
२३ साउन, लमही । दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन बाढीले बगाएको छ । शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएको हो ।
डाइभर्सनको आधा भाग बाढीले बगाएपछि लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुन: अवरुद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए ।
घोराही-लमही आउ–जाउ गर्ने सवारी साधनहरुलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ । साथै डाइभर्सन मर्मतको काम भइरहेको छ ।
यसअघि आकस्मिक रूपमा मसोट खोलाको पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय स्थानीय प्रशासनले गरेको थियो । पुलबाट ठूला गाडीहरुको आउजाउ बन्द गरिए पनि अत्यावश्यक सेवाका सवारी साधन सन्चालनका लागि भन्दै डाइभर्सन बनाएर विहीबार दिउँसोदेखि सन्चालनमा ल्याइएको थियो । सोही डाइभर्सन शुक्रबार बिहान बाढीले बगाएको हो ।
मसोट खोला पुलबाट विरामी बोकेको एम्बुलेन्स, इमर्जेन्सीमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे खाली सवारीसाधन मात्रै पुलबाट आवतजावत गर्न दिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4