+
+
Shares

झार मार्ने विषादीबाट हेटौंडाकी एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते ९:१९

२५ साउन, चितवन । प्रतिबन्धित पाराक्वेट नामक झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ घर भएकी ३९ वर्षीया ती महिलाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

गत साउन ९ गते विषादी सेवन गरेकी ती महिलालाई चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । तर पछि ती महिलाका आफन्तले रिफर मागेर हेटौंडा नै लगेका थिए ।

अस्पताल आउँदा उनले सुरुमा काँचो आँप खाएको भनेर झुटो बोलेकी थिइन् । तर, चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा उनले पाराक्वेट विषादी खाएको पत्ता लागेको थियो ।

विषादी सेवन गरेको सुरुका केही दिन सामान्य समस्या मात्रै देखिए पनि ४/५ दिनपछि असर बढ्दै गएको थियो । विषादीको असर बढ्दै गएर मिर्गौला र कलेजोमा क्षति पुगेको थियो ।

ती महिलाका एक छोरा, एक छोरी र श्रीमान छन् । उनका श्रीमान सवारी चलाउने काम गर्दछन् ।

 झार मार्ने रासायनिक विषादीको जथाभावी प्रयोग चिन्ताको विषय बनेको छ । कतिपयले आफ्नो घरको आँगनको झार मार्नसमेत विष छर्किने गरेका छन् । यसले मानव स्वास्थ्य, वातावरण र जीवजन्तुलाई असर पुर्‍याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?