तस्करहरूले माउसहितको बच्चा गैंडा मारेका थिए ।

करेन्ट लगाएर गैंडा मारेपछि तस्करहरूले माउ गैंडाको खाग र खुरसमेत काटेर लगेका थिए ।

गाउँगाउँमा बिजुलीको पहुँच पुगेकाले खेतीबाली जोगाउने नाममा किसानले र वन्यजन्तु मार्न तस्करले विद्युतीय धरापलाई ‘हतियार’ बनाएको देखिन्छ ।

२०७९ असोज २७ गते सौराहानजिकै मध्यवर्ती क्षेत्रमा विद्युतीय धरापमा पारेर गैँडा मारिएको थियो ।

त्यसअघि २०७८ मङ्सिर २७ गते चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदीकिनारमा विद्युतीय धरापमा पारेर एक गैंडा मारिएको थियो ।

वन क्षेत्र आसपासका गाउँलेले विद्युतीय धराप राख्ने र त्यसमा परेर गैंडा मार्ने काम रोकिनुपर्ने निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए ।

गैंडा मारे सरहकै कानुन धराप थाप्नेहरूमा पनि आर्कषित हुने उनले बताए ।

विशेषगरी तराईका राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा दुई दशकदेखि विद्युतीय तारबार गर्ने गरिएको छ ।

जंगली जनावरबाट किसानका खेतीवाली जोगाउन र मानवबीचको द्वन्द्वलाई कम गराउन विद्युतीय तारबार लगाउने गरिए पनि कतिपयले यसकै नक्कल गरेर विद्युतीय धराप थाप्ने गरेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले बताए ।

आफूहरूले मध्यवर्ती क्षेत्रमा विद्युतीय धराप नराख्न सचेतना फैलाउने कामलाई पनि सँगसँगै लगेको अध्यक्ष ढुंगानाको दावी छ । वन्यजन्तुले बालीनालीे नोक्सानी गरे निकुञ्जले राहत दिन्छ, तर क्षतिपूर्ति दिने भने व्यवस्था छैन ।

त्यसैले पनि किसानहरू निकुञ्जप्रति सकारात्मक हुन सकेको देखिँदैन । वन्यजन्तुले जतिसुकै बालीनाली खाए पनि निकुञ्जले १० हजार मात्रै राहत दिन्छ । गत आर्थिक वर्ष निकुञ्जले ३१ लाख ६० हजार राहत वितरण गरेको छ ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले जंगली जनावरबाट मानव तथा खेतीवाली जोगाउन ठाउँठाँउमा विद्युतीय तारबार गरेको छ ।

तारबार बाहेकको ठाँउमा कंक्रिटका पर्खालहरू लगाइएका छन् । पर्खाल नभएको ठाँउमा किसानहरूले विद्युतीय तारबार नभई विद्युतीय धराप थाप्ने गरेका छन् ।

विद्युतीय तारबार र विद्युतीय धरापमा भिन्नता छ । तारबारमा ४ देखि १० भोल्टसम्मको डीसी करेन्ट प्रवाह हुन्छ तर विद्युतीय धरापमा बिजुलीको पोलमा सीधै हुक गरेर नांगो तार बिछ्याउने गर्छन् । जुन मानव र जनावरका लागि घातक सावित हुँदै आएको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?