+
+
Shares

कर्णालीका पूर्वमुख्यमन्त्री शाहीले वरीयतामा चित्त दुखाए, कार्यक्रम नै छोडेर हिँडे

‘हामी त सामान्य अतिथि पर्‍यौं, तलै बस्दा ठिक होला’ भन्दै थिए । त्यसको केही समयमै पूर्वमुख्यमन्त्री शाही र मुख्यमन्त्री कँडेलबीच भनाभन जस्तो भयो । अनि, शाही कार्यक्रमको बीचैमा उठेर हिँडे ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ साउन २३ गते १७:०९

२३ साउन, सुर्खेत । शुक्रबार बिहान कर्णाली प्रदेशको अर्थमन्त्रालयले एउटा कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रमको शीर्षक थियो- कर्णाली प्रदेश सरकारको समपूरक, विशेष र सशर्त अनुदानसम्बन्धी कार्यविधिहरू संशोधनको प्रारम्भिक मस्यौदा उपर छलफल तथा अन्तर्क्रिया ।

सिद्धार्थ होटेलमा आयोजित कार्यक्रमका सहभागी थिए, प्रदेशसभाका ४० सांसद, मन्त्री, पूर्वमुख्यमन्त्री, सभामुख, नगर र पाउँपालिका महासङ्घका अध्यक्ष र प्रदेश सचिवहरू । खाजा खाएर सबैजसो सहभागीहरू कार्यक्रम हलमा प्रवेश गर्दै थिए । सहभागीहरूको टेबुलमा थियो, कार्यक्रमको कार्यसूची ।

त्यति नै बेला कार्यक्रम हलमा उपस्थित भए, कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही ।

कार्यक्रम सुरु हुनु अगावै जुरुक्क उठेर शाहीले टेबलमा रहेको कार्यसूचीप्रति चित्त दुखाए । ‘मेरो वरीयता किन झारियो ? विशिष्ट अतिथिमा हुनुपर्ने होइन । किन यस्तो गरेको ? भन्दै प्रश्न गरे ।’

आयोजक अर्थमन्त्रालयले माफी माग्दै कार्यसूचीको तल विस्तृत जानकारीमा विशिष्ट अतिथिमा नै भएको र माथि मिस्टेक भयो भन्दै तत्काल सच्यायो । त्यसपछि कार्यक्रम सुरु भयो । कार्यक्रमको सभाध्यक्षमा अर्थमन्त्री राजीवविक्रम शाह, प्रमुख अतिथिमा मुख्यमन्त्री यामलाल कँडेल र विशिष्ट अतिथिमा सभामुख नन्दा गुरुङ र नेता शाहीलाई आसन ग्रहण गराइयो ।

कार्यक्रममा अगाडि बढ्यो, राष्ट्रिय गान, शहीदको सम्झनामा मौन धारण सबै सकियो । विधेयकबारे अर्थसचिव रविलाल शर्माले प्रस्तुति दिइरहेका थिए ।

त्यति नै बेला माथि ड्यासमा बसेका नेता शाही ‘हामी त सामान्य अतिथि पर्‍यौं, तलै बस्दा ठिक होला’ भन्दै तल झरे । ‘त्यसको केही समयमा उहाँ र मुख्यमन्त्रीबीच भनाभन जस्तो भयो । पूर्वमुख्यमन्त्री शाही कार्यक्रमको बीचैमा उठेर हिँड्नुभयो,’ कार्यक्रमका एक प्रत्यक्ष दर्शी सांसदले अनलाइनखबरसँग भने ।

बरीयतामै चित्त दुखाएका शाहीले कार्यक्रम बाहिर बोलाएर कांग्रेसबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीहरूलाई समेत झपारेका थिए । नेता शाही उठेपछि उनी निकट कांग्रेसका सांसद र मन्त्रीहरू पनि उठेर कार्यक्रमबाट बाहिरिए । त्यसपछि कार्यक्रम नै स्थगन भएको कार्यक्रममा सहभागी सांसदहरू बताउँछन् ।

अर्थमन्त्रालयका एक कर्मचारीका अनुसार उक्त कार्यक्रम २० साउनका लागि तय गरिएको थियो । तर नेता शाहीले आफ्नो कार्य व्यस्तता देखाउँदै २३ गते राख्न भनेका थिए ।

‘खासमा उहाँकै आग्रहमा हामीले कार्यक्रम नै २३ गते राखेका थियौँ । पछि उहाँ नै उठेर हिँडेपछि कार्यक्रम नै अगाडि बढ्न सकेन,’ ती कर्मचारीले भने ।

दिउँसो १ बजे खाना खाएर सकिने उक्त कार्यक्रममा ९ बजे नै सकिएको थियो । ‘त्यत्रो खाना खेर गयो । कार्यक्रम बीचैमा रोकियो,’ उनले भने । सामान्य वरीयताको विषयलाई कारण बनाएर कार्यक्रम नै अवरुद्ध गर्नु उचित नभएको एमालेका सांसदहरू बताउँछन् ।

‘सत्ता साझेदार दल कांग्रेसकै नेताले त्यो पनि सामान्य वरीयतामा भएको त्रुटिलाई विषय बनाएर कार्यक्रम नै अवरुद्ध पार्नु जायज होइन,’ एमालेका एक सांसदले भने, ‘प्रदेश बनाउन आएका नेताहरू सामान्य बरीयतामा अल्झेर हुन्छ र ?’

सत्ता साझेदार कांग्रेसकै मन्त्रालयले आयोजना गरेको कार्यक्रममा वरीयतामा अपमान गर्ने नभई प्राविधिक त्रुटि भएको विषयलाई अनावश्यक ठूलो बनाइएको ती सांसद बताउँछन् ।

उता कांग्रेस नेता शाहीले आफू वरीयताको विषयमा नभई विधेयकमाथिको छलफलको औचित्य नभएपछि कार्यक्रमबाट निक्लिएको बताए । सुरुमा आफूले वरीयताको विषयमा कुरा उठाए पनि पछि सच्याइएपछि कार्यक्रम सुरु भएको समेत उनले बताए ।

‘सुरुमा वरीयतामा तलमाथि थियो । त्यसमा मैले प्रश्न उठाएपछि सच्याइएको थियो,’ नेता शाहीले अनलाइनखबरसँग भने, ‘हामी जुन विधेयकमाथि छलफल गरिरहेका थियौँ, मुख्यमन्त्रीले त्यो अर्को वर्षबाट लागु हुन्छ भनेपछि छलफलको औचित्य देखिनँ अनि निक्लिएको हुँ ।’

तीनवटा विधेयकमाथि छलफल भइरहेको र त्यसमा समपूरक विधेयक महत्त्वपूर्ण रहेको नेता शाहीले बताए । समपूरक अनुदानका विषयमा आफूले नै पटकपटक सदनमा आवाज उठाएको र त्यो संशोधन गरेर कार्यान्वयन गर्नुपर्ने विषय रहेको उनले बताए ।

‘त्यही बीचमा मैले मुख्यमन्त्रीज्यूलाई संशोधन विधेयक यही वर्षबाट लागु गर्ने त होला भनें, उहाँले अर्को सालबाट लागु हुन्छ भन्नुभयो,’ नेता शाहीले भने, ‘अर्को साल त अर्कै सरकार आउँला । त्यसैले अहिले संशोधन किन गर्नुपर्‍यो र ? त्यसको औचित्य नदेखेपछि म निक्लिएको हुँ ।’

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?