
३० साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज कांग्रेसबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
मुख्यमन्त्री बानियाँ निकटका एक सांसदले पाँच जना मन्त्रीको आजै नियुक्ति र ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुने अनलाइनखबरलाई जानकारी दिए ।
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त पाँच मन्त्री नियुक्त हुन लागेका हुन् ।
२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन आफ्नोसँगै एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए ।
कांग्रेस र एमालेबीच भएको मन्त्रालय भागबन्डाअनुसार कांग्रेसले अब ५ वटा मन्त्रालय लिन बाँकी रहेको हो ।
जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् ।
बानियाँले नियुक्त गर्न लागेका सम्भावित मन्त्रीहरूमा रसुवाका प्रभात तामाङ, काभ्रेका कञ्चनचन्द्र बादे, भक्तपुरका सुरेश श्रेष्ठ, ललितपुरकी उर्मिला केसी नेपाल र चितवनकी बिना रायमाझी पौडेल रहेका छन् ।
मुख्यमन्त्री निकट स्रोतकाअनुसार तामाङलाई आर्थिक मामिला, बादेलाई आन्तरिक मामिला तथा कानुन, श्रेष्ठलाई युवा तथा खेलकुद, केसीलाई सामाजिक विकास र रायमाझीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मवारी दिन लागिएको छ ।
‘अन्तिमसम्म फरक निर्णय भएन भने मन्त्री नियुक्त हुने उहाँहरू नै हो,’ स्रोतले भन्यो ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेतृत्वसँग भेट गर्दै मुख्यमन्त्री बानियाँ आज काठमाडौंबाट हेटौंडा फर्किरहेका छन् ।
बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालले केही समय अघि मात्रै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासँग मन्त्री नियुक्ति र शपथको व्यवस्थापनका सम्बन्धमा छलफल गरेको स्रोतले जानकारी दिएको छ ।
बागमतीमा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले आफ्ना पक्षका ३ जना सांसद गोविन्द लम्साल, माया श्रेष्ठ, गिता गुरूङलाई मन्त्री नियुक्त गर्नुपर्ने अडान लिँदै आएको थियो ।
तर, बानियाँले नियुक्त गर्न लागेको मन्त्रीहरूको सम्भावित सूचिमा बहादुर पक्षका सांसदको नाम छैन ।
२० साउनमै निर्वतमान मुख्यमन्त्री लामाले १४ साउनमा मन्त्री नियुक्त गरेर पनि सपथ लिन नपाएका ३ जना सांसदलाई मन्त्री नबनाएको भन्दै मुख्यमन्त्री बानियाँसँग बहादुर लामा पक्ष असन्तुष्ट बनेको थियो ।
३ जनालाई मन्त्री नबनाएसम्म विश्वासतको मत निदने अडान लिएको बहादुर पक्षले २७ साउनमा प्रदेश सभा बैठकमा उपस्थित भएर विश्वासको मत दिएका थिए ।
निवर्तमान मुख्यमन्त्री लामाले केन्द्रीय नेतृत्वहरूले ३ जनालाई मन्त्री बनाउने सहमति कार्यान्वयन हुने प्रतिबद्ध दिलाएपछि विश्वासको मत दिएको बताएका थिए । लम्साल, श्रेष्ठ र गुरूङलाई मन्त्री बनाउने सहमति कांग्रेस सभापति देउवासहित बानियाँ र लामाबीच पूर्वसहमति भएको दाबी गरिएको थियो ।
प्रतिक्रिया 4